• १९ जेठ २०८२, सोमबार

मातृ मानसिक स्वास्थ्यमा लगानी

blog

अनत चौधरी

हरेक बर्ष विश्वका कैयन देशहरुले अंग्रेजी मे महिनामा मातृ मानसिक स्वास्थ्यको बारेमा विभिन्न क्रियाकलाप गर्दै सचेतना तथा जागरण फैलाउने काम गर्दै आइरहेका छन् । सन् २०१६ मे ७ मा विश्व मातृ मानसिक स्वास्थ्य दिवस एक अन्तर्राष्ट्रिय सञ्जाल मातृ मानसिक स्वास्थ्य एलाइन्सको अगुवाइमा सुरुवात गरिएको थियो । यसैको सन्दर्भ पारी मे महिनालाई मातृ मानसिक स्वास्थ्य सचेतना महिनाको रुपमा विभिन्न क्रियाकलाप गरी सचेतना फैलाउने काम भइरहेको छ । 

हाल यस अभियानको प्रभाव बढ्दै गई ३० भन्दा बढी देशले मातृ मानसिक स्वास्थ्य सचेतनालाई जोड दिंदै उत्सवको रुपमा मनाउँछन । नेपालमा मानसिक स्वास्थ्यमा काम गर्ने सी.एम.सी.नेपाल, टिपिओलगायतका केही गैर सरकारी संस्थाहरुले मातृ मानसिक स्वास्थ्यको सचेतनाका लागि दिवस तथा केही कार्यक्रमहरु गर्दैआएका छन । यद्यपि, हाम्रो नेपालमा सरकारी तवरबाट यससम्बन्धि कार्यक्रम गरेको देखिदैन । यहाँहरु समक्ष यसैको सन्दर्भ पारेर नेपालमा ओझेल परेको मातृ मानसिक स्वास्थ्यको थालनीका लागि लगानी आवश्यक किन ? भन्ने बिषयमा चर्चा गर्ने प्रयास गरेको छु । 

सन्दर्भको सुरुवात डा. नवराज के.सी.ले लेख्नु भएको “शुन्यको मूल्य“ भन्ने किताबको एक पात्रको कथाबाट गरौँ । जसमा उहाँले कर्णाली प्रदेशको एक विकट हिमाली जिल्लाको आमाको कथा “भेडेनी आमा“ पात्रको नाम दिएर गर्भावस्था र सुत्केरीपछि भोग्नु परेको संघर्षपूर्ण अवस्थालाई चित्रण गरेका छन् । जसमा ती भेडेनी आमाको श्रीमान गर्भावस्था हुँदै पारिवारिक लालनपालनका लागि भारतमा मजदुरी गर्न गएको र सुत्केरी अवस्था भइसक्दा समेत मनको भाव व्यक्त गर्न नपाउँदा उकुसमुकुस तरिकाले दिन गुजारेको हृदयविदारक कथावस्तु प्रस्तुत गरिएको छ । त्यसैगरी, परिवारका सदस्यबाट उचित स्याहार, सुसार एवं पौष्टिक आहार गर्न नपाएको, अझ भनौ आफ्ना मनको पीडा साट्ने मान्छे नपाएर घरमा रहेको भेडा भेडीसँग कुरा साटासाट गरी मन बहलाई चित्त बुझाएको कुरा उल्लेखित छ ।

लेखकले नेपालको दूरदराजका आमाहरुले भोग्ने गरेका यर्थाथपरक कथावस्तुमार्फत मातृ मानसिक स्वास्थ्यका लागि घरपरिवार, समुदाय र राष्ट्रको सुझबुझ कस्तो छ भन्ने कुरा चित्रण गरेका छन् । नेपालको दुर्गम जिल्ला जहाँ उत्पादन कम छ, गरीबी छ । नागरिकहरुलाई पारिवारिक जीवन चलाउन विदेशिनु पर्ने बाध्यता छ । यिनै परिस्थितिले परिवारबाट ती आमाहरु जुन माया ममता, सहयोग, हेरचाह पाउनु पर्ने हो पाउँदैनन् । यो अवस्थामा पारिवारिक साथ सहयोग, माया ममता तथा हेरचाह नपाउँदा ती आमाहरुमा निन्द्रामा गडवडी, चिन्ता लाग्ने, दुःखी हुने, निराशावादी सोच आउने गर्दछ । यो अवस्थाबाट गुज्रिरहेका आमाहरुबाट जन्मिने नवजातहरु शारीरिक तथा मानसिक रुपमा कमजोर हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।

प्रायः हरेक दम्पत्तिको चाहना सन्तान जन्माउनु हुन्छ । जन्मेको सन्तान स्वस्थ होस भन्ने अर्को चाहना हुन्छ । तर स्वस्थ नवजात जन्माउन आमाको मन स्वस्थ बनाउने कुरामा कति महत्वपूर्ण छ, ख्याल गरिदैन । केवल नवजातको जन्ममा केन्द्रित हुन्छ । ती गर्भावस्थाका आमाहरुको मानसिक स्वास्थ्यका लागि परिवार तथा राज्यको लगानी हुन सकेको छैन । जसलेगर्दा हजारौ हजार आमाहरु बर्षेनी मानसिक स्वास्थ्य समस्याहरु अनुभव गर्न पुग्दछन् । 

जुन आमाहरुले गर्भावस्था र सुत्केरी अवस्थामा शारीरिक स्वस्थतासँगै मनको स्वस्थताको वातावरण पाउँदैनन, ती आमाहरुबाट जन्मिने नवजातहरु शारीरिक तथा मानसिक रुपमा कमजोर हुने विभिन्न अध्ययनले देखाएको छ । आ.व. २०८०–८१ को स्वास्थ्यको तथ्यांकले नेपालमा बार्षिक रुपमा करिब ५.७ लाखदेखि ५.९ लाख सुत्केरी भएको देखाएको छ । विभिन्न अध्ययनअनुसार ती सुत्केरी महिलाहरुमा करिव १५ देखि ३० प्रतिशतमा सुत्केरीपछिको डिप्रेशन देखिने गरेको छ । जुन एकदम डरलाग्दो अवस्था हो । मिचेल एट अलले अविकसित र विकोसोन्मुख देशहरुमा गर्भावधि र सुत्केरी पश्चातको एक बर्षभित्र देखिने डिप्रेशनको अवस्था बारेमा प्रणालीगत समीक्षात्मक अध्ययन र मेटा विश्लेषन गर्दा २५.५ प्रतिशत गर्भावस्था र सुत्केरी पश्चात देखाएको छ । जसमा प्रति ४ जना सुत्केरी महिलामध्ये १ जनामा डिप्रेशन देखिन्छ । 

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा रहेको खोप केन्द्रमा मातृ स्वास्थ्य सेवाका लागि आएका आमाहरुमा गरिएको एक अध्ययनअनुसार सुत्केरीपश्चात् ३२.९ प्रतिशत डिप्रेशन देखिएको छ । विभिन्न अध्ययन एवं मनोचिकित्सकहरुले आमाहरु र नवजातशिशुहरुको स्वास्थ्यका लागि गर्भावास्थादेखि नै आमाहरुको मनको स्वास्थ्यमा ख्याल गर्नुपर्ने सुझाउँदै आएको छ । हुनत संविधानको धारा ३८ महिलाको हकको उपधारा २ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धि हकको व्यवस्था गरेको छ । यद्यपि, यो संवैधानिक व्यवस्था बमोजिम आमाहरुको मातृ मानसिक स्वास्थ्य ख्याल गर्ने कुरामा अझै राज्यको लगानी देखिदैन । 

क्यानाडा, स्वीडेन, अष्ट्रेलिया, यु.के., नेदरल्याण्ड, नर्वे, अमेरिका लगायतका विकसित देशहरुले मातृ मानसिक स्वास्थ्यका लागि नीतिगत व्यवस्था गरी सेवा प्रवाह गरिरहेका छन् । यु.के. मा पेरिमेन्टल मेन्टल हेल्थ प्रोग्रामले गर्भावस्था र सुत्केरीपछिको मानसिक समस्याको पहिचान, परामर्श र उपचार सुनिश्चित गर्दा मातृ मृत्युदर र नवजातको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको देखिएको छ । त्यस्तै, उपचार र सहयोगले आमाहरुको मनोबल बढेको र त्यसले परिवारसँग सम्बन्ध सुधार गरेको देखिएको छ । बालबालिकाको पालनपोषण, शारीरिक र सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पारेको छ । यसका साथै मानसिक रुपमा स्वस्थ आमाहरुले काममा चाँडै फर्कि परिवारको आम्दानी, कार्यक्षमता र उत्पादकत्वमा समेत वृद्धि ल्याएको देखिन्छ । 

अन्तमा, माथि उल्लेखित तथ्यहरुलाई विश्लेषण गर्दै समयानुकुल गर्भावास्था र सुत्केरीहरु मातृ मानसिक स्वास्थ्यका लागि सचेत बन्न जरुरी छ । गर्भावस्था र सुत्केरी अवस्था रहेका आमाहरुको मानसिक स्वास्थ्यका लागि उचित हेरचाह, सहयोग, माया ममता प्रदान गर्नुपर्छ । यसले आमाहरुको मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । जसलेगर्दा शारीरिक तथा मानसिक रुपमा स्वस्थ नवजातको जन्ममा योगदान गर्दछ । दिगो विकास लक्ष्य २०३० निर्धारण गरेको मातृ मृत्युदर घटाउने लक्ष्य पूरा गर्न मद्दत गर्न सक्छ । स्वस्थ आमा तथा स्वस्थ नवजातको जन्मबाट राज्यको आर्थिक भार कम हुन्छ । स्वस्थ नागरिकहरुले परिवार, समाज तथा राष्ट्रप्रति गर्ने योगदानले उत्पादकत्वमा वृद्धि ल्याउन सक्छ । यसले पारिवारिक, सामाजिक तथा आर्थिक पक्षमा सकारात्मक प्रभाव पार्दछ । तसर्थ, नेपालको तीनै तहको सरकारले मातृ मानसिक स्वास्थ्यका लागि नीतिगत व्यवस्था गर्दै बहुपक्षीय, बहुक्षेत्रीय लगानीको थालनी अहिलेबाट गर्न आवश्यक छ । साथै, स्वास्थ्य संस्थाहरुमा यसको सेवा दिने जनशक्ति उत्पादन गर्दै सेवा सुचारु गर्न र समुदायस्तरमा मातृ मानसिक स्वास्थ्य बारेमा वृहत सचेतनामुलक कार्यक्रम गर्न आवश्यक छ ।