• १४ मंसिर २०८१, शुक्रबार

इन्द्रमाया कुसुन्डाको धोको पूरा

blog

तनहुँ समाचारदाता 

तनहुँ, भदौ ९ गते । तनहुँको व्यास नगरपालिका–१०, डिहीगाउँको कुसुन्डा परिवारकी इन्द्रमायाको सरकारी जागिर खाने धोको पूरा भएको छ। व्यास नगरपालिकाले साउन १ गतेदेखि सरसफाइ कुचीकारका लागि जागिर दिएपछि सरकारी जागिर खाने इन्द्रमायाको इच्छा पूरा भएको हो। 

पढ्न लेख्न नआए पनि आफ्नो क्षमता अनुसारको सरकारी जागिरका लागि उहाँले चिनजानका जनप्रतिनिधिसँग पटक पटक हारगुहार गरिरहनुभएको थियो। आफू र छोरीसहित दुई जनाको परिवार चलाउन उहाँलाई आर्थिक अभाव भएको थियो। छ वर्षअघि श्रीमान् गुमाएकी उहाँले सरकारी जागिर पाउँ भनेर पटक पटक माग गर्नुभएको थियो। 

तनहुँ जिल्लामै लोपोन्मुख कुसुन्डा जातिको व्यास नगरपालिका–१०, डिहीगाउँमा इन्द्रमाया कुसुन्डाको परिवार मात्रै छ। यहाँको एक मात्र कुसुन्डा परिवारकी इन्द्रमाया सरकारी जागिरको आसमा बसेको समाचार गोरखापत्रमा छापिएको थियो। उहाँले आम्दानी नहुँदा जीवन धान्नसमेत कठिन भएको बताउनुभएको थियो। पछाडि परेका वर्ग, जातिलाई सरकारले सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले राउटे जस्तै कुसुन्डा पनि जङ्गलमा बस्ने जाति भएकाले सहयोग गर्नुपर्ने माग राख्नुभएको थियो।  

जागिर पाएपछि बिरामी हुँदा औषधि गर्न, साँझबिहान हातमुख जोड्न सहज हुने इन्द्रमायाले बताउनुभयो। इन्द्रमायाले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेसमक्ष निवेदन दिएको र जागिर पाएकाले खुसी लागेको बताउनुभयो। जागिर नहुँदा आफ्नो परिवारलाई छाक टार्न धौ धौ भएको दुःखेसो गरेपछि जागिरको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। दैनिक सात सय रुपियाँ पाउने गरी जागिरको व्यवस्था गरिएको उहाँले बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले सरसफाइ शाखाको जनशक्ति अभाव भएपछि इन्द्रमायालाई राखिएको उहाँले बताउनुभयो। 

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका निवर्तमान अध्यक्ष वसुन्धरा घर्तीले इन्द्रमायालाई व्यास नगरपालिकाले जागिर दिएर उदाहरणीय काम गरेको बताउनुभयो।