नारद कोहार
तौलिहवा, भदौ १३ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस मिसन चौरासीको कुराभन्दा जन सरोकारका र चासोका विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस कपिलवस्तुले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् । काँग्रेसले निर्दोष मान्छेलाई फसाउन र भ्रष्टाचारीलाई जोगाउन नहुने उहाँले बताउनुभयो ।
उहाँले भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी जस्ता काण्डको पर्दाफास गरेको वर्तमान सरकारले अन्य भ्रष्ट्राचारकाे समेत फाइल खोल्नुपर्ने बताएका हुन् । २०४६ साल पछि काङ्ग्रेसकै नेतृत्वमा भ्रष्टाचारसम्बन्धी विभिन्न ऐन, नीति नियम निर्माण भएको भन्दै भ्रष्टाचारविरुद्ध पार्टी सशक्त रुपमा अघि बढ्ने उहाँको भनाइ थियो । ‘काँग्रेसको अगुवाइमा बनेका ऐन नियमको परिधिभित्र रही कैयौँ काँग्रेसी नेताहरूमाथि नै भ्रष्ट्राचार मुद्दा लागेको छ, त्यसैले काँग्रेसले भष्ट्राचारीलाई बचाउनेमा लाग्दैन’ उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो ‘जनतासँग प्रत्यक्ष गाँसिएको कुराहरूमा लाग्नुपर्छ, रूपान्तरण भएर जानुपर्छ जसरी चलेका त्यसरी नै चलाए अब त्यो गर्नुहुन्न ।’ काँग्रेसले आफ्नो संस्कार र समन्वय गरी सबैलाई मिलाएर लैजानुपर्ने बताउनुभयो । समन्वय नभए काँग्रेस सकिन्छ, सारा कुराको समन्वय गर्ने ताकत राख्नुपर्ने उहाँको भनाइ थियो ।