• ११ पुस २०८१, बिहिबार

गाईजात्रे कार्टुनका ती दिन

blog

कार्टुन मन नपराउने को पो होला र ? तर समय सन्दर्भले कार्टुन बुझाउने मानक भने परिवर्तन हुँदै आएको छ। हिजो बाबुको समयमा कार्टुन पत्रपत्रिकामा छापिने व्यङ्ग्यात्मक चित्र थियो भने आजका युवा र बालबालिका कार्टुन भन्नासाथ टेलिभिजनको पर्दामा देखिने एनिमेटेड रेखाचित्रलाई बुझ्दछन् । अझ प्रहसनको समयलाई नियाल्न नपाएकाहरू मुख बङ्ग्याएर टेलिभिजन, युट्युब वा अन्य सामाजिक सञ्जालमा देखिने पात्रलाई समेत कार्टुन वा कार्टुनिस्टका रूपमा बुझ्न पुग्छन् । यहाँ कार्टुनको व्याख्याभन्दा पनि कार्टुन अर्थात् व्यङ्ग्यचित्र र यसको गाईजात्रासँगको सम्बन्धका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । 

गाईजात्रा विशेषतः नेवार समुदायको विशेष पर्व मानिएको छ। यद्यपि अचेल गैरनेवारका लागि पनि गाईजात्रा विशेष छ। नेपालको कुनाकाप्चामा रहेका नेवारले गाईजात्रा मनाइरहँदा गैरनेवारहरूको समेत यो जात्रामा सक्रिय सहभागिता रहन्छ । 

प्रताप मल्लको पालामा दुःखबाट मुक्त हुन र समाजमा धेरै दुःखी रहेको सन्देश दिने गरी सुरु गरिएको यो जात्रा कालान्तरमा आएर समाजका विकृति विसङ्गतिलाई मात्र नभई राजनीतिलाई समेत प्रहार गर्ने गरी ‘प्रयोगमा’ आउन थाल्यो। यस कारण पनि गाईजात्रा र कार्टुन अर्थात् व्यङ्ग्यचित्रको विशेष महìव आजपर्यन्त  छ। 

कार्टुन चित्रको ऐतिहासिक पृष्ठभूमिलाई नियाल्दा बेलायतको संसद् भवन बन्दा सन् १८४०/४१ तिर उक्त भवनलाई व्यापक रूपमा सजाउन त्यहाँ लोप हुन लागेका भित्तेचित्रलाई प्रोत्साहन गर्न त्यहाँ भव्य सजावटका लागि चित्रकारबाट भित्तेचित्रसम्बन्धी नमुना आह्वान गरिएको थियो। त्यस बेला कार्टुनको अर्थ भित्तेचित्र बनाउँदा उक्त चित्रको नमुनालाई भनिन्थ्यो। 

कालान्तरमा यो विधालाई मान्छेले यसरी मन पराए कि यो विधाले विश्वव्यापी स्वीकार्यता पायो। पत्रिका पढ्ने हरेकजसोका लागि रमाइलो र ज्ञानवर्धक खुराकका रूपमा कार्टुन बन्न पुग्यो।

विश्व व्यङ्ग्यचित्रको इतिहास हेर्दा ओनोरे दोमिय, (फ्रान्स सन् १८०८–१८७९) को नाम उल्लेख गर्नैपर्ने हुन्छ। उनी विशेषतः प्रभाववादी कलाकार र लिथोग्राफर पनि थिए। उनका लिगोग्राफहरू तत्कालीन राजनीतिक एवं सामाजिक घटनाको अमूल्य ऐेतिहासिक दस्ताबेजका रूपमा रहेका छन्। सन् १८३३ मा ‘ला क्यारिकेचर’ पत्रिकामा राजा लुई फिलिपलाई ‘गुर्गातुवा’ अर्थात् हन्तकाली राक्षसका रूपमा कार्टुन बनाई छपाएका कारण उनलाई कारावासको सजायसमेत दिइएको थियो। 

सन् १८३५ मा दोमियको राजनीतिक व्यङ्ग्यचित्रमाथि फ्रान्स सरकारले प्रतिबन्ध नै लगायो। प्रतिबन्धसँगै व्यङ्ग्यचित्रमाथि निकै टीकाटिप्पणी हुन थाल्यो र यसले अझै व्यापकता पायो ।

छिमेकी इन्डिया होस् वा हाम्रै नेपाल, कार्टुनकला जन्मने अवसर राजनीतिबाटै भएको पाइन्छ। २००७ सालअघि चन्द्रमानसिंह मास्के वा २०१४ साल ताका गोवद्र्धनविक्रम शाह, उनीहरूले कार्टुन राजनीतिक विषयबाट प्रभावित भएरै बनाएका थिए। आफ्ना कुरा व्यङ्ग्यचित्रमार्फत राख्थे र समाजमा सूचना र संवेग पैदा गर्थे। यस मानेमा गाईजात्रा पर्व नेपाली समाजका लागि व्यङ्ग्य मिसिएको सूचनाको स्रोत थियो भने कलाकारका लागि सुवर्ण अवसर। 

पञ्चायती व्यवस्थामा समेत कलाकारले पञ्चायतको विरोधमा कार्टुन प्रकाशित र प्रदर्शन गर्थे। सो प्रदर्शनी हेर्न राजपरिवारकै सदस्यहरू दर्शकका रूपमा पुगेको कुरा हामीले पढ्दै सुन्दै आएकै हौँ। यो प्रदर्शनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको गाईजात्रा विशेष कार्यक्रममा हुने गरेको इतिहास हामीमाझ छ। २०३३ सालदेखि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले गाईजात्रा महोत्सवको आयोजना सुरु गरेको हो। सो प्रतियोगितात्मक महोत्सवमा प्रहसनका अतिरिक्त कार्टुन पनि प्रदर्शित हुन्थ्यो। गाईजात्राका अवसरमा विभिन्न पत्रपत्रिकामा प्रकाशित कार्टुनमध्येबाट छानेर उत्कृष्टलाई पुरस्कृत गरिन्थ्यो। सो कार्टुन प्रदर्शनीको चाँजोपाँजो युवा कलाकार समूहले गर्दथे। 


गाईजात्राको सांस्कृतिक र ऐतिहासिक महत्व जति छ कलाकार र व्यङ्ग्यकारका लागि त्यत्ति नै महìवपूर्ण पर्व पनि हो यो। माथि उल्लेख गरिए जसरी कलाकारले अन्य समयमा कार्टुन वा प्रहसन देखाउँदा राज्यबाट खप्की खानुपर्ने वा दण्डित हुनुपर्ने अवस्था थियो भने यो जटिलता गाईजात्रामा केही लचिलो हुने गर्दथ्यो। यसै कारण पनि होला गाईजात्रा पर्वमा हरेक वर्ष कलाकारले आफ्नो सिर्जना/प्रस्तुति पस्कने गर्दथे। 

गाईजात्रालाई नै आधार बनाएर पञ्चायतकालमा विभिन्न पत्रपत्रिका पनि प्रकाशन हुने गर्थे। जसमा २०४१ सालबाट प्रकाशित भाँडभैलोको विशेष स्थान छ। यो पत्रिकामा सामाजिक, आर्थिक, भ्रष्टाचार आदि जस्ता सामाजिक विकृतिको विषयका साथै राजनीतिक विषयका कार्टुन पनि प्रकाशित हुन्थ्यो। ‘युवा कलाकार समूह’ को संयोजनमा प्रकाशन हुने यो पत्रिकामा तत्कालीन समयका सबै जसो कार्टुनिस्टका अतिरिक्त नवकलाकारले पनि कार्टुन प्रकाशन गर्थे। 

भाडँभैलो २०४७ सालसम्म निरन्तर प्रकाशित भयो र प्रजातन्त्रको उदयसँगै विडम्बना मान्नु पर्छ बन्द हुन पुग्यो। सो पत्रिकामा शशी शाह, दुर्गा बराल, उज्ज्वल कुन्दन ज्यापु, शरद रञ्जित, मोहन खड्का, नवीन्द्रमान राजभण्डारी, उत्तम खरेल, श्यामलाल श्रेष्ठ, धिरेशकुमार दहाल ‘डिकेड’, रवि श्यामी, गौतम मानन्धर जस्ता प्रतिभावान् कलाकारको प्रत्यक्ष संलग्नता थियो। समूहका कलाकार मिलेर लगभग एक महिना एकै थलोमा बसेर कार्यशालाका रूपमा कार्टुन तयार पार्थे र डिजाइन आदि सकेर बजारमा पु-याउँथे। 

गाईजात्रे पत्रिकाका रूपमा कामना प्रकाशन समूहको ‘कामना गाईजात्रा विशेष’ अङ्कको पनि महìवपूर्ण योगदान रहेको छ। अन्य पत्रिका केही समय प्रकाशनमा आएर बन्द भए पनि कामनाले भने आफ्नो प्रकाशनलाई निरन्तरता दिई आजसम्म प्रकाशन हुँदै आएको छ। यसका अतिरिक्त विभिन्न समयमा गाईजात्रालाई केन्द्रमा राखेर विभिन्न पत्रपत्रिका प्रकाशन भएका छन्। २०३५ सालमा रचना साहित्यिक पत्रिकाले गाईजात्रे अङ्क प्रकाशित गरेको थियो। त्यस्तै हातेमालो, मुस्कान जस्ता पत्रिकाले पनि गाईजात्राको सन्दर्भ पारेर कार्टुन विशेष प्रकाशन गरेका छन्। मधुपर्क जस्तो साहित्यिक पत्रिकाले पनि गाईजात्रा विशेष प्रकाशन गरेको थियो। यसै गरी सिद्धार्थ आर्ट ग्यालरीले पनि गाईजात्राको अवसरमा कार्टुन प्रदर्शनी गरिसकेको छ।

यसबाहेक अन्य बेलामा र गाईजात्रालाई टेकेर विभिन्न प्रकाशन/प्रदर्शनी भएका छन्। २०३८ सालतिर पार्क आर्ट ग्यालरीमा पनि कार्टुन कलाको प्रदर्शनी भएको कुरा यहाँ स्मरणीय हुन जान्छ। हास्यव्यङ्ग्य समाज नेपाल (हासने) ले अन्तर्राष्ट्रिय व्यङ्ग्यचित्र प्रदर्शनी गरेको थियो। कुलमानसिंह भण्डारीले पनि विभिन्न स्थानमा राजनीतिक–सामाजिक चेतना पस्कने औजारका रूपमा कार्टुनलाई प्रयोग गर्दै प्रदर्शनी गरेका थिए। 

२०४६ सालमा नगेन्द्रप्रसाद पौड्याल, गोपाल कलाप्रेमी, राजु नेपाल, ज्ञानेश्वर उदय, देवप्रकाश त्रिपाठीलगायतका छ जना मिलेर भद्रगोल पत्रिका निकालेका थिए। अन्य प्रकाशनमा मिलनरत्न शाक्य, धर्मराज बराललगायतले पनि कार्टुनसम्बन्धी पुस्तक तथा पत्रिका प्रकाशन गरेको इतिहास छ। 

राजनीतिक व्यवस्थामा परिवर्तन भई नेपालमा प्रजातन्त्रको उदयसँगै धेरै पत्रपत्रिका प्रकाशनमा आए। यी पत्रपत्रिकाले नियमित रूपमा कार्टुन छाप्ने गरेकै छन्। गाईजात्राका अवसरमा कार्टुनको विशेष सँगालो वा गाईजात्रा विशेष पनि प्रकाशित गर्ने गर्छन्। यद्यपि समयको बेगसँगै अहिले पहिलाको जस्तो गाईजात्रमा कार्टुनका पत्रिका निस्कन कम भएको छ। 

अचेल प्रकाशनमा भन्दा प्रसारण र सामाजिक सञ्जालमा कार्टुनको व्यापकता बढी देखिन्छ। तैपनि नेपालमा कार्टुन र गाईजात्राको सम्बन्ध नङ र मासुकै जस्तो छ। 


Author

केशवराज खनाल