• १४ मंसिर २०८१, शुक्रबार

भोटी माछाको संरक्षण गर्न महोत्सव हुने

blog

महोत्सवको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ ९ गते । रैथाने भोटी माछाको संरक्षण गर्न महोत्सव गरिनेभएको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित दोभान युवा क्लबको आयोजनामा ‘‘दमौली भोटीबजार भादगाउँ तनहुँ सांस्कृतिक महोत्सव–२०८०’’ गरिने भएको हो । 

नदी तथा खोलामा करेन्ट लगाउने, बम हान्ने, विषादी प्रयोग गरेर माछा मार्दा रैथाने भोटी माछा मासिन थालेकाले जोगाउन महोत्सव गर्ने निर्णय भएको आयोजकले शनिबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

रैथाने माछाको संरक्षण गर्दै सेती तथा मादी नदी, बुल्दीखोला, छाब्दी खोला आदिको भोटी माछा खान पाइने भोटी बजारको पहिचानको प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यले महोत्सव गर्ने निर्णय भएको दोभान युवा क्लबका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक नलबहादुर दरैले जानकारी दिनुभयो । 

स्थानीय उत्पादन, बस्तु तथा सेवाहरूको बजार प्रवर्द्धन गर्ने, उद्यमी एवम् व्यवसायीलाई प्रोत्साहन गर्नु, आदिवासी जनजातिका भाषा, धर्म, कला र संस्कृतिको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुलगायत महोत्सवको थप उद्देश्य रहेको दरैले बताउनुभयो । 

महोत्सवमा राखिने खानाका स्टलमा भोटी माछाको परिकार अनिवार्य राख्नुपर्ने नियम राखिएको अध्यक्ष दरैले बताउनुभयो । दरैले भन्नुभयो, ‘‘परिकारमा भोटी माछाको अनिवार्य हुनु पर्ने व्यवस्था गरेका छौँ ।’’ 

महोत्सवमा स्थानीयका साथै राष्ट्रिय ख्याति प्राप्त कलाकारको दैनिक प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, धार्मिक तथा ऐतिहासिकस्थलको प्रवर्द्धन गरिने क्लबका पदाधिकारीको भनाइ छ । 

दोभान आमा समूहको सहआयोजना र व्यास नगरपालिका –१ को प्रवर्द्धनमा महोत्सव भदौ २७ देखि असोज ७ गतेसम्म आयोजना हुनेछ । महोत्सवमा हरितालिका तीजको दिन खुला तीज गीत प्रतियोगिता गरिने क्लबका सचिव सुमन बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार महोत्सवमा लाखे नाच प्रतियोगिता, कौरा गीत प्रतियोगिता, झाँकी पुरस्कार, नरसिंह तथा पञ्चेबाजा प्रतियोगिता राखिएको छ । 

छिम्केश्वरी, बन्दीपुर, तनहुँसुर, पतेनी दरैगाउँ, पुलटारी बोटेगाउँ, मानहुँकोट, भादगाउँ, खैरेनीटार दगाम, दुलेगौंडा भुजीकोट, रामकोटलगायतको पौराणिक ठाउँहरूमा ग्राम भ्रमणको कार्यक्रम राखिएको छ ।