सिराज खान
नेपालगन्ज, भदौ १५ गते । बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निर्माणमा भइरहेकोले ढिलाइले यस क्षेत्रका उद्योगी व्यवसायीहरु निराश छन् । बाँकेको बैजनाथ गाउँपालिकाको नौबस्तामा निर्माण हुने सो औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि नबढ्दा त्यहाँ उद्योग सञ्चालनका लागि प्रस्ताव पेश गरेका उद्योगी व्यवसायी निराश बनेका हुन् ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले नौबस्ता औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि सात वर्षअघि प्रस्ताव पेश गरेर निर्माण पूरा हुने र उद्योग सञ्चालन गर्ने आशामा रहेका उद्योगी व्यवसायीहरु हाल आएर निराश बनेको बताउनुभयो । उहाँले आवेदन दिएको सात वर्ष बित्दासमेत औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम सुरु हुन नसकेपछि निवेदन दिएका सय बढी उद्योगी व्यवसायीहरु निराश बनेको बताउनुभयो ।
निवर्तमान अध्यक्ष मन्सुरीले भन्नुभयो, ‘सात वर्षसम्म पनि औद्योगिक क्षेत्र नबन्दा उद्योग खोल्ने योजना बनाएर लगानी समेत जुटाइसकेका उद्योगी व्यवसायी सर्वाधिक मर्कामा परेका छन् । तीमध्ये कतिले त अन्य ठाउँमा उद्योग व्यवसाय सुरु गरिसकेका छन् ।’
औद्योगिक क्षेत्रमा उद्योगका लागि आवेदन दिएका उद्योगीले पटकपटक निर्माण सुरु गर्न विभिन्न माध्यमबाट दबाब दिइरहेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणमा परेकोले सो नहटेसम्म पूर्वाधार निर्माणको काम सुरु नगर्ने कानुनी व्यवस्था देखाउँदै औद्योगिक क्षेत्रले काम सुरु गर्न सकेको छैन । यता राजनीतिक दल र स्थानीय जनप्रतिनिधिले पटक पटक अतिक्रमण हटाउने प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा धेरै पटक भएको छलफलपछि अवरोध हटाउनका लागि प्राविधिक समिती गठन गरिए पनि अवरोध हटाउन सकिएको छैन ।
औद्योगिक क्षेत्रको डिपिआर भएको क्षेत्रभित्र ६४ वटा घर रहेको भन्दै ती घरहरुको व्यवस्थापन गर्न प्राविधिक समितिले सुझाव दिएको थियो तर हालसम्म पनि सो सुझाव कार्यान्वयन हुन सकेको छैन ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले घोषणा गरिएको एक दशकभन्दा बढी बित्दा पनि औद्योगिक क्षेत्रको निर्माण नै सुरु हुन नसक्नु निकै दुःखद रहेको बताउनुभयो । उहाँले तत्काल समस्या समाधान गरेर सो औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सुरु गरिनुपर्ने माग गर्नुभयो ।