काठमाडौं, भदौ ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्नुभएको छ । पार्टीको टोखा नगरपालिकाको भेलामा आज (शनिबार) उहाँले जातजाति र समुदायसित होइन बल्की बेथिति र भ्रष्टाचारविरुद्ध लड्नुपर्ने बताउनुभयो ।
“जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति सचेत बन्न सबैलाई आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “हाम्रो दुस्मनी गरिबी, अशिक्षा र बेरोजगारीसित हो ।”
कानुनले वर्जित गरेको गतिविधि नगर्न सुझाव दिँदै अध्यक्ष लामिछानेले फरक-फरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुनेमा जोड दिनुभयो ।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सात महिनाको संसदीय अभ्यास पार्टीका लागि उत्कृष्ट भएको बताउनुभयो । सांसद शिशिर खनालले आउने चुनौतीविरुद्ध सबै रास्वपाका सबै सदस्य एकजुट हुनुपर्ने बताउनुभयो ।
नगर सभाबाट रास्वपाको टोखा नगर समिति गठन गरिएको छ । समितिको सभापतिमा सूर्यप्रसाद काफ्ले, उपसभापतिमा केशु पन्त गौतम, सचिवमा किरण बर्तौला र कोषाध्यक्षमा नन्दलाल अधिकारी तथा सदस्यमा सुधा खड्का, रघुनाथ केसी, रिना नेपाली, गङ्गा गुरुङ, राज अधिकारी, ख्यामबहादुर भारती र कपिलनाथ पङ्गेनी चयन हुनुभएको छ । रासस