गुणबहादुर रोका
सुलीकोट, भदौ १२ गते । उत्तरी गोरखामा केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरोले एक घर बगाएको छ। धार्चे गाउँपालिका–६, यार्सामा गाउँको बिचबाट बग्ने खोलामा आएको पहिरोले स्थानीय सुकमाया घलेको घर बगाएको हो।
वडाध्यक्ष धनकुमार घलेले एउटा घर बगाएको र अन्य सात घरमा क्षति पुगेको जानकारी दिनुभयो। उहाँले गए राति घर बगाएको बताउनुभयो। वडाध्यक्ष घलेका अनुसार वर्षा भइरहेको बेलामा एक्कासि घरमाथिबाट पहिरोसहित खोल्सामा बाढी आउँदा घरमा भएका मान्छे भागेर ज्यान जोगाए भने घरमा रहेको नगद, जिन्सीलगायतका सामान बगाएर लगेको छ। उनीहरूलाई तत्काल खाने बस्ने व्यवस्थाका लागि सहयोगको आवश्यक रहेको छ।
सात घरमा आंशिक क्षति पुगेको छ। भिमबहादुर घलेको भान्छा कोठा पूर्ण रूपमा क्षति पु-याएको छ। त्यस्तै टेकबहादुर घलेको सुत्ने कोठा, जयबहादुर गुरुङ, सुनबहादुर गुरुङ, च्याबर घले, धामी घले र आइतीमाया घलेको घरमा बाढीपहिरोले आंशिक रूपमा क्षति पु-याएको अध्यक्ष घलेले जानकारी दिनुभयो।
मनकामना सडकखण्ड भासियो
गोरखाको सहिदलखन गाउँपालिका–७ बुङ्कोटस्थित देउराली भन्ज्याङमा केही दिनयता परेको वर्षाका कारण मुख्य सडक भासिएको छ। वडा नं. ७ अध्यक्ष शरण श्रेष्ठले गोरखा सदरमुकामदेखि बुङ्कोट नाम्जुङ सडकखण्डमा पर्ने मनकामना जाने सडक आधाभन्दा बढी भाग चिरा चिरा परेर भासिएको बताउनुभयो। उहाँले भन्नुभयो, “केही दिनअघिदेखि त्यहाँको सडक हल्का चर्किएर भासिने अवस्थामा थिए, हामीले प्लास्टिक राखेर छोपेका थियौँ।” शनिबार झनै बढी चर्किएपछि सवारी आगमनमा समेत समस्या भएको उहाँको भनाइ छ।
सडकभन्दा तल रहेका केही घरसमेत जोखिममा परेका छन्। सडक भासिएलगत्तै शहिदलखन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष्य, वडाध्यक्ष, पूर्वाधार विकास कार्यालय गोरखाका प्रतिनिधिलगायतले उक्त क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन्। भासिएको सडकको माटो र ढुङ्गा पन्छाउने काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ। मुख्य पालिकाको पर्यटकीय ठाउँ मनकामना जाने सडकखण्डका लागि दीर्घकालीन समाधानका लागि पूर्वाधार विकास कार्यालय गोरखासँग आवश्यक समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले बताउनुभयो।
उक्त सडक बेलैमा मर्मतसम्भार नभए ठुलो जनधनको क्षति हुने स्थानीयले गाउँपालिकालाई सचेत गराएका थिए। कतिपय स्थानीयले मनकामना मन्दिर दर्शन गर्न जानका लागि लामो बाटो प्रयोग गर्नु परेको गुनासो गरेका थिए।