• २३ वैशाख २०८१, आइतबार

संस्थापकद्वारा अप्पर तामाकोशीको हकप्रदमा लगानी

blog

काठमाडौँ, भदौ १२ गते । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक सेयरधनीले हकप्रद सेयरबापतको रकम बुझाएका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका संस्थापक सेयरधनीहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको कुल पाँच अर्ब ४० करोड नौ लाख रुपियाँ चुक्ता गरेका छन् ।  

कम्पनीले आगामी भदौ १८ देखि सेयरधनीलाई एक कित्ता सेयर बराबर एक कित्ताको प्रतिसेयर एक सय रुपियाँ अङ्कित दरका हकप्रद सेयर निष्कासन गर्दै छ । सर्वसाधारणतर्फको सेयर निष्कासन गर्नुभन्दा पहिले कम्पनीका संस्थापकले हकप्रदका लागि रकम चुक्ता गरेका हुन् ।

१० अर्ब ५९ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको दुई/दुई प्रतिशत संस्थापक सेयर रहेको छ । सेयर स्वामित्व अनुसार प्राधिकरणले चार अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख/२१ करोड १८ लाख रुपियाँ हकप्रद सेयरबापतको रकम चुक्ता गरेका हुन् । रकम चुक्ता भइसकेपछि सेयरको बाँडफाँट पनि भइसकेको छ । 

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीको ८.८४ प्रतिशत, दोलखावासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट पाँच अर्ब १९ करोड ९१ लाख रुपियाँ चुक्चा हुनु पर्ने छ । हकप्रद सेयरबापतको रकम सङ्कलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपियाँ पुग्ने छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोसी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवाब्याज चुक्ता गर्न र २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माणमा खर्च गरिने बताउनुभयो । कम्पनीले माथिल्लो तामाकोशी निर्माण गर्दा छ अर्ब रुपियाँ अल्पकालीन ऋण लिएको छ । 

सिइओ गौतमले अल्पकालीन ऋणको साँवाब्याज चुक्ता गरेपछि बाँकी रहेको र माथिल्लो तामाकोशीको विद्युत् बिक्रीबाट प्राप्त हुने रकमबाट रोल्वालिङको वित्तीय व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।