• २६ वैशाख २०८१, बुधबार

सुशासनका लागि विशेष अभियान चलाउँछौँ : उपप्रधानमन्त्री खड्का

blog

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ ९ गते । उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री खड्काले मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार केन्द्र भागमा राखेर अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले भएका कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने तयारी सरकारको रहेको बताउनुभयो ।

‘‘अहिलेको सन्दर्भमा कुरा आइसकेको छ, मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार, वर्तमान प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेपाली कांग्रेस, समाजवादी, जसपा, लोसपा, जनमत, लगायतका पार्टीहरू मिलेर अहिले हामी सरकार चलाइरहेका छौँ ।,’’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘नेपाली कांग्रेस सरकारमा गएको अहिले लगभग साढे चार महिना बितेको छ । सुशासन, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा अभियानको रूपमा एउटा सङ्कल्पसहित हामी सरकारमा गएपछि पूर्ण सङ्कल्पसहित सरकार अघि बढेको छ । भएका कमजोरीलाई सुधारेर विशेष अभियान चलाउनका लागि मुख्यसचिव एउटा टोली बनाएर लाग्नुभएको छ ।’’

उपप्रधानमन्त्री खड्काले सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि सरकारले नयाँ कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरूलाई सुशासनको कार्ययोजनाको घेराभित्र अनुशासित बनाउँदै आम नेपाली जनतामा नयाँ खालको प्रभाव, सरकारबाट दिनुपर्ने सेवामा नयाँ पनको गतिको अनुभव आम नागरिकले महसुस गर्नेगरी सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले सरकार दोषी छुट्नु हुँदैन र निर्दोष फस्नु हुँदैन भन्ने पक्षमा काम गरिरहेको जानकारी दिनुभयो ।

‘‘सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि हामीले पहल गरिरहेका छौँ । अब यो महिना भित्रै त्यो कार्ययोजना तयार भएर मन्त्रीपरिषद्ले पास गरेर कार्ययोजनामार्फत नेपाल सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरूलाई सुशासनको कार्ययोजनाको घेराभित्र अनुशासित बनाउँदै आम नेपाली जनतामा एउटा नयाँ खालको प्रभाव, सरकारबाट दिनुपर्ने सेवामा नयाँ पनको गतिको अनुभव आम नागरिकले महसुस गर्नेगरी वर्तमान सरकारले गरिरहेको छ ।,’’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘हामी कुनैपनि खालको भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन हुनुपर्छ । दोषी उम्कन र निर्दोष पर्नु हुँदैन । छानबिनका प्रक्रियाहरू अधुरा छन्, बाँकी छन्, चलिरहेका छन्, यसको निरूपण नभएसम्म प्रश्न उठ्नु स्वाभाविक हो । हाम्रा नेताहरूले केही कुरा उठाउनुभएको छ, त्यसलाई अस्वाभाविक मान्दिन, त्यसको अन्तिम टुङ्गो अदालतले नलगाएसम्म यी कुराहरू हुन्छन् ।’’

उपप्रधानमन्त्री खड्काले कुनैपनि खालको भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।