• १५ वैशाख २०८१, शनिबार

कपाल काटेको शुल्क वृद्धि गरेको भन्दै विरोध

blog

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङलाई ध्यानाकर्षण पत्र बुझाइँदै । तस्बिर: चन्द्र

ताप्लेजुङ, भदौ १३ गते । ताप्लेजुङमा नाइँ सङ्घले सैलुन सेवाको शुल्क अस्वाभाविक वृद्धि गरेको भन्दै विद्यार्थीले विरोध गरेका छन् । सैलुन सेवाको शुल्क अस्वाभाविक अर्थात् एकै पटक ५० प्रतिशतले वृद्धि गरिएको भन्दै विद्यार्थीहरूले विरोध गरेका हुन् । 

जिल्लास्थित नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियु (क्रान्तिकारी) ले सैलुन सेवाको शुल्क वृद्धि गरिएकोमा विरोध जनाउँदै जिल्ला प्रशासन कार्यालय र फुङ्लिङ नगरपालिकामा मङ्गलबार ध्यानाकर्षण पत्र बुझाएका छन् । शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै उक्त दुई विद्यार्थी सङ्गठनले शुल्क समायोजनका लागि भूमिका खेल्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको जनाएका छन् ।

नाइँ सङ्घले अस्वाभाविक रूपमा गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने र सैलुनको अनुगमन गरी मापदण्डविपरीत तथा मनोमानी ढङ्गबाट वृद्धि गरिएको शुल्क समायोजन गर्न गराउनमा जिल्ला प्रशासन कार्यालयले पहल लिनुपर्ने विद्यार्थीले माग गरेका छ । नेविसङ्घ ताप्लेजुङका कार्यवाहक सभापति अर्जुन तिवारी र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष झरेन्द्र तिवारीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ र फुङ्लिङ नगरपालिकासमक्ष बुझाइएको हो । एकै पटक ५० प्रतिशतले शुल्कवृद्धि गर्नु मापदण्ड तथा ऐन २०७४ विपरीत भएको भन्दै विरोध गर्नुपरेको विद्यार्थी सङ्गठनहरूले जनाएका छन् ।

नाइँ सङ्घले कपाल काटेको सेवा शुल्कमा १०० बाट वृद्धि गरी १५० रुपियाँ पुर्याएको छ । त्यस्तै कपालको रेजर गरेको १५० रुपियाँ र डिजाइनिङ कपाल काटेको २००, राउन्ड काटेको ५० र चेहरा दारी, फम दारी र क्लिजिङ दारी काटेको समान १५० रुपियाँ कायम गरिएको छ । 

साधारण कपाल कालो गरेको २५० देखि ४५० रुपियाँ, साधारण फेसवासको ३५० रुपियाँ र साधारण फेसियलको ६०० रुपियाँ शुल्क निर्धारण गरिएको छ । फेसियल गरेको एक हजार ५०० रुपियाँ, थ्रेटि गरेको ७० रुपियाँ र अन्य सैलुनसम्बन्धी सबै सेवाको ५० प्रतिशतले शुल्क वृद्धि गरिएको छ । वृद्धि गरिएको शुल्क यही भदौ १ गतेदेखि लागू गरिएको छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।