• १२ मंसिर २०८१, बुधबार

चुलाचुलीमा १५ शय्याको अस्पताल निर्माण

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), भदौ ८ गते । दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ । उक्त भवन निर्माण नहुँदै गाउँपालिकाले आफ्नै भवनमा अस्पताल सञ्चालन गरेर बिरामीलाई निशुल्क उपचार र औषधि वितरण गर्दै आएको छ । 

गाउँमै विभिन्न रोगको उपचार पाएका स्थानीय गाउँपालिकाको कार्यको प्रशंसा गर्न थालेका छन् । गाउँपालिकाको आफ्नै भवनमा सञ्चालित अस्पतालबाट स्वास्थ्य बीमा सुविधासमेत सुरु भएपछि स्थानीयलाई सहज भएको हो । गाउँमा अस्पताल नहुँदा झापाका विभिन्न स्थानमा उपचारका लागि धाउनुपर्ने स्थानीयले गाउँमै अस्पताल सञ्चालनपछि धेरै राहत मिलेको बताएका छन् ।

चुलाचुलीका ३ का बाबुराम अधिकारीले गाउँमा अस्पताल नहुँदा दमकका विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता भएको बताउनुभयो । उहाँले दमक गएर अस्पतालमा पालो कुर्दै दिन जाने गरेकोमा अहिले सहज भएको बताउनुभयो । अस्पतालमा बिशेषज्ञको सेवा सुरु भएपछि स्थानीयको भिड लाग्ने गरेको छ । 

दिनहुँ एक सय बढी बिरामीले सेवा अस्पतालले प्रदान गर्दै आएको छ। अस्पतालमा नसर्ने रोगका बिरामी प्रेसर, सुगर, थाइराइड, मुटु जस्ता बिरामीको चाप रहेको चिकित्सकको भनाइ छ । डेंगुको समस्या गाउँमा देखा परेकाले ज्वरो र खोकीको समस्या लिएर धेरै बिरामी आउने गरेका छन् । डा. कटुवालले विगत सात महिनादेखि गाउँपालिकामा अस्पताल सञ्चालन भएको उक्त समयदेखि नै स्वास्थ्य बिमा लागू गरिएको जानकारी दिनुभयो ।

जटिल प्रकारका बिमारीलाई अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भए त्यो सुविधासमेत उपलब्ध गराइएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले स्वास्थ्य बिमा कार्यक्रमको सुरु भएदेखि नै नागरिकले स्थानीय सरकारको महसुस गर्न थालेको बताउनुभयो । अशक्त अपाङ्ग र सुत्केरी महिलालाई दिनुपर्ने सेवा वर्षौंदेखि इलामबासी भएर पनि झापामा लिन जानुपर्ने बाध्यता अस्पताल निर्माणपछि हटेको उहाँको भनाइ छ । पूर्ण रुपमा उपकरण ल्याएर अस्पताल सञ्चालन भएको र आफ्नै फार्मेसीबाट औषधि उपलब्ध गराउने गरेको जानकारी केरुङ्गले दिनुभयो । 

गाउँपालिका बासीलाई आधारभूत स्वास्थ्य उपचार पालिकाभित्रै उपलब्ध गराउने उद्देश्यले अस्पताल सुरु भएको बताइएको छ । अहिले गाउँपालिकामा रहेको अस्पताल पाँच शय्याको छ । चुलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणाधीन अवस्थामा छ । उक्त भवन सम्पन्न भएपछि सोही स्थानबाट सेवा सुरु गर्ने गाउँपालिकाको लक्ष्य  छ । बाह्रगोठेमा निर्माण भएको आधारभूत अस्पताल पाँच करोड २० लाखको लागतमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।