गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ८ गते । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपाली राजनीतिमा पछिल्लो समय घृणा, खुट्टा तानातान, गालीगलौज जस्ता गलत संस्कृति बन्दै गएको बताउनुभएको छ । काठमाडौंंमा आयोजित एक कार्यक्रममा शुक्रबार उहाँले सो कुरा बताउनुभएको हो ।
नयाँ पार्टीहरुप्रति लक्षित गर्दै उहाँले अहिले राजनीतिक गालीबाट युवापिँढीमा गलत असर पुग्ने उहाँको भनाइ छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्न नसकेका कारण वाम शक्तिहरु तितरबितर भएको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालले के गुमायो भन्दा शिक्षाक्षेत्रमा मात्र १० वर्षमा भइसक्ने काम पनि भएन । पाँच वर्षमा भइसक्ने हाम्रो सार्वजनिक शिक्षा गुणस्तरीय भइसक्ने निजी र सार्वजनिक शिक्षाको विभेद हटिसकेको हुने भनिए पनि त्यो भएन ।’
राजनीतिमा अहिले घृणित संस्कृति हाबी भइरहेको उहाँको भनाइ छ । यही संस्कृतिका कारण अन्य विकासमा असर पुगेको उहाँले चर्चा गर्नुभयो । गठबन्धनमा काँग्रेससँगै आफूहरु रहे पनि काँग्रेस आफूहरुको सिद्धान्त नभएको र गठबन्धन आफूहरुको भाग्य भविष्य नभएको पनि उहाँले बताउनुभयो ।