• १२ मंसिर २०८१, बुधबार

भारतीय नेशन डिफेन्स टोलीद्वारा जङ्गी अड्डाको भ्रमण

blog

काठमाडौं, भदौ ११ गते । प्रधान सेनापति प्रभुराम शर्मा र भारतको नेशन डिफेन्स कलेजका सिनियर डाइरेक्टिङ स्टाफ एयर भाइस मार्सल मनिष कुमार गुप्ताबिच सोमबार जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ । 

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको सेनाले जनाएको छ । भारतीय  नेशन डिफेन्स कलेजमा सञ्चालन भइरहेको ६३औँ नेशन डिफेन्स कोर्षमा सहभागी जर्मनी, बङ्गलादेश, श्रीलङ्का, साउदी अरेबिया, बेलायत, ओमान र भारत सम्मिलित विभिन्न राष्ट्रका शिक्षार्थीसहितको २७ सदस्यीय भ्रमणदल अध्ययन भ्रमणको क्रममा आइतबार नेपाल आएको हो । 


भ्रमण दललाई जङ्गी अड्डामा नेपाली सेनाको बारेमा जानकारी गराइएको थियो । भ्रमणदलले नेपाली सेनाका केही इकाईहरूका साथै काठमाडौँ, पोखरा, लुम्बिनी र जनकपुरस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ । विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित उच्चस्तरको सुरक्षा एवम् प्रतिरक्षा तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्न मुलुकहरूको भ्रमण गर्ने प्रचलन रही आएको छ ।

यस किसिमको अध्ययन भ्रमणबाट सामूहिक चासोका विषयमा ज्ञान र अनुभवको आदानप्रदान एवम् सम्बद्ध मुलुकहरूसँगको  सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाको छ ।