काठमाडौं, भदौ ८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने भएको छ ।
जसपा प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरुलाई खटाउन लागिएको हो । नेताहरुले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर सङ्गठन विस्तारका कार्यक्रमहरु सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।
साथै नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्तालाई प्रशिक्षित गरिनेछ । यस अवधिमा सङ्गठनको अभिलेख सङ्कलन र सदस्यता वितरण कार्यसमेत हुनेछन् । सोही बमोजिम पार्टीले शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहहरुमा प्रशिक्षण कार्यक्रम गर्दै छ ।