• १७ असार २०८१, सोमबार

कृषि उत्पादन बढाउनेतर्फ ध्यान केन्द्रित गर्नु पर्छ : राष्ट्रपति

blog

काठमाडौँ, भदौ ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलसँग भेट्न गएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं केन्द्रीय समितिका पदाधिकारीसँग बिहीबार राष्ट्रपति भवन शीतल निवासमा उहाँले भन्नुभयो, “यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबिच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।”

नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उहाँले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राख्नुभयो ।

राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनु परेको यथार्थबारे आफू अनभिज्ञ नरहेको स्पष्ट पार्नुभयो । 

“रोजगारी सिर्जना हुन नसक्नु, विपे्रषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामञ्जस्यता नहँुदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेला बेलामा बिध्न बाधा देखा पर्ने गरेका छन् । यसैले गर्दा मूल्य वृद्धिलगायत साना र मझौला उद्योग समस्याग्रस्त हुँदै जाने यो अवस्थामा निजी सार्वजनिक साझेदारी वाञ्छनीय छ भन्ने मलाई लाग्छ,” उहाँले भन्नुभयो ।   

राष्ट्रपति पौडेलले भविष्यमा हुन सक्ने खाद्य सङ्कट समाधान गर्नेतर्फ मुलुकको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा जनसङ्ख्या बढ्ने तर उत्पादन घट्दै जाने गरेको छ । युवा जनशक्तिको बढ्दो विदेश पलायनलाई रोकेर हामीले कृषिलाई आधुनिकीकरण गरी उत्पादनलाई बढाउनेतर्फ ध्यान केन्द्रित गर्नु पर्छ ।”

उहाँले नेपालमा रोजगारी सिजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिनअगाडि आफूले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै राजनीतिको तानाबानामा नअल्झिकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्नका लागि सबैको ध्यानाकर्षण गराएको छु ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सूचक सकारात्मक रहे पनि आमनागरिक र व्यवसायीको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरोकारवालाले ध्यान जानुपर्ने बताउनुभयो । उहाँले स्वदेशी तथा विदेशी लगानी आकर्षित गरी घरेलु उत्पादनमा जोड दिँदै आयात घटाएर निर्यात बढाउनेतर्फ सबै लाग्नुपर्ने बताउनुभयो ।