• ३० वैशाख २०८२, मङ्गलबार

अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइयो

blog

डोजरले अतित्रमण गरेर बनाइएका घर टहरा भत्काइँदै । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ १३ गते । नेपालगन्ज वडा २ स्थित दैलेखी बङ्गला कब्जागरी निर्माण गरिएका अवैध घर टहरा नेपालगन्ज उपमहानगरले डोजर लगाएर आज भत्काएको छ । 

नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले मंगलबार बेलुकीसम्म घर टहरा हटाउन अन्तिम अल्टिमेट दिनुभएको थियो । निर्धारित समयभित्र नहटाइएकाले बुधवार दिउँसो डोजर चलाउनुपरेको उहाँले बताउनुभयो । 

उहाँले पटक–पटक समय दिँदा पनि अवैध रूपमा सार्वजनिक जग्गा कब्जा गर्नेहरूले अटेरी गरेका कारण डोजरले भत्काउनुपरेको बताउनुभयो । मेयर विष्टले बुधबार पनि दैलेखी बङ्गलामै पुगेर हटाउन आग्रह गरिए पनि नभएपछि डोजरले भत्काइएको बताउनुभयो । सो अवसरमा वडा –२ का वडा अध्यक्ष मनोज श्रेष्ठलगायत प्रहरीको ठुलो सङ्ख्यामा उपस्थिति थियो । 

वडा २ का वडा अध्यक्ष श्रेष्ठले धेरै पहिलेदेखि जग्गा अतिक्रमण खाली गर्न आग्रह गर्दैआएको पटक पटक सूचना समेत निकालेर जानकारी गराइएको र अन्तमा पाँच दिनको समय दिइएकोमा बेवास्ता गरिएपछि डोजर चलाउनुपरेको बताउनुभयो । 

लामो समयदेखि दैलेखी बङ्गलाको सार्वजनिक जग्गामा तीन दर्जनभन्दा बढी अवैध घर टहरा बनाएर मानिसहरू बसोबास गर्दैआएका थिए । विकल्पमा जग्गा नपाएसम्म खाली नगर्ने अडान लिएका थिए । 

सोही प्रकारले बुधवार नै बागेश्वरी मन्दिरको पूर्व न्यूरोडमा अवैध रूपमा निर्माण गरिएका करिब ६० वटा अस्थायी पसललाई पनि खाली गराइएको उपमहानगरले जनाएको छ । 

बुधवार दिउँसो डोजर लिएर नेपालगन्ज उपमहानगरका मेयर विष्ट र वडा २ का वडा अध्यक्ष श्रेष्ठ अतिक्रमण गरिएको ठाउँमा पुगेपछि पसल हटाउन सुरु गरिएको थियो । 

यसअघि नेपालगन्ज उपमहानगरपालिकाले सात दिनको म्याद राखी पसल हटाउन सूचना जारी गरेपछि व्यवसायीहरू उच्च अदालत तुलसीपुर नेपालगन्ज पुगेका थिए । उच्च अदालतले तुलसीपुर नेपालगन्ज इजलासले निषेधाज्ञा मुद्दामा अर्को सूचना जारी गरी हटाउने म्यादसम्म निवेदकले पसल, सुरक्षित रूपमा हटाउन सक्ने नै हुँदा हाल सोही बमोजिम गर्नु भनी आदेश जारी गरेपछि उपमहानगरले खाली गराएको हो ।