• १२ मंसिर २०८१, बुधबार

गौरा पर्वको महत्व

blog

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्य हो । सगरमाथाको नामले विश्वमा परिचित पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको नेपालको मुख्य भाषा नेपाली हो । नेपालमा बोलिने सबै भाषा, धर्म र संस्कृतिका आआफ्नै विशेषता रहेका छन् ।

सयौँ थुँगा फूलका हामी, रङ्गी विरङ्गी अर्थात् विभिन्न भाषा, संस्कृति र धर्मले अनेकतामा एकताको सन्देश प्रवाह गरेको छ । हिन्दुहरूको जनसङ्ख्या सबैभन्दा बढी रहेको हाम्रो देश विभिन्न संस्कृतिको सन्देशले धर्म नैतिकता र विश्वासमा अडिएको छ । कला, धर्म, संस्कृति, संस्कारले मुलुकको समृद्धिमा हाम्रो धार्मिक रीतिरिवाजले झन टेवा पु-याएको छ । संस्कृति संस्कारको धनी सुदूरपश्चिम प्रदेशको गौरा (गोःरा) पर्वले पनि भाइचारा र विश्वासको वातावरण सिर्जनामा महìवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

गौरा पर्व सुदूरपश्चिमको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा रहे पनि सबै नेपालीले गौरव गर्ने र राष्ट्रिय भावना जागृत गरी सबैलाई एकताबद्ध बनाउने प्रेरणा प्रदान गरी राष्ट्रियता संवर्धनमा समेत टेवा पु-याएको छ । गौरा पर्वको बारेमा विभिन्न धारणा रहेको पाइन्छ । गौरा पर्व भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म मनाउने प्रचलन रहेको पाइन्छ । गौरा पर्वको सुरुवात बिरुडा अर्थात् पाँचथरीका गेडागुडी भिजाउने र महिला निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गरी बिरुडालाई प्रसादको रूपमा ग्रहण गरी सुख शान्ति र समृद्धिको कामना गरिन्छ । 

केराउ, गहत, गहुँ, गुरास र मासको मिश्रण गरेर भिजाउने अन्न नै बिरुडाको रूपमा चिनिन्छ । बिरुडा भिजाएको दोस्रो दिन महिलाले पानीको मुहानमा गएर शुभ साइतमा बिरुडा धोएर गौरादेवीको प्रतिमा प्रतिस्थापन गर्ने चलन रहेको पाइन्छ । पार्वती शिवको नामसँग जोडिएको यस पर्वमा विशेष गरी पार्वतीको पूजा गरिन्छ अर्थात् पार्वतीको कठोर तपस्यापश्चात् शिवलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक विश्वाससमेत यसमा जोडिएको छ ।

सप्तमीमा गौरादेवीलाई मन्दिरमा भित्र्याएर प्रसादको रूपमा महिलाले दुबधागो भगवान्लाई चढाई अभिषेकका साथ लगाउने चलन रहेको छ । दुबधागो पुरुषको यज्ञोपवित धारण गरे जस्तै हो । बिरुडासँगै धान, साउँ (सौँ) तील, अपामार्ग आदि बिरुवाबाट गौरीदेवीको प्रतिमा बनाई गौरा घरमा भित्र्याउने र बिसर्जन नगरिएसम्म पूजाअर्चनाका साथ महिला पुरुषले स्थानीय लोकभाकामा डेउडा, फाग, धमारी आदि खेल खेली आनन्दका साथ गौरा मनाउने प्रचलन रहेको छ । 

गौरा पर्वले धार्मिक आस्था आपसी सद्भाव बढाउन र शिव पार्वतीको पूजा गरी सुख शान्ति प्राप्त हुने विश्वासका साथ ठुलाबाट सानासम्म पूजा गर्ने (बिरुडाले पुज्ने) चलन रहेको छ । गौरा पर्वलाई रोचक बनाउँदै अष्टमीभन्दा अझ ३/४ दिन थप मनाउने र गोःरा सेलाउन (गौरा बिर्सजन) गर्ने प्रचलन पनि रहेको पाइन्छ ।

गौरा पर्व एकताको पर्व हो । काम विशेषले बाहिर अर्थात् विदेश गएका व्यक्तिसमेत घरमा फर्किने र आपसी सद्भाव वृद्धि गरी सुख शान्तिको कामनासहित एक आपसमा बन्धुत्व कायम गरी आपसी सद्भाव वृद्धिमा टेवा पु-याएको छ ।

यस वर्ष गौरा पर्व भाद्र ७ गते परेको छ । गौरा पर्व मनाउने विषयमा विभिन्न तिथिमितिको कुरा पनि उठेको छ । प्रचलित मूल्यमान्यता, परम्परा, विद्वान्वर्ग, पञ्चाङ्ग निर्णायक र आधिकारिकताका आधारमा यस पर्वलाई मनाउँदै यसले समाजमा सद्भाव, शान्ति विश्वास कायम गरी एकताको भावना सिर्जना गरी यो पर्वलाई सबैको पर्व राष्ट्रिय पर्वको रूपमा मनाउँदै यसको महत्वलाई बुझाउँदै गौरी माताले हामी सबैलाई कृपा प्रदान गरुन भन्ने आदर्शका साथ महिला, पुरुष, बालकदेखि वृद्धसम्म यो पर्व सबैको पर्व बनाई आपसी भाइचाराको वृद्धि गरी मौलिकतालाई कायम राख्दै हाम्रा पर्व, हाम्रा संस्कृति र जगेर्ना गर्दै हाम्रा पर्व राम्रा पर्व, हामी सबैका पर्वमा परिणत गरी संस्कृतिको संरक्षण गर्नु आवश्यक छ । 

  

Author

सुरेशकुमार जोशी