• ११ असोज २०८१, शुक्रबार

वीरेन्द्र बिक माओवादी केन्द्रमा प्रवेश

blog

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला संयोजक वीरेन्द्र बिकलाई नेकपा (माओवादी केन्द्र) मा प्रवेश गराउनुहुँदै अध्यक्ष प्रचण्ड ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १० गते । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र बिक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । उहाँलाई एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीमा प्रवेश गराउनुभएको हो ।  

अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा, उपाध्यक्ष पम्फा भुसाल, स्थायी समिति सदस्य रेखा शर्मा, केन्द्रीय समिति सदस्य हेमराज शर्मालगायतले विकलाई खादा र अबिर लगाएर स्वागत गर्नुभयो । 

सो क्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिने बताउनुभयो । विगतमा सँगै रहेका केही कमरेडहरू अहिले फरक धारमा रहे पनि अबको समाजवादी क्रान्तिमा एक भएर बढ्नुपर्ने उहाँले बताउनुभयो । 

जनयुद्धकलामा समर्थकको भूमिकामा रही २०६२ देखि राजनीतिमा लागेका बिक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट युवा जनस्वयंसेवक नेपालको वरिष्ठ केन्द्रीय उपाध्यक्ष पनि रहनुभएको छ । गत वैशाखमा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता हुँदा बिक नेकपा बहुमतको तर्फबाट ३१ जिल्ला सदस्यसहित नेतृत्व गर्दै एकतापछि जिल्ला संयोजक बन्नुभएको थियो । 

विप्लव नेतृत्वको नेकपा र नेकपा बहुमत विभाजन हुनुअघि बिक नेकपाको जिल्ला सचिवालय सदस्य र युवा जनस्वयंसेवकको केन्द्रीय सचिवालय सदस्य रहनुभएको थियो ।


तुलसीपुर–५ दाङ निवासी बिक युवाहरुमाझ लोकप्रिय मानिनुहुन्छ । नेकपा माओवादी प्रदेश सदस्यको जिम्मेवारीमा रहने गरी पार्टीमा समाहित भएका बिकले दाङमा क्रान्तिकारी युवाबीच नयाँ ध्रुवीकरणको थालनी गर्ने बताउनुभयो । अब युवाहरुको भविष्य समाजवादमा रहेको र त्यसका लागि अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएको निष्कर्षसहित आफू मूल घर फर्केको उहाँले बताउनुभयो ।