बुटवल समाचारदाता
बुटवल, भदौ १५ गते । बुटवलका बुद्धिप्रसाद शर्माले वैदिक जनै, रक्षाबन्धन, लाखबत्ती, अनन्त डोरोलगायतका सामग्री उत्पादन गरेरै वार्षिक ४० लाख रूपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।
राधा जनै धागो उद्योग स्थापना गरेर शर्माले उत्पादन गर्दै आएको जनैलगायतका सामान नेपाल तथा विदेशमा समेत निर्यात गर्न सफल हुनुभएको छ ।
वैदिक जनै र शास्त्रीय धागो बेचेर पनि लाखौँ कमाउन सकिन्छ भन्ने उदाहरण बनेका बुद्धिप्रसाद शर्मा सबैका लागि प्रेरणाका स्रोत पनि बन्नुभएको छ ।
वैदिक जनै, रक्षाबन्धन, लाखबत्ती, अनन्त डोरोलगायतका सामग्री उत्पादन गरेर नेपाल र विदेशमा समेत बजार प्रवर्धन गर्न सफल शर्माले आफ्नो उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी तीन सयजनाले रोजगारीसमेत पाएको बताउनुभयो ।
विसं २०५७ देखि वैदिक जनै र शास्त्रीय धागो उत्पादन गर्न थाल्नुभएका शर्मालाई अहिले बजारमा पवित्र जनै र रक्षाबन्धनको माग धान्न हम्मे हम्मे परेको बताउनुहुन्छ ।
वार्षिक करिब एक करोडको जनै धागोको कारोबार हुने पश्चिम नेपालको ८० प्रतिशत बजार बुटवलस्थित राधा जनै धागो उत्पादनले ओगट्न सफल भएको शर्माको दाबी छ ।
विगतमा भारतबाट आयात हुने करोडौँ रुपियाँको जनै र धागोलाई विस्थापित गरी आत्मनिर्भर बन्ने उद्देश्यका साथ बुटवलमा विसं २०५७ सालमा कुल ३० लाख रुपियाँको लगानीमा राधा धागो उद्योग स्थापना गरेको शर्माले बताउनुभयो । घरमै बसेर काम गर्न सकिने, स्वदेशमै पवित्र जनै धागो उत्पादन हुने र रोजगारीको अवसर समेत सिर्जना हुने भएकाले यस प्रकारका उद्योग व्यवसायलाई सरकारले पनि प्रवर्धन गर्नुपर्ने माग शर्माको छ ।