• २६ वैशाख २०८२, शुक्रबार

पार्टी रूपान्तरण र सुधारको काम आफूबाटै सुरु गरौँ : उपसभापति खड्का

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का ।

काठमाडौं, भदौ ९ गते। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी  रूपान्तरण र सुधार आफैबाट सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ। 

काठमाडौँ क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलामा उपसभापति खड्काले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रूपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिनुभयो। 

“अरूलाई भन्नुभन्दा हरेक नेता तथा कार्यकर्ताले आफैँबाट सुधार सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो, “पार्टीलाई जीवनका  लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ।” 

उपसभापति खड्काले आम नेपाली जनता, मतदाता र पार्टी कार्यकर्ताले मन नपराएको र नगर भनेको कुरा नगर्दा मात्रै पनि पार्टीमा सुधार देखिने धारणा राख्नुभयो। उहाँले जनताले औँल्याएका कमी कमजोरी सुधार गरेर जाने सङ्कल्प बोकेर काम गरे पार्टी सुधार र रूपान्तरण हुने बताउनुभयो। 

पार्टीमा स्थापनाकालमा काम गरेका र नयाँ पुस्ता पनि रहेको भन्दै उहाँले पार्टीको निर्णय पनि त्यसैअनुसार व्यवस्थापन हुनुपर्ने भनाइ राख्नुभयो। उपसभापति खड्काले केन्द्रीय तहबाट हुनुपर्ने विभाग गठनमा केही ढिलाइ भए पनि चाँडै त्यसलाई पूर्णता दिने जानकारी पनि दिनुभयो। 

उहाँले एउटा उमेर समूहले अर्को उमेर समूहलाई पार्टीमा औँला उठाउने मात्र गरे पार्टी बलियो हुन नसक्ने भन्दै सबै मिलेर जानुपर्नेमा जोड दिनुभयो।

नेपाल सरकारका उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहनुभएका खड्काले सरकारले सुशासनको अभियानलाई निरन्तरता दिने समेत स्पष्ट पार्नुभयो। उहाँले भ्रष्टाचार अन्त्य गर्ने र सुशासनका लागि वर्तमान सत्ता गठबन्धन बनेकाले सरकार पनि त्यही सङ्कल्पका साथ अघि बढेको बताउनुभयो। 

उहाँले सरकारले चाँडै लम्की स्किन रोगबाट पीडित किसानलाई राहत दिने र त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काम गरिरहेको जानकारी पनि दिनुभयो।