• ३ असार २०८१, सोमबार

आहारारा पोखरा गोल्डकपबाट तीन लाख बचत

blog

सन्तोष सुवेदी

कास्की, भदौ १२ गते । आहारारा पोखरा गोल्ड कपबाट तीन लाख बचत भएको छ । सहारा क्लबको आयोजनामा गत पुस १४ देखि २३ गतेसम्म भएको २२ औँ संस्करणको आहारारा पोखरा गोल्ड कपबाट तीन लाख १८ हजार बचत भएको हो ।

गोल्ड कपमा ९४ लाख ६५ हजार ६ सय २६ रुपियाँ आम्दानी हुँदा ९१ लाख ४६ हजार ९ सय ६९ खर्च भएको मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका अर्थ सङ्कलन उपसमितिका संयोजक सुनिल गुरुङले जनकारी दिनुभयो ।

प्रतियोगितामा प्रायोजनबाट ६४ लाख ५८ हजार, प्रवेश टिकटबाट १७ लाख ८६ हजार आम्दानी भएको हो । गोल्ड कपको मुख्य प्रायोजक हिमश्री फुड्सले २२ लाख २५ हजार सहयोग गरेको थियो । सहारा क्लबका अध्यक्ष हरिराज गुरुङ सुरजका अनुसार फाइनल खेलमा मात्र १० लाखको टिकट बिक्री भएको थियो । हिमश्री फुड्सले २०५९ देखि मुख्य प्रायोजक रहेर खेललाई सहयोग गर्दै आएको छ ।

बचत रकम सहारा क्लबले पोखराको दोविल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा खर्च गरिने छ । कठिन परिस्थिति र अनाथ गरी ११ जना बालकहरूको शिक्षा, लालनपालनको जिम्मा क्लबले लिएको छ । बालकहरूको लालनपालनको साथै खेलाडी उत्पादनमा समेत क्लबले जोड दिएको छ ।

२२ औँ संस्करणमा १० टिम सहभागी भएकोमा सङ्कट क्लब विजेता भएको थियो भुटनीज क्लब उपविजेता बनेको थियो । क्लब अध्यक्ष गुरुङले २३ औँ संस्करणको आहारारा पोखरा गोल्ड कपको आन्तरिक तयारी सुरु भएको जानकारी दिनुभयो ।