इमानसिं राना
रामपुर (पाल्पा), भाद्र ११ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसलाई मिसन चौरासीभन्दा कामको चिन्ता रहेको बताउनुभएको छ । नयाँ तथा पुराना दलका शिर्ष नेताहरुबाटै मिसन चौरासीको कुरा ल्याइरहेको सन्दर्भमा शर्माले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेस प्रतिनिधि सभा पाल्पा क्षेत्र १, प्रदेश सभा १ र २ ले सोमबार रामपुरमा आयोजना गरेको प्रतिनिधि सभा क्षेत्रीय एवं प्रदेशसभा सम्मेलनलाई सम्बोधन गर्दै शर्माले कांग्रेसलाई मिसन चौरासीको बारेमाभन्दा पनि कामको चिन्ता रहेको स्पष्ट पार्नुभयो ।
एउटा निर्वाचन सकियो अर्को चुनावको चिन्ता लिदै गयौं भने जनताको देश र जनताको लागि हामीले कहिले गर्ने भन्ने विषयमा गम्भीर हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब्बल विद्यार्थी त्यो हो जस्ले परीक्षाको होइन, पढाइको चिन्ता गर्छ ।”
कांग्रेसले केवल आफुले मात्र जितेर मात्र नपुग्ने भन्दै समाजले जित्ने कुरा, समाजलाई गास्ने कुरा, देशलाई बनाउने कुरा, देशको स्वधिनताको कुरा र देशको शान्तिको कुरा गर्ने बताउनुभयो । “मिसन चौरासीको कुरा भविष्यमा गरौंला । अहिले समाजलाई एक ठाउँमा ल्याउने काम गरौं” उहाँले भन्नुभयो ।
पछिल्लो समय पुराना दलप्रति जनताको दृष्टि फरक हुँदैगैरहेको बेला उहाँले कांग्रेसको महत्व नौमती बाजाकोजस्तै रहेको बताउनुभयो । उपनिर्वाचन पश्चात कांग्रेस नयाँ ढंगले बदलिएर अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “कांगस्रेले लिएको नीति सही छ । सिद्धान्त सही छ । संयम राखौं । समन्वय गरौं । सिद्धान्त, विचार र विकास नै कांग्रेसको शक्ति हो ।”
लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री बीरबहादुर रानाले अब अन्योलहरुलाई चिर्दै कांग्रेसले गाउ“ अभियान चलाउनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा कांग्रेसका कार्यवाहक जिल्ला सभापति झपेन्द्र गैरे, उपसभापति ज्ञानबहादुर गाहा, प्रदेश सदस्य तथा दक्ष जनशक्ति नीति निर्माण विभागका संयोजक सन्दीप राना लगायतले बोल्नुभएको थियो ।