• १४ मंसिर २०८१, शुक्रबार

सिँचाइ गर्न डिप बोरिङ र ट्युबेल

blog

मीना कँडेल 

कावासोती, भदौ १२ गते । पूर्वी नवलपरासीको कावासोती–३ मा डिप बोरिङ तथा ट्युबेल सिँचाइ सञ्चालनमा आएसँगै स्थानीय कृषकलाई राहत मिलेको छ। सिँचाइको अभावमा चाहे जति उत्पादन गर्न नसक्दा कृषक मर्कामा परेका थिए। 

डिप ट्युबेल सिँचाइ सञ्चालनमा आएपछि कृषक खुसी देखिएका छन्। स्थानीय टेकबहादुर श्रेष्ठले पहिले सिँचाइका लागि आकाशे पानीको भर पर्नु परेको उल्लेख गर्दै अब सिँचाइ सुविधा पुगेपछि खुसी हुनु स्वाभाविक भएको बताउनुभयो। 

पानी अभावकै कारण जमिन बाँझो राख्नुपर्ने बाध्यता हटेसँगै कृषि उत्पादनमा सहयोग पुगेको कृषक श्रेष्ठले बताउनुभयो। 

उक्त सिँचाइबाट यहाँका २८१ घरघुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। डिप बोरिङ सञ्चालन भएपछि कावासोती क्षेत्रका कृषि उत्पादनमा सकारात्मक परिणाम आउने विश्वास गरिएको छ। कावासोती–३ का शालिकराम कोइरालाले यस क्षेत्रमा सिँचाइका लागि सहज हुने भएकाले कृषि उत्पादनमा २० प्रतिशतले बढोत्तरी हुने विश्वास रहेको बताउनुभयो। भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय भैरहवाले लुम्बिनी प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा डिप बोरिङ निर्माण गरिएको हो। 

उक्त आयोजनाका अनुसार सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कावासोती–३ का स्थानीयले यसै वर्षदेखि सिँचाइको प्रयोग गर्ने छन्। डिप ट्युबेल सिँचाइमा कुल लागत ८६ लाख ५८ हजार रुपियाँ लगानीमा निर्माण भएको हो भने तीन लाख ७१ हजार १९३ रुपियाँ उपभोक्ताले लगानी गरेका छन्।

कावासोती नगरपालिका प्रमुख विष्णुप्रसाद भुसालले ४० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा सहज हुने बताउनुभयो। बोरिङ सञ्चालनसँगै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने भएकाले किसानलाई व्यावसायिक नगदे बाली तथा तरकारी खेती गर्न सहयोग पुग्ने छ।