अमरराज नहर्की
तनहुँ, भदौ १५ गते । तनहुँमा खेतीयोग्य जमिन बाँझो राख्ने क्रम बढेको छ । युवाहरू रोजगारी खोज्दै विदेश पलायन हुन थालेपछि खेतीयोग्य जमिन झाडीमा परिणत बन्ने क्रममा वृद्धि भएको छ ।
वैदेशिक रोजगारको आकर्षणले युवा जमात विदेश पलायन हुँदा जनशक्तिको अभाव र श्रम परेअनुसारको मूल्य नपाइने भएकाले जमिन बाँझो हुनेक्रम बढेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।
युवा शक्ति विदेश पलायन हुँदा ११ हजार हेक्टर खेतमा वर्षेधान हुनेगरेकोमा हाल घटेर आठ हजार हेक्टरमा मात्रै रोपाइ भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । युवाहरु गाउँको जमिनमा खेती गर्नभन्दा बैदेशिक रोजगारीमा गएर धन कमाउनुपर्छ भन्ने सोचाइले गर्दा जमिन बाँझो हुनेक्रम बढेको तिवारीले जानकारी दिनुभयो ।
धानखेतीका लागि नभइ नहुने रासायनिक मलको समेत किसानले अभाव खेपिरहनुपरेको, जथाभावी खोलिएका सडकले गर्दा पहिरोले खेत पुर्ने, खोला र नदी नजिक भएको खेतलाई बाढी पस्ने जस्ता कारणले गर्दा पनि खेत बाँझो राख्नेक्रम बढ्दैगएको तिवारीको भनाइ छ ।
१० वर्षअघि जिल्लामा ६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि हाल एक हजार आठसय हेक्टरमा मात्रै खेती भएको केन्द्रले जनाएको छ । चैते धान प्रायः चिउराको लागि प्रयोग गरिने हाल चिउरा मिल नै विस्थापित हुँदै गएपछि यस खेतीतर्फ कृषक निरुत्साहित बन्दैगएको तिवारीको भनाइ छ ।
उत्पादन लागत बढी हुनु, कृषि पेशा नाफामूलक हुन नसकेको, जग्गावाला मानिसले आफूले खेती नगर्नु, बाँदर तथा अन्य वन्यजन्तुको समस्याले कृषकले खेती गर्न छाड्नु तथा खेती भूमि गैरकृषि क्षेत्रमा प्रयोग हुनुलगायतले गर्दा जमिन बाँझिएको तिवारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘खेतमा काम गर्ने रोपार र बाउसे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् ।’’ धान रोप्न, हिलो सम्याउने, काट्ने, झाट्ने कामको लागि मेसिनहरु सीमित बजेटले गर्दा सरकारले प्रशस्त वितरण गर्न नसक्दा समस्या परेको तिवारीले बताउनुभयो ।
लागत मूल्य कम गरेर युवालाई कृषिमा आकर्षित गर्नुपर्ने तिवारीले बताउनुभयो । तिवारीले भन्नुभयो, “पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको बताउँदै सरकारले धान रोप्न तथा हिलो सम्याउने प्रविधि सहुलियतमा ल्याउन सके किसानलाई सहज हुने र समयमै धान रोप्न पाउँछन् ।’’
“युवाशक्ति समाज र राष्ट्रकै महत्वपूर्ण शक्ति हुन्, तर स्वदेशमा रोजगारीका अवसर नपाउँदा यो शक्ति दिनहुँ विदेश पलायन हुन बाध्य छन् । गाउँ लगभग युवाविहीन हुन पुगेका छन् । खेती गर्ने जनशक्तिको अभावले गाउँका खेतबारी समेत वनमाराले ढाकेको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र तनहुँका अनुसार जिल्लामा ६५ हजार ६१ हेक्टर खेतीयोग्य जमिन भए पनि हाल ५१ हजार ५१० हेक्टर जमिनमा खेती गरिएको छ । खेतीयोग्य जमिन १३ हजार ५६३ हेक्टर जमिन बाँझो छ । तनहुँमा सिञ्चित क्षेत्रफल १३ हजार ५८३ हेक्टर छ ।
बाह्रैमास सिञ्चित क्षेत्र ६ हजार ३४७ हेक्टर, मौसमी सिञ्चित क्षेत्र सात हजार २३६ हेक्टर छ । असिञ्चित क्षेत्र ३७ हजार ९२७ हेक्टर छ । जमिन बाँझो रहन नदिन अन्नबालीको विकल्पमा कृषकलाई सुन्तला, कागतीलगायतका फलफूल तथा आलुजस्ता नगदे तरकारी खेतीमा उत्प्रेरित गर्न थालिएको छ ।
१० वटा पालिकामा रहेका ८५ वटा वडामा जिल्लाका एक तिहाइभन्दा बढी घरका कम्तीमा एक जना वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेको पाइन्छ । अहिले रोजगारीमा प्रवासमा रहेकाले कमाएर पठाएको विप्रेषणले नै सर्वसाधारणकोे गुजरा चलेको छ ।
पछिल्लो समय अध्ययनका लागि विभिन्न मुलुकमा जाने क्रम बढे पनि अधिकांश विदेशिनुको मुख्य कारण भने रोजगारी नै हो । केन्द्र प्रमुख तिवारीले भन्नुभयो, ‘‘एकपछि अर्को गर्दै गाउँका युवा विदेशिने क्रमले गाउँ युवाविहीन भएर सामाजिक, आर्थिक र उत्पादनशील क्षेत्रमा प्रत्यक्ष असर पुगेको छ ।’’ पछिल्लो समय ग्रामीण भेगमा खेती किसानी गर्नेक्रम हराउँदै जाँदा खाद्यान्नको आयात समेत बढेको छ ।
गरिखाने उमेरका सबै विदेशिँदा स्थानीयस्तरमा रहेका सम्भावना त्यसै हराएर जाने र समस्या झन बढ्ने गरेको छ । स्थानीयवासी पनि माटो खोस्रेर आफ्नै उत्पादन खानेभन्दा वैदेशिक रोजगारीबाट भित्रिएको पैसाबाट बजारबाट खाद्यान्न किनेर खान थालेका छन् ।
आफ्नो उत्पादनभन्दा बजारबाट किनेर खाँदा सस्तो पर्ने तर्क उनीहरुको छ । केही ठाउँमा अन्नबालीको विकल्पमा रुख बिरुवा हुर्काउने गरिएको भए पनि धेरै बाँझो जमिन उपयोगविहीन बनेर झाडी पलाएको तिवारीले बताउनुभयो । स्वदेशमा सम्भावना नदेखेपछि दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको सङ्ख्यामा समेत वृद्धि भएको छ ।
जनजाति समुदायको बाहुल्यता रहेको यस जिल्लामा रोजगारीका लागि विदेशिने क्रम पहिलेदेखि नै चल्दैआएको छ । पहिले बेलायत र भारतीय सैनिकमा भर्ती भएर जाने चलन भए पनि पछिल्लो समय साउदी अरब, मलेसिया, दुबई, कतार, दक्षिण कोरिया, जापानलगायतका देशमा बढी जाने गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताउनुभयो ।
सुनसान गाउँ
गाउँमा युवाविहीन हुँदा दशैं–तिहारजस्ता ठूला चाडपर्व, विवाह–व्रतबन्धजस्ता उत्सवमा पहिलेजस्तोे चहलपहल हराउँदै गएको छ । ऊर्जाशील युवा गाउँ छोडेर रोजगारी र अध्ययनका लागि विदेश तथा सहर–बजारतिर गएपछि गाउँको रौनक घटेको गुनासो ज्येष्ठ नागरिकले गरेका छन् ।
व्यास नगरपालिका –११ पोल्याङ निवासी ७८ वर्षीय खडानन्द कैनीले गाउँमा युवा नहुँदा सुनसान हुनेगरेको बताउनुभयो । गाउँघरमा युवा उमेरको जनशक्ति नहुँदा सडक, भवनलगायतका विकास निर्माणका काममा जनशक्ति अभाव छ । स्थानीय जनशक्ति नहुँदा कतिपय भारतीय मजदुरले काम पाउन थालेका छन् ।
जिल्लामा कामदार अभाव हुँदा भारतीय कामदारको भर पर्नुपरेको दमौली निवासी निर्माण व्यवसायी ईश्वरी देवकोटाले बताउनुभयो । विशेषगरी प्लाष्टर गर्ने, रङ्रोगन गर्ने तथा मार्बल लगाउने काममा भारतीयको भर पर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।