• ३० वैशाख २०८२, मङ्गलबार

विस्थापित किसान पुनः अदुवा खेतीमा

blog

रेखीराम राना

पाल्पा, भदौ १२ गते । अदुवाको खेतीबाट १० वर्षअघि विस्थापित पाल्पाका किसान पुनः अदुवा खेतीमा लागेका छन्। अदुवा खेतीबाट निकै ठुलो क्षति बेहोरेका तानसेन, रिब्दीकोट र बगनासकालीका किसान पुनः अदुवा खेतीमा फर्किएका हुन्। 

आर्थिक वर्ष २०६७/६८ देखि अदुवाको खेती गर्न छाडेका यहाँका किसान एक दशकपछि अदुवा खेतीमा फर्किएका हुन्। अदुवाको गाँनो कुहिने, बोट मर्ने समस्या तथा भाउ नपाउने समस्याले विस्थापित बनेका किसान पुनः यसकै खेतीमा आकर्षित भएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो। १० वर्षअघिसम्म पाल्पाको पश्चिम भेगका किसानले अदुवाको व्यावसायिक खेती गरेका थिए तर अदुवा लगाएर लाखौँको क्षति बेहोर्नु परेपछि अदुवा लगाउन छाडेका अध्यक्ष कार्कीले बताउनुभयो। 

अदुवा खेतीका लागि प्राविधिक सहयोग पाएपछि पुनः अदुवा खेतीमा फर्किएको र अदुवा खेतीले फाइदा दिन थालेको यहाँका किसानले बताएका छन्। अदुवा खेतीका लागि आवश्यक सहयोग पाएपछि यसको खेती फेरि सुरु गरिएको तानसेन–१०, तेल्घा गाँबुडाँडाकी हुमी रानाले बताउनुभयो। उहाँले भन्नुभयो, “१० वर्षपछि पुनः अदुवा खेती गर्न सुरु गरेका छौँ, पहिले जस्तो किसानले घाटा बेहोर्न नपर्ला। अदुवा खेतीका लागि आवश्यक प्राविधिक सहयोग र अदुवाको चाना, सुठो, धुलो बनाउन प्रविधि सहयोग पाएको उहाँले बताउनुभयो। ”

रानाले भन्नुभयो, “पहिले किसानकै अनुभवले अदुवा खेती गर्दा धेरै घाटा बेहोर्नु प-यो, अहिले कृषि प्राविधिकको सहयोग पाएपछि घाटा नहोला भन्ने विश्वास छ।” पछिल्लो १० वर्षमा अदुवाको खेती गर्न छाडिसकेका छ सयभन्दा बढी किसान अदुवाको खेतीमा लागेका छन्। हाल तानसेनको वडा नं. १०, १२ र १३, रिब्दीकोटको वडा नं. ७ र ८ तथा बगनासकालीको वडा नं. ६, ७ र ८ का किसान अदुवा खेतीमा फर्किएका छन्। यसबाट लोप भइसकेको अदुवा पुनः उत्पादन सुरु भएको कारितास नेपालका कार्यक्रम संयोजक हरिश कुँवरले बताउनुभयो।

उहाँले भन्नुभयो, अदुवा खेतीबाट विस्थापित किसानलाई पुनः यसको खेतीमा आकर्षित गर्न सहयोग गरिएको छ। अखुवा उत्पादनमा लागेका किसानले यो वर्ष बुढी अदुवा बिक्री गरेर बिउमा भएको खर्च उठाइसकेका छन्। 

यहाँका किसानले बिउमा गरेको लगानी उठाइसकेको गाँबुडाँडा अदुवा समूहका अध्यक्ष लोकबहादुर रानाले बताउनुभयो। गत जेठदेखि साउनसम्ममा निकालेको बुढी अदुवा प्रतिकिलो १६५ रुपियाँमा बिक्री गरेको छ। उहाँले भन्नुभयो, “रोपेको बुढी अदुवाले लगानी उठाइसकेको छ, बाँकी रोपेको अदुवाले पनि राम्रै मूल्य दिन्छ भन्ने विश्वास छ।”