• १२ मंसिर २०८१, बुधबार

कीटनाशकको जोखिम

blog

हिजोआज खेतीपातीमा रासायनिक मल तथा कीटनाशक प्रयोग सामान्य बन्दै गएको छ । रासायनिक कीटनाशकको प्रयोगले धेरै समस्या ल्याउँछ । त्यो मानिसको स्वास्थ्य, माटो र पर्यावरण सबैका लागि जोखिम बन्दै गएको छ । रासायनिक कीटनाशकले मानिसको स्वास्थ्यमा भयङ्कर ठुलो नकारात्मक प्रभाव पार्ने कुरा पटक पटक प्रमाणित भएको छ । त्यस्ता घातक कीटनाशकले श्वासप्रश्वासमा ठुलो कठिनाइ उत्पन्न हुने, क्यान्सर जस्तो घातक रोग लाग्ने र निरन्तर थकाइ लागिरहने जस्ता बिमारीले आक्रान्त पार्ने कुरा लामो अनुभव सम्हालेका विभिन्न देशका ज्ञाता चिकित्सक, कृषिविज्ञ तथा वातावरणा विज्ञहरूले बताउँदै आएका छन् ।

यस्तै एउटा गम्भीर निष्कर्ष भारतको व्यवस्थापन अध्ययन प्रतिष्ठान लखनउ र हैदराबादद्वारा हिमाञ्चल प्रदेशको २२ विकास खण्डका किसानमाथि गरिएको हालैको सर्वेक्षणले पनि प्रकाशमा ल्याएको छ । भारतका विभिन्न राज्यमा बितेको एक महिनायताका मात्र प्रादेशिक समाचारमा दृष्टि दिँदा पनि कम्तीमा ५० यस्ता घटना प्रकाशमा आएको पाइन्छ । त्यसले खेतीपातीमा छर्किने गरेका कीट तथा रोगनाशक रासायनिक विषादी श्वासप्रश्वासमार्फत शरीरमा पुगेर किसानको जीवनलीला नै समाप्त हुन पुगेका छन् ।

त्यसै पनि आजको बदलिँदो मौसममा खेतीपातीको काममा ठुलो चुनौती बनिरहेको छ । कम समयमा धेरै बालीनाली लिने हिसाबका कारण किसान बिउ बजारबाट किन्ने गर्दछन् र लुकीछिपी बेचिने गरेका जिम बिउ ‘जेनेटिकल्ली मोडिफाइड सिड’ हुन्छन् । तिनमा भिन्नै किसिमका किराको भय उत्पन्न भएको देख्दा किसानले समयभन्दा पहिला नै धेरै मात्रामा किरा मार्ने रासायनिक विषादी छर्किने गर्दै आएका छन् । 

यस सम्बन्धमा भारतको कुरा गर्ने हो भने बितेको शताब्दीको साठीको दशकमा जम्मा ६.४ लाख हेक्टर क्षेत्रमा त्यस्ता विषादी कीटनाशक छर्किने गरिन्थ्यो । त्यो आज बढेर १.५ करोड हेक्टर क्षेत्रमा छर्किने गरिन्छ । परिणाम त आज भारतमा उत्पन्न गरिने कृषि पैदावार अन्नबाली, सागसब्जी, फलफूल र अन्य कृषि उत्पादनमा त्यस्तो विषादी कीटनाशकको मात्रा निर्धारित सीमाभन्दा बढी पाइएको अनेक उदाहरण छन् । त्यसमा पनि प्रयोग गरिने त्यस्ता विषादी १० देखि १५ प्रतिशत मात्र बालीनालीका लागि प्रभावकारी हुने गर्दछन् र बाँकी सबै विषादी माटो, भौगर्भिक जल, नदी–नालाको हिस्साका रूपमा जान्छन् ।

कीटनाशक तथा त्यसको प्रभावको आकलन गर्ने एउटा प्रमुख संस्था ‘केयर रेटिङ्ग्स’ का अनुसार भारतीय खाद्य पदार्थमा कीटनाशक विषादीको अवशेष २० प्रतिशतसम्म रहेको पाइएको छ । जब कि हुनुपर्ने त्यसको सीमा २ प्रतिशतसम्म मात्र निर्धारित छ । खेतीपातीमा जलवायु परिवर्तनले अझ बढी लागत बढ्ने खतरा बढिरहेको छ । उत्पादित बालीनालीबाट उपभोक्ताको स्वास्थ्यमा घातक असर पर्ने कुराको कुनै ध्यान नदिई किसानले कीटनाशक र अन्य रासायनिक विषादीको खपत बढाइरहेको पाइन्छ ।

भारतको सरकारी तथ्याङ्कले प्रस्ट पार्दछ – बितेको पाँच वर्षको क्रममा त्यहाँ रासायनिक कीटनाशकको उपयोग अझ बढेको छ । त्यहाँ २०१५–१६ मा करिब ५७ हजार मेट्रिक टन त्यस्ता कीटनाशक प्रयोग गरिएको थियो, त्यो अहिले बढेर ६५ हजार मेट्रिक टन पुग्न गएको अनुमान छ । त्यसमा पनि भारतको महाराष्ट्र र उत्तर प्रदेश सबैभन्दा अगाडि रहेको बताइएको छ ।

त्यहाँका अनुसन्धाताहरूले भनेका छन् – भारतको दैनिक भोजनमा सरदर झन्डै ०.२७ मिलिग्राम डिडिटी विषादी पाइन्छ । उनीहरू भन्दछन् – भारतको राजधानी दिल्लीका नागरिकको शरीरमा यो डिडिटीको अवशेषको मात्रा सबैभन्दा बढी देखिएको छ । त्यहाँ गहुँमा १.६ देखि १७.४ भाग प्रति १० लाख, चामलमा ०.८ देखि १६.४ भाग प्रति १० लाख, बदाममा ३ देखि १९.१ भाग प्रति १० लाख मात्रा डिडिटीको अवशेष कायम रहेको देखिएको छ ।

अरू राज्यको पनि बोतल बन्द दुधमा महाराष्ट्रमा लिइएका ७० वटा नमुनामा डिडिटी र एन्ड्रिन विषादीको मात्रा ४.८ देखि ६.३ भाग प्रति १० लाख पाइएको थियो । पाइनुपर्ने मान्य मात्रा भने ०.६६ मात्र हो । त्यसरी नै मुम्बईको ट्याङ्कीको दुधमा एन्ड्रिन विषादीको मात्राको हिस्सा ९६ भागसम्म पुगेको खतरनाक स्थितिमा पुगेको जनाइएको छ ।

पञ्जाबमा पनि कपास बालीमा लाग्ने नियन्त्रण गर्न नसकिने सेतो झिँगाको हमलाको मुख्य कारण पनि रासायनिक कीटनाशककै उपयोगले गर्दा हो भनिएको छ । नेपालमा भारतबाट आयातित खाद्यान्नको अधिक प्रयोग हुन्छ र त्यसैले कीटनाशकको प्रभावमा ध्यान दिनु आवश्यक छ । खाद्यान्नसँगै तरकारीमा पनि कीटनाशकको प्रयोग व्यापक हुन्छ । उदाहरण गोलभेँडा खेतीको सन्दर्भ लिन सकिन्छ । 

राम्रो प्रजातिको ‘रूपाली’ र ‘रश्मी’ गोलभेँडा लगाउने प्रचलन धेरै बढेको छ तर तिनलाई सबैभन्दा बढी नोक्सान गर्ने ‘हेल्योसिस आर्मिजरा’ नामको कीरा छ । त्यसले गोलभेँडाको दानामा प्वाल पार्ने गर्दछ उत्पादनमा ठुलो नोक्सानी पार्दछ । त्यसलाई मार्नका लागि बजारमा रोगर हल्ट, सुपर किलर, रेपलिन र च्यालेन्जर नामका विभिन्न विषादी पनि पाइन्छन् तर तिनको व्यापक गलत उपयोगले झन् ठुलो नोक्सान पुग्दछ ।

ती विषादी कीटनाशक एउटा बालीमा चार÷पाँच पटकभन्दा बढी हालिनु हुन्न भन्ने कृषि वैज्ञानिकको चेतावनी भने एकदमै सानो अक्षरमा लेखिएको हुन्छ । त्यो पनि प्रायः सबै जसो अङ्ग्रेजी भाषामा । त्यो पढ्ने र बुझ्ने प्रायः किसानको पहुँच भएन । त्यसले गर्दा किरामुक्त तुल्याउन र बढी उत्पादन लिन भनेर किसानले बालीनालीमा २०–२५ पटक त्यो विषादी छर्किने गर्दछन् । त्यसरी विषादी छर्किएर उत्पादन भएका राम्रा राता राता गोलभेँडा खानाले मस्तिष्क, प्राचन प्रणालीका अङ्गहरू, मिर्गौला, र स्नायुतन्त्रहरूमा एकदमै नराम्रो असर पुग्दछ ।

आजभोलि बजारमा पाइने हरिया चम्किला रामतोरिया र भान्टा देख्नमा त एकदमै आकर्षक हुन्छन् तर खानका लागि त्यत्तिकै घातक । भान्टालाई चमकदार र राम्रो बनाउनका लागि त्यसमा ‘फोलिडज’ नामको रसायनमा डुबाउने गरिन्छ । अर्काेतिर भान्टामा रसायन चुस्ने बढी क्षमता हुन्छ । त्यसैले भान्टाले त्यो विषादीको बढी मात्रा सोसेर लिन्छ । त्यसरी नै रामतोरियालाई पनि प्वाल पार्ने किराबाट बचाउन त्यस्तै विषादी छर्किने गरिन्छ । 

गहुँलाई पनि किराबाट बचाउन ‘मेलिथियन पाउडर’ मिसाएर राख्ने गरिन्छ । गहुँलाई धोएर पनि त्यो पाउडरको विषलाई हटाउन सकिँदैन । त्यो विषादी मानव शरीरका लागि घातक विष नै हो । रासायनिक विषादीको प्रयोग र त्यसले पुग्ने माटो, पर्यावरण र मानव स्वास्थ्यमाथिको घातक असरको कुरा गर्दा यहाँ भारतकै बढी उदाहरण दिइएको छ । किनभने हामी खाद्यान्नमा बढी भारत निर्भर छौँ । खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ जस्ता कृषिजन्य वस्तुहरू प्रायः सबै भारतबाट नै नेपालमा आउँछन् । त्यसैले हामी समयमै सचेत र सावधान हुनु जरुरी छ ।

रैथाने र पारम्परिक किसिमले खेती तथा आफ्नै स्वदेशी बिउबिजन र तिनको रक्षा गर्ने उपायहरू नै विषादीको असरबाट हाम्रा बालीनाली, स्वास्थ्य र पर्यावरण बचाउन सक्षम र उपयोगी छन् तर गलत बानी पनि लागिसकेको छ । कीटनाशक विषादीको बजार पनि ठुलो र फैलिएको छ । त्यसैले यस गम्भीर चुनौतीको सामना गर्न निकै कठिन छ । 

तथापि मानिसको स्वास्थ्य, अन्नपात, फलफूल, सागपातको स्वाभाविक पौष्टिकता अनि जमिनको उर्वरता तथा पानीको अमरत्वलाई कायम राख्न रासायनिक कीटनाशकमाथि नियन्त्रण र निर्मूलन गर्नुको अब कुनै विकल्प छैन । यसमा राज्य, सरकार र सरोकारवाला सबैको समयमै गम्भीर ध्यान गएन भने पछुताउनु र अलाप विलाप गर्नुबाहेक अरू कुनै विकल्प बाँकी बच्दैन । समयमै सावधानी अपनाउँदा क्षति कम हुन्छ ।

  

Author

लोकनारायण सुवेदी