अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ १२ गते । हिमालपारीको जिल्ला मुस्ताङको मुख्य बाली स्याउ असोजअघि टिप्न नपाइने भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा आयोजित अन्तरपालिका समन्वय बैठकले मुस्ताङको स्याउ असोज १ अगावै टिप्न नपाइने निर्णय गरेको हो ।
स्याउ चाँडै टिपेर बजार पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले असोज लागेपछि मात्रै स्याउ बजार पठाउने निर्णय भएको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीले बताउनुभयो । स्याउको गुणस्तरलाई कायम राख्दै आफ्नो गुणस्तरीय पहिचान राख्नका लागि असोज १ गतेपछि मात्रै स्याउ टिप्न मुस्ताङका पाँच वटै स्थानीय तहका अध्यक्षहरुले प्रतिबद्धता जनाएका छन् । अध्यक्षहरुले आ-आफ्नो स्थानीय तहका किसानलाई स्याउ असोज लागेपछि मात्रै टिप्न अनुरोध गरिएको थकालीको भनाइ छ ।
जिल्ला समन्वय समिति मुस्ताङले आयोजना गरेको अन्तरपालिका समन्वय बैठकको निर्णयसँगै भदौ महिनाभर मुस्ताङमा किसानको बगैँचामा स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ। मुस्ताङको स्याउ बगैँचामा पूर्ण विकसित नहुँदै स्याउ धनी र व्यापारीको मिलेमतोमा बजार पुर्याउने भएकाले उपभोक्ताले मुस्ताङको स्याउको गुणस्तर खस्किएको गुनासो गर्न थालेपछि यस्तो कदम चालिएको मार्फाका स्याउ कृषक दिपक लालचनको भनाइ छ । "स्याउ बगैँचामा राम्ररी नपाक्दै चाँडो पैसा पाउने आशामा बजार पुर्याउँदा मुस्ताङको स्याउको ब्रान्ड माथि नै नकारात्मक सन्देश जाने खतरा बढेकाले पनि यस्तो कदम चालिएको हो", उहाँले भन्नुभयो ।
पछिल्लो समय सकभर असोज अगावै मुस्ताङको स्याउ व्यापारीले असोज अगावै बजार पुर्याउने गर्दा मुस्ताङमा उत्पादित स्याउ गुणस्तर नभएको भन्ने गुनासो आउन थालेको थियो। स्याउधनीले पूर्णरूपमा स्याउ नपाक्दै व्यापारीलाई बिक्री गरेर टिप्न दिँदा स्याउ बगान असोज नलाग्दै रित्तिन थालेपछि गतवर्ष पनि स्याउ टिप्न रोक लगाइएको थियो ।
मुस्ताङमा पछिल्ला दिनहरुमा इटालीयन उच्च घनत्वको स्याउ खेती विस्तार हुँदै आइरहेको छ । उच्च घनत्वको स्याउ खेतीमा प्रदेश सरकारबाट वर्षेनी अनुदान सहयोग हुँदै आइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो । मुस्ताङमा उच्च घनत्वका स्याउका एक लाख ६७ हजार बिरुवा आइसकेको उहाँको भनाइ छ । १७ हजार बिरुवा स्याउ जोनमार्फत ५० प्रतिशत अनुदानमा आएको थियो भने बाँकी कृषि ज्ञान केन्द्र मार्फत ७५ प्रतिशत अनुदानाम आउने गरेको बस्ताकोटीको भनाइ छ ।
हाल मुस्ताङमा रेडडेलिसियस, रोलय डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस जातका स्याउ खेती हुँदै आइरहेको छ । त्यस्तै, नयाँ जातका अर्थात् उच्च घनत्वको स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्सका बिरुवा लगाइएको बस्ताकोटीले बताउनुभयो ।
यस वर्ष स्याउका लागि आवश्यक पर्ने समयमा हिउँ नपर्नु र स्याउमा ढकमक्क फूल फुल्ने समयमा एक दुई हप्ता लगातार वर्षा हुँदा फूलका परागकणहरू सबै पखालिएको र परागसेचन गर्ने कीराहरू जस्तै मौरी, भमराहरूको कम उपस्थिती र कृयाकलाप भएका कारण गत वर्षको तुलनामा यस वर्ष स्याउको उत्पादनमा करिव ४०-५० प्रतिशत कम हुन सक्ने शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयको भनाइ छ । उहाँ भन्नुहुन्छ, "जलवायु परिवर्तनका कारण आवश्यक पर्ने भन्दा पनि अनावश्यक समयमा हुने निरन्तरको वर्षाले स्याउमा उत्पादन घट्ने देखिएपछि यहाँका स्थानीय किसान चिन्तित छन् ।"
मुस्ताङका ५ स्थानीय तहमा कुल एक हजार चार सय ७५ हेक्टरमा स्याउ खेती हुन्छ । पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिन्छ । त्यस्तै, कुल स्याउ खेती हुनेमध्ये ३८ हेक्टर जमिनमा उच्चघनत्वको स्याउ खेती थालिएको छ । गएको वर्ष छ हजार पाँच सय ९७ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । गतवर्षको उत्पादनमध्ये चार सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउ उत्पादन भएको थियो ।