• १२ मंसिर २०८१, बुधबार

समाजवादको गन्तव्यहीन यात्रा

blog

राजनीतिक क्रान्ति समयले ल्याउँदो रहेछ । रहरले होइन रहेछ । नेता पनि समयले जन्मँदो रहेछ, रहरले होइन रहेछ । अब अकल्पनीय क्रान्ति  जन्मँदै छ । नेपालको राजनीतिक, आर्थिक, सामाजिक र न्यायिक समाजले त्यस्तो बोध गराउँदै छ । जताततै जाततन्त्र, धर्मतन्त्र, प्रशासनतन्त्र, राजनीतिकतन्त्र, अपराधतन्त्र मौलाएको देखिन्छ । ठुला परिवर्तन भए । नैतिक परिवर्तन भएन । सायद हाम्रो संरचना कमजोर छ । प्रजातन्त्रले सही समाजवादी बाटो समातेको भए सम्भवत राजनीतिक अपराध र सामाजिक विसङ्गति देखा पर्ने थिएन । बहुभाषी समाज विभेदपूर्ण छ । प्रत्येक दिनको राजनीतिक झगडा, नाफा नोक्सानको हिसाबलाई राजनीतिक दल प्रजातान्त्रिक अभ्यास भन्छन् । हामी समाजवादको मार्गतर्फ दिशानिर्देश भएका छौँ भन्ने गफ भने गर्छौं । 

पार्टीहरूले समाजवाद भन्न पनि छोड्दैन । घोषाणापत्रदेखि निर्वाचनसम्म हरेक विकासका मोडेल देखाउँछन् । समाजवाद के हो ? त्यसको गम्भीर विश्लेषन गर्दैनन् । कुन समाजवादको मोडेल प्रयोग गर्ने हो ? त्यसको अर्थ पनि खोज्दैनन् । लामो समयको कार्य योजना बनाउँदैनन् । समाजवाद प्रजातन्त्रको नाममा चुनाव जित्ने र सम्पत्ति कमाउने राजनीतिक भ-याङ मात्र भए जस्तो देखिन्छ । सरकार भत्काउने उठाउने, कमिसन खाने, मान्छे बिक्री गर्ने खेलमा त समाजवाद फसेको छैन ? सामाजिक निराशाले समाजमा कुनै न कुनै आक्रोश जन्मन्छ । संसारमा देखापरेको हिंसा यस्तैयस्तै कारणले फैलिएको होला सायद । 

सरकार तीन तहमा छ । भौगोलिक दृष्टिले विकासको लामो रेखा कतै छैन । वैज्ञानिक आधारको निर्माण कोरिएको छैन । समाजवाद र प्रजातन्त्र अमूर्त रूपले देखा परेको छ । संसारमा समाजवादको अभ्यास धेरै प्रकारको देखिन्छ । सन् १८३० को दशकमा ब्रिटिसले प्रयोगमा ल्याएको प्रजातान्त्रिक समाजवाद थियो । यसको लक्ष्य समान अधिकार, शिक्षा, रोजगार, स्वास्थ्य थियो । सम्पत्तिको अधिकार जनतामा निहित थियो । प्रायः पश्चिमा प्रजातान्त्रिक समाजवादी भन्नेहरूले यसैलाई प्रयोग गरे । पछिल्लो समय यसको प्रभाव नेपाली कांग्रेसमा पार्टीमा देखियो । लामो यात्रा गरेको नेपाली कांग्रेस पार्टीले पनि समाजवाद ‘एप्पल कि सुन्तला’ छुट्याउन सकेन । नेपाली समाजशास्त्रको समस्या बुझ्ने कोसिस गरेन । क्रान्तिकारी भन्ने पार्टीले समेत बुझ्ने कोसिस गरेनन् । आजको युगमा मान्छे ब्रह्माको मुखबाट निस्केको जस्ता अश्लील पाठ धोकेर बसेका छन् । 

कमरेडहरू बाठा छन् । प्रगतिशील भन्न रुचाउँछन् । सुध्रन होइन कमाउन चाहन्छन् । साम्यवाद शब्द भन्न छोडेका छन् । माक्र्सलाई मोडेर आफू उभिन सजिलो व्याख्या गर्छन् – समाजवाद । माक्र्सले भनेका थिए –“म माक्र्सवाद होइन, माक्र्स हुँ  ।” अबको समाजवाद अधिनायकवाद हुन सक्दैन । बोल्सेभिक मोडेलको साम्यवाद १९८० को दशकमा ढलिसकेको छ । धरिघरी धतुरो खाएर उफ्रे जस्तो बोल्छन् हाम्रा नेता । आजको समाजवाद भनेको प्रजातान्त्रभित्र उत्पादन आर्थिक विकास र न्यायिक समानुपातिक, धर्मनिरपेक्ष समाज भन्न अझै हिच्किचाउँछन् । कम्युनिस्ट शब्द गतिशील बनाएका छन् । त्यसभित्र कामरेड वास्तविक समाजवाद खोज्न रुचाउँदैनन् । नेपालका कामरेड आफैँ धेरै बुझ्छन् । त्यसैले राजनीतिक स्वार्थमा फुट छन् । अनेक शक्तिको प्रभावमा पर्छन् । सामन्तवादी चिन्तनको ह्याङवोभर बोकेका छन्, अनि समाजवाद दलाल पुँजीवादी, नश्लीय, धार्मिकवाद, आफन्तवादको प्रजातान्त्रिक व्याख्याभित्र फसेको देखिन्छ । 

यसको उदारहण सरकारले नियुक्त गरेको हरेक भागबण्डाको घटनाले देखाउँछ । समाजवादी नियुक्ति देखिँदैन । पछाडि परेका समाजको विकासमा कुनै समाजवादी योजना जान्दैन । त्यो समाज आजतक राणाकालीन अवस्थामा छ । भारतीय विद्वान् एस.डी मुनिमले आजभोलि बारम्बार भन्ने गरेका छन्,– “नेपालका कम्युनिस्ट सबै ब्राह्मणवादी उच्च जातका छन् । नेपालको कम्युनिस्ट सबै नक्कली हुन् । सच्चा कम्युनिस्ट भएको भए नेपाल बदलिन्थ्यो । उनीहरू योजनाहीन छन् । वास्तवमा सबै कम्युनिस्ट सरकारमा आए तर समाजवाद विकासको रेखा कोरेनन् । माओवादी पार्टीले समाजको संरचना बदल्ने कोसिस गरेको हो तर राष्ट्रिय उत्पादनमा आँखा पु-याएको देखिएन । दलाल पुँजीवादीको अन्त्य भनेको समाजवादी क्रान्तिको अन्तिम बिन्दु हो भन्ने संश्लेषण रहेको देखिन्छ । समाजवादको क्रान्ति  गरेन । एक हिसाबले कम्युनिस्ट समाजवाद भन्नु र प्रजातान्त्रिक समाजवाद एकै सिक्काका दुई पाटा भएका छन् । यसरी राजनीति बुझेपछि सबै कामरेड जोसँग हुन्छ मिलेर सरकारमा बस्ने दाऊ बनाएको देखिन्छ । वैज्ञानिक माक्र्सवादी विश्लेषण आफ्नो अनुकूलको सुनाएपछि बुझे जस्तो गर्न करै लाग्ने भयो । 

विविध संस्कृति भएको समाजमा एकल शक्ति राज्य सत्तामा बसेर गफ चुट्ने, कुट्ने, छेक्नेबाहेक कसैले केही गरेको देखिँदैन । आफ्ना लागि गरेको होला तर देखिँदैन । सहरमा मोटर कुदेको देखेर विकास भयो भन्नु गलत हो । आजसम्म राणा र शाहहरूको १९१० को जातीय मुलुकी कानुनलाई जस्ताको त्यस्तै लागु गरिरहेछ । कसले न्याय पाएको छ ? 

काठमाडौँ बाहिरको कुरै छोड्यौँ । पानी छोएबापत कथित दलितले कथित माथिल्लो जातको पिटाइ खाएका छन् । प्रेम विवाह गर्दा कथित दलितको घर जलेको छ । घर भत्केको छ । यही हो त समाजवाद ? कुनै भाषालाई अर्बौं खर्च गरेर सरकार विश्वविद्यालय सञ्चालन गरिरहेछ । अन्य बहुभाषिक शिक्षामाथि अपमान गरिरहेछ । अरूको पहिचान मेटिरहेछ । आजको नैसर्गिक अधिकारमाथि एक जातले दमन गर्नु समाजवाद हो ? प्रजातन्त्र कि जाततन्त्र हो ? प्रसिद्ध समाजशास्त्री जि. यस. घुर्रे भन्छन् –“भारतमा ब्राह्मणवादीले अनेक गरे जात व्यवस्था सिर्जना गरेर अरूलाई दास बनाए । यसैलाई धर्म भने । यस्तो हिंस्रक अपमान हुँदा कामरेड र प्रजातन्त्रको बाबु भन्ने समाजवाद कतै बोल्दैन ? जुलुस गर्दैन् ? पार्लियामेन्टमा सुकिलो भएर बोलेका कुरा सबै नक्कली भएन र ? जडसुत्रवादी, धार्मिक कट्टरवादी, नश्लवाद, आजको समाजवादको बाधक हो । माक्र्सले भनेका थिए, “सामन्तवादको भ्रुणभित्र आफ्नै अन्त्य हुने वीर्य हुन्छ ।” समय निश्चित भएको देखिन्छ । उदाहरण राणा, शाहको अन्त्यको इतिहास प्रस्ट पारेको छ ।

प्रोफेसोर ग्राचु बाफेउले भनेका छन्, “समाजवाद भनेको उच्च वर्गमा उच्च कर लगाउनु, भ्रष्टाचार हटाउनु, पारदर्शिता हुनु, शिक्षा, स्वास्थ्य, रोजगारीमा सरकार लोक कल्याणकारी बन्नु, प्रजातान्त्रिक सरकारले ज्यामीको उचित ज्याला तोक्नु हो ।” हाम्रो समाजवादको बाटो अस्पष्ट छ । यस्ता आधारभूत राजनीतिक समाजवादको दिशा कोरिने सम्भावना देखिँदैन । उनी भन्छन्, “नेताले दीर्घकालीन कार्यदिशा दिँदैन, नीति निर्माण असम्भव देखिन्छ, आफ्ना लागि भए बनाउँछन् । अर्कोले भनेको समाजवादमा पुग्न सकिएन तर आफूले पनि बनाइएन । बाङ्गो कुरा गर्न नेताहरूलाई छुट नहुनुपर्ने हो । मान्छे महँगो उपचारको कारण मरेका छन् । पढ्न पाएका छैनन् । भात खान नपाएर आधा पेट बाँचेका छन् । जनताको समाजवाद कता छ ? प्रजातान्त्रिक समाजवाद छ ? छ त उच्च पदस्त कर्मचारीमा, नेताहरूमा छ । समाजवाद भनेको सबैको सम्मान हो । धनीको सन्तानबाहेक गरिबको सन्तानले इन्जिनियर, डाक्टर अध्ययन गर्न पाएको छैन । पाँच प्रतिशतले राज्यको सुविधा, समाजवाद उपभोग गरेका छन् । अरूका लागि प्रोफेसोर अलोनले भने जस्तो समाजवाद भनेको रातो रङ्ग हो, यसको कुनै अर्को रङ्ग हुँदैन । निर्विवाद रातो हो, रातो भइरहन्छ । यसलाई जसरी बुझ्ने र बुझाउने हो, त्यो आफैँमा भर पर्छ । नेपाली जनता यसरी नै समाजवाद बुझेका छन्– बाह्र छोरा तेह्र नाति आफ्नो भारी आफैँमाथि ।

नेपालका सबै राजनीतिक दलले समाजवादको कुरा उठाए तर मोडेल प्रस्ट पारेका छैनन् । नेपाली कांग्रेसको भर्सन बिपीकै छ तर आफैँ कार्यन्वयन गर्दैन । अमेरिकन सिनेटर सान्दरको भनाइमा –“अमेरिका जस्तो मुलुकमा पैँतीस प्रतिशत समाजवादको पक्षमा छ भने पैसट्ठी प्रतिशत मान्छे पुँजीवादी समाजवादको समर्थन गर्छन ।” हाम्रो देशमा कति प्रतिशतले साम्यवादी समाजवाद र कति प्रतिशत प्रजातान्त्रिक समाजवादमा विश्वास गर्छ थाहा छैन । एसडी मुनिले भने जस्तो नक्कली समाजवादी छौँ । हामी स्वार्थमा छौँ । यसको कारण हो– समाज जातीय सङ्कीर्ण, सामन्तवाद, दलाल पुँजीवाद र धार्मिक कट्टरताबाट मुक्त हुन सकेको छैन । समाजमा आफ्नो अस्तित्व स्थापित गर्न खोज्नेले शक्ति गुमाउनु चाहँदैन, देश दोस्रो कुरा हो । 

ब्रिटेनमा १९४५ जेनेरल इलेक्सनमा लेबर पार्टीले मल्टिपल समाजवाद प्रयोग गेरको थियो । आजतक कन्जरभेटिभ दलले पनि निरन्तर समर्थन गरेको देखिन्छ । देश खुला अर्थतन्त्र, निजी अर्थतन्त्रको सहभागिताबाट अवसर सिर्जना गर्ने हो । धनीलाई कर लगाउने हो । किसान र गरिबलाई मुक्ति दिने हो । एकै समयमा हामीसँगै स्वतन्त्र भएको देश भारत, चीन, बर्मा, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, कोरियाको विकास तीव्र भएको छ । हामी लाजै पचाएर मान्छे मरुभूमिमा बिक्री गरिरहेछौँ । मागेर खाइरहेका छौँ । जुन दिन जातीय नश्लीयतन्त्रको षड्यन्त्रबाट मुक्त हुन्छौँ, समाजवाद त्यसै दिन देख्न सक्छौँ । गणतन्त्र, धर्म निरपेक्ष स्थापित भए पनि अप्रजातान्त्रिक धार्मिक अहङ्कारबाट ग्रसित हुनु परेको छ । किसानको गोलभेँडा, सब्जी बिक्री भएको छैन । किसानका लागि उचित मूल्यमा बिक्री नै समाजवाद हो तर कोही समाजवादका हिमाइती बोल्दैन । मात्र केस फुलेको देखाउँछन् समाजवाद उटफट्याङको गफ गर्ने मोहनीमन्त्र भएको छ । 

समाजवादको कुरा गर्दा समाजशास्त्री हौवार्द फस्ट भन्छन्–“यो च्याउ जस्तो हो, बजारबाट ल्याई मिठो तरकारी बनाउन सकिन्छ तर जङ्गली च्याउ हो भनेर छुट्याउन खानै पर्छ, यो अवस्थामा मर्न पनि सकिन्छ ।” हामीलाई यस्तै भएको छ समाजवाद । कामरेडलाई सोधौँ साम्यवाद भन्न लजाई सके । कस्तो हो उनीहरूको समाजवाद उनैलाई थाहा छैन । प्रजातान्त्रिक नेतालाई सोधौँ कट्टर जाततन्त्रबाट मुक्त हुन सकेको छैन । बौद्धिक भनिएकाहरू सनातन धर्म भनेर कलेजमा घोकाउँछन् शक्ति तल जान दिँदैन । सामन्तको ठाँट देखाउँछन् । यस्ता सङ्कीर्ण विचारले देशको मुहार फेरिँदैन । विदेश पलायन हुनबाट युवा रोकिँदैन । भविष्य केही देख्दैन कसरी युवा बस्छन् ? भूमण्डलीकरणको कुरा गर्दै विदेशी आलु, प्याज, लसुन, चामल खाएर देश टाट पल्टने क्रम रोकिँदैन । यसको कारक तत्व शक्तिमा बस्ने जाततन्त्र नै हुन् । यस्तै समयमा हिटलर, स्टालिनको क्रान्तिलाई समाजवाद भनिएको रहेछ । हुन सक्छ क्रुस्चेब्को आँखामा स्टालिन अराजक, यहुदीको आँखामा हिटलर अराजक र त्यो समयले ल्याउने रहेछ ।

समाजवाद भनेको जताबाट आरोहण गरे पनि जनताका लागि सगरमाथा चढ्नु रहेछ । केही व्यक्तिका लागि त पुँजीवाद प्राप्त भइसक्यो समाजवादको मिठास चाखिसके । धेरैले अकालमा मृत्यु प्राप्त गर्नु, न्याय नपाउनु समाजवादको अर्को क्रान्ति  होला ।

  

Author

प्राडा विष्णु राई