• ११ पुस २०८१, बिहिबार

हात्तीको दाम

blog

बेला बेलामा खास गरी पूर्वी नेपालमा जङ्गली हात्तीले मानिसलाई दुःख दिएको समाचार पढ्न, सुन्न र हेर्न पाइन्छ । कुनै समय थियो, तराईका कतिपय धनाढ्य जमिनदार आफ्नो घरमा हात्ती पाल्थे । त्यो बेला हात्तीलाई राजकीय शानका रूपमा पनि लिने गरिन्थ्यो । हात्तीमा सवार हुने राजाहरू गजपति कहलाउँथे तर आजभोलि घरपालुवा हात्ती केवल निकुञ्ज तथा चिडियाखानामा पर्यटकीय प्रदर्शनीका रूपमा देख्न पाइन्छ ।

नेपाली इतिहासमा दन्त्यकथाको नायक जस्ता लाग्ने जङ्गबहादुर राणाकै कुरा गर्ने हो भने हात्तीसँग उनको गजबको सम्बन्ध जोडिएको छ । उनका हात्तीहरूमध्ये सबैभन्दा प्रिय हात्तीको नाम ‘जङ्गप्रसाद’ थियो । आफ्नो जीवनको उत्तराद्र्धतिर जङ्गबहादुर सिकार यात्रामा थिए । उनी सिकारका व्रmममा अधमरा, मगरठाना, जनकपुर, धनुषा, कमला नदी, मुर्की नदी, बहुरिया, नयाँ गाउँ र बालङ नदी हुँदै महौलियापछि रिमारी पुगेका थिए ।

त्यो दिन विसं १९३३ फागुन १४ गते थियो । त्यही दिन आफ्नो प्यारो हात्ती जङ्गप्रसाद मरेको खबर सुनेर जङ्गबहादुरको हृदयमा ठुलो धक्का लागेको थियो । त्यसको पर्सिपल्ट अर्थात् फागुन १६ गते स्वयम् जङ्गबहादुरकै मृत्यु हुन पुग्यो (पद्मजङ्ग राणा, ‘जङ्गबहादुरको जीवनयात्रा’–२०७४ः२८७) । हात्तीकै कारण जङ्गबहादुरले आफ्नो वृत्ति विकासमा ठुलो फड्को मारेका थिए । भीमसेन थापाको पतनपछि जागिर खोसिएर उनी बेरोजगार बनेका थिए । त्यतिखेर राजा राजेन्द्रविक्रम शाह सिकारका लागि चितवनतर्फ गएका थिए । जङ्गबहादुर पनि उनलाई पछ्याउँदै त्यता गएका थिए ।

सिकार टोलीले एउटा जङ्गली हात्तीलाई समात्नुपर्ने भयो । यो काम खतरनाक थियो । हात्तीको खुट्टालाई मोटो र अति बलियो डोरीले बाँध्नुपर्ने र अर्को त्यस्तै बलियो डोरीको फन्दा बनाई हात्तीको गर्धनमा बाँध्नुपर्ने थियो । यसमा अलिकति मात्रै कमजोरी हुन पुगे ठुलो विध्वंसको अवस्था आउन सक्थ्यो । यस्तो आँट कसैले गर्न सकिरहेको थिएन ।

यस्तो अवस्थामा पासो र फन्दाको डोरी आफ्नो हातमा लिएर हात्तीलाई लतार्दै एकाएक जङ्गबहादुर राजा राजेन्द्रविक्रमको सामुन्नेमा देखा परे । त्यसपछि राजाबाट उनको बारेमा सोधीखोजी हुँदा एक हजुरियाले “काजी बालनरसिंह कुँवरको छोरा जङ्गबहादुर कुँवर, लप्टनी दर्जा पाई बिनाकसुर बर्खास्त गरिएको” भनी उनको परिचय गराए । त्यसपछि उनले राजाबाट एकै पटक तोपखानातर्फ कप्तान दर्जामा नियुक्ति पाए (पुरुषोत्तमशमशेर जबरा, ‘श्री ३ हरूको तथ्य वृत्तान्त’–२०६५ः७) । एक पटक काठमाडौँ सहरमा उत्पात मच्चाउने एक बौलाहा हात्तीलाई नियन्त्रणमा लिई सहरवासीको जनधनको सुरक्षा गरेर जङ्गबहादुरले ठुलै पराक्रम देखाएको पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ को सङ्ख्या २५ (कात्तिक २०३०:८) मा पढ्न पाइन्छ । 

राजकीय उपहार

नेपाल विभिन्न टुक्रामा विभाजित भएर रहेको अवस्थामा हात्ती हुने एक राज्यले अर्को राज्यलाई आफूलाई सरसहयोग गरेबापत उच्च सम्मानका साथ हात्ती उपहार दिने चलन थियो । खास गरी हात्ती उपलब्ध हुने सेन राज्यबाट यस्तो उपहार प्रदान गरिन्थ्यो । त्यस बेला सेनहरूले चर्चेको राज्यमा हात्ती हुने भावर क्षेत्रको भाग पनि पथ्र्यो । बिक्री गरेर धन जम्मा गर्न र आफूभन्दा शक्तिशाली राज्यलाई खुसी बनाउन सेन राजाहरू हात्तीको लेनदेन गर्थे । 

त्यस बेला सेन राजाहरू धनी राजा कहलिन्थे । आफ्नो राज्य अन्तर्गतको भावर क्षेत्रको जङ्गलमा प्रशस्त हात्ती हुनाले तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेन काठमाडौँ उपत्यकाका मल्ल राजाहरूलाई हात्ती खेदा गर्न दिएर शुल्कका रूपमा रुपियाँ बुझ्ने गर्थे । यिनी आफूले पनि खेदा गराई उम्दा उम्दा हात्तीहरू आफ्नो हात्तीसारमा राखी अरू हात्ती मुगलानियाँ धनाढ्यहरूलाई बेच्थे ।  सेन राजाले मुगल बादसाहलाई सन्तुष्ट गराउन हरेक वर्ष १४ हात अग्लो हात्ती नजराना चढाउनु पथ्र्यो । त्यति अग्लो हात्ती चढाउन नसक्ने राजाले हात्तीको सट्टा १०/१२ हजार रुपियाँ पटनामा रहेका मुगल हाकिमलाई दिनुपथ्र्यो (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’–२०६१:९२) ।

कुनै समय मकवानपुरका राजा शुभ सेनलाई सङ्कट आइलागेको थियो । उनको राज्य मकवानपुरमा शत्रु आइलागेका थिए । विसं १७२८ असारमा उनको सहयोगका लागि जगे बानियाँलाई लिएर पाटनका राजा श्रीनिवास मल्लका चार जना भारदार एक सय सैनिक जवानका साथ र गोरखाका मुरारी शाह आफ्ना दलबलसहित मकवानपुरमा लड्न पुगेका थिए । उनीहरूले त्यहाँबाट शुभ सेनका शत्रुहरूलाई हटाए । यस सहयोगबापत खुसी भएर शुभ सेनले पाटन र गोरखालाई एक–एक वटा हात्ती उपहार दिएका थिए । यस्तै विजयपुरले आफ्नो राज्यको केही भाग कब्जा गरिदिँदा त्यो खोस्नका लागि उनले विसं १७३१ मा कान्तिपुर, भादगाउँ, पाटन र तनहुँको संयुक्त सैनिक दलको सहयोग लिनु परेको थियो । यो दलले विजयपुर राज्यक्षेत्रभित्र पर्ने रावादेखि हलेसीसम्मका सत्र गाउँ कब्जा गरी फिर्ता लिएको थियो । यसको बदलामा शुभ सेनले सहयोगी राज्यहरूका लागि चार वटा हात्ती उपहार पठाएका थिए (ज्ञानमणि नेपाल, ‘नेपालनिरुपण’–२०५५:२९१) ।

गोरखा राज्यमा पहिलो हात्ती

त्यस बेला गोरखा राज्य सानो पहाडी राज्य थियो । यो राज्यका राजा शूर र लडाकु पक्कै थिए तर उनीहरूसँग प्रशस्त धनसम्पत्ति हुँदैनथ्यो । त्यसैले उनीहरूसँग हात्ती हुने कुरै भएन । यो राज्यमा पहिलो पटक विसं १६७८ मा उपहारका रूपमा हात्ती भित्रियो । दाजु लक्ष्मीनारायणसिंह मल्ल राजा नहुँदै उनीसँग छुट्टिएर विसंं १६७८ मा उनका भाइ सिद्धिनरसिंह मल्लले बालकै अवस्थामा ललितपुर लिए । उनको संरक्षण उनकी आमाले गरेकी थिइन् । त्यो बेला सुनकोशीको सिरान कुति र त्रिशूलीको सिरान केरुङको बाटो गरी आउने नुन कान्तिपुरमा पनि आउँथ्यो । त्यहीँ नुन ललितपुरले पनि पाउँथ्यो । 

कान्तिपुरबाट ललितपुर छुट्टिएपछि यदि कान्तिपुरबाट नुन रोकिएको खण्डमा खतरा आइपर्ने थाहा पाएकी बालक राजा सिद्धिनरसिंहकी आमा र मन्त्रीहरूले गोरखाली राजा राम शाहसँग वाणिज्य सन्धि गरेका थिए । यो सन्धिमा आवश्यक परेमा गोरखाबाट लामीडाँडाको बाटो हुँदै नुन उतार्ने बन्दोबस्त गरिएको थियो । वाणिज्य सन्धिपछि ललितपुरका राजाले खुसी भएर राम शाहलाई एउटा हात्ती उपहार पठाए । गोरखामा पुगेको त्यो नै पहिलो हात्ती थियो (आचार्य, २०६१:११–१२) ।

पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भएको थियो तर यो विवाह अत्यन्तै विवादित हुन पुग्यो । विवाह गरी अन्माइसकिएकी राजकुमारीको डोला लिन पृथ्वीनारायण शाह दुई पटक मकवानपुर पुगे तापनि उनी खाली हात फर्कन परेको थियो । ससुरालीबाट रित्तो हात फर्कनुपर्दा उनले आफूलाई अपमानित महसुस गरेका थिए । 

मकवानपुरका युवराज दिग्वन्धन सेन र मन्त्रीहरूले पहाडी राजा भनेर उनलाई हेप्नसमेत खोजेका थिए । त्यसको इखैले उनले ठुलो राज्यको राजा बन्ने सपना त्यस बेलैदेखि बुन्न थालेका थिए । पृथ्वीनारायण शाहको इन्द्रकुमारीसँग विवाह हुँदा उनीहरूलाई हात्तीमा चढाइएको थियो । हीराको हार पहिराइएको थियो तर मकवानपुरका राजाले तत्कालै डोला नदिने भएपछि उनले आफूहरूलाई चढाइएको हात्ती र बेहुलीलाई पहिराइएको हीराको हार पनि माग गरेका थिए । 

बाबुराम आचार्य र योगी नरहरिनाथले सम्पादन गरेको ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’ (२०६१:३०–३१) मा “मेरो विवाह मकवानपुरमा भयाको थियो. डोला सुम्पेको थिएन. र डोला पनि लैयाउ. नेपाल पनि देषि आउ भनि मकवानपुर गँञु र पुग्यपछि दिकवन्दनसेनलाइ यवटा कुराको करेउलि लिएर भने. यकदन्ता हाति र नवलाषि हिराको हार दिन्छौ भने डोला पनि लैजाला. दिन्न भन्या काढि तरवारसित पनि लैजाला भनि हाक पारि” भन्ने उल्लेख हुनुले यसको पुष्टि गर्छ ।

विसं १८३१ साउनमा अभिमानसिंह बस्नेतको नेतृत्वमा गोरखाली सेना विजयपुर पुगेको थियो । त्यहाँका हर्ताकर्ता चौतरिया बुद्धिकर्ण राय अङ्ग्रेजसँग गुहार माग्न पूर्णियातिर पलायन भएका थिए । त्यहाँका अन्तिम राजा कर्ण सेन पनि सुन राय, कुम रायलगायतका लिम्बू मन्त्रीलाई विजयपुर जिम्मा लगाएर पूर्णियातिर हिँडे । गोरखालीहरूले उनी सुन राय, कुम रायलगायतसँग सम्झौता गरी विजयपुर आफ्नो हातमा लिए ।

त्यस बेला पृथ्वीनारायण शाह बुद्धिकर्ण राय जीवितै रहेकाले उनीबाट सम्भावित प्रत्याक्रमणबारे आफ्ना सेनापतिलाई सचेत गराउँदै रहेका थिए । यसै क्रममा उनले विसं १८३१ असोज वदी १० मा विजयपुरमा रहेका गोरखाली भारदारहरू अभिमानसिंह बस्नेत, पारथ भण्डारी, कीर्तिसिंह खवास, बलि बानियाँलाई लेखेको पत्रमा बुद्धिकर्ण रायलाई कुनै हालतमा पनि पक्रेर मार्नू र उसको हात्ती तथा माउतेलाई खर्च गरेरै भए पनि कब्जामा लिएर ल्याउन आदेश दिइएको छ । 

पत्रमा “उप्रान्त बुधीकर्नको हाती राम्रो छ अरे हाती माहुतलाई लाएर वहाँको माहुत कमाइ कन सय ४।५ रूपया कबोलिकन सो हाती चोरी ल्याउन पठाउन्या हो माहुतले चोरी ल्याउ भन्या त केही बेर छैन यी माहुतका कुल कविला त हाम्रै देशका हुनन् केही कबोली षातीरजामा दिकन पनि त्यो काम गर...” भन्ने परेको छ (शिवकुमार श्रेष्ठ, ‘लिम्बुवानको ऐतिहासिक अध्ययन’–२०५२ः१३२–३३) ।

गोरखाली राजाले महत्वपूर्ण पदमा आफ्ना मानिसलाई नियुक्त गर्दा पनि सम्मानस्वरूप हात्ती उपहार दिने गरेको थिए । राजा प्रतापसिंह शाहले विसं १८३२ साउन वदी ५ मङ्गलबार आफ्ना काका दलमर्दन शाहलाई सुब्बा मानमा नियुक्त गर्दा दरोगाहरू गङ्गाधर र लक्ष्मीनारायणका साथै अन्य भारदारहरू धरणी पन्थ र सर्वजित रानालाई बोधार्थ दिँदै सम्मानस्वरूप हात्ती प्रदान गरेका थिए (दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क १७–वैशाख–असार २०२५:२९) ।

मूल्य सात सय

विसं १८४८ मा नेपालको चीन र तिब्बतसँग ठुलो युद्ध भएको थियो । एक वर्षपछि दुवै पक्षबिच सन्धि सम्पन्न भयो । सन्धिको एक सर्त अनुसार हरेक पाँच वर्षमा नेपालको एक दूत मण्डल सरसौगातसहित ल्हासा हुँदै पेकिङ (बेइजिङ) जानुपर्ने भयो तर एक पटक दुई वर्षअघि नै चीनको बादसाहले निम्तो गरेकाले विसं १८५२ मै काजी नरसिंह गुरुङको नेतृत्वमा एक दूत मण्डल चीन गएको थियो ।

चीन जाँदा यो दूत मण्डलले महत्वपूर्ण सौगातस्वरूप चिनियाँ बादसाहलाई उपहारका लागि १९ प्रकारका साधारण र ३१ प्रकारका विशेष उपहार लगेका थिए । बादसाहका लागि उपहारका रूपमा हात्ती र घोडा पनि लगिएको थियो । तराईतिरबाट लगिएका यी हात्ती र घोडाहरू भुटानको बाटो पक्रेर ल्हासा हुँदै पेकिङ पु¥याइएको थियो (डा. विजयकुमार मानन्धर, ‘प्राचीन नेपाल’ सङ्ख्या १४५–असार २०५७ः९) ।

यसरी पठाइएका हात्तीमध्ये एउटा हरिनन्दन उपाध्यायसँग मागिएको थियो । हरिनन्दनका सन्तति बलराम पोखरेलको सौजन्यबाट प्राप्त यससम्बन्धी विसं १८५२ साउन वदी २ शनिबार जारी भएको रुक्कामा चीनका बादसाहलाई सौगात पठाउन हात्तीसारमा हात्ती नभएकाले मझौला खालको हात्ती सुम्पिदिन आदेश दिइएको छ । चीनमा जाने दूत मण्डलले गरेको खर्च विवरणमा हात्ती र हात्तीको माहुतेको खर्च पनि डा. मानन्धरले प्रस्तुत गरेका छन् । सो अनुसार चीनका बादसाहका लागि लगिएका पाँच वटा हात्तीको मूल्य तीन हजार पाँच सय रुपियाँ देखाइएको छ भने हात्तीका माहुतेको बक्सिसका लागि २३७ रुपियाँ खर्च भएको देखाइएको छ (मानन्धर, २०५७:१२ र १६) । यसबाट हेर्दा त्यतिखेर प्रचलित सरकारी मूल्य अनुसार एउटा हात्तीको सरदर सात सय रुपियाँ परेको देखिन्छ । 

त्यो समयको सात सय रुपियाँ निकै ठुलो रकम हो । त्यो समय दरबारले हात्ती पक्रनका लागि विभिन्न ठाउँमा आदेश दिने गरेको थियो । हरेक वर्ष हात्ती पक्रेर दरबारमा बुझाउनुपर्ने र त्यो बुझाउन नसके तोकिएको मूल्य अनुसार दरबारमा रकम बुझाउनु पथ्र्यो ।  इतिहासकार भगिराज इङ्नामको सौजन्यबाट पङ्क्तिकारले यससम्बन्धी एउटा रुक्का प्राप्त गरेको छ । विसं १८८५ जेठ वदी ३ शुक्रबार तत्कालीन राजाबाट नवलपुरका जमिनदार तथा चौधरीहरूको नाममा जारी भएको रुक्कामा हरेक वर्ष हात्ती पक्रेर बुझाए छ सय रुपियाँ मिनाहा हुने र हात्ती बुझाउन नसके छ सय रुपियाँ तिर्नुपर्ने उल्लेख छ । हात्तीबारे इतिहासको यस्ता कुरा गर्दा अहिले दन्त्यकथा जस्तै लाग्छ । 

Author

राजकुमार दिक्पाल