• २२ वैशाख २०८१, शनिबार

कोशी प्रदेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

blog

डेङ्गु सहित सिजनल फ्लुको बिरामी बढेपछि जिल्ला अस्पताल धनकुटाको काउन्टरमा देखिएको भिड ।

कबिराज घिमिरे 

हिले, भदौ ७ गते । कोशी प्रदेशमा १४ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने १४ मध्ये १३ जना सुनसरीका हुन् भने एक जना भने मोरङ जिल्लाको रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । 

त्यस्तै, हाल सम्म सङ्क्रमितको सङ्ख्या २२ हजार २ सय ३७ पुगेको छ । जसमध्ये आधाभन्दा बढी सुनसरी जिल्लाका सङ्क्रमित रहेका छन् । सुनसरीमा हालसम्म १५ हजार ९ सय ५२ डेङ्गु सङ्क्रमित छन् । 

मोरङमा हालसम्म तीन हजार ३ सय ६३ जना, झापामा एक हजार ४ सय २०, उदयपुरमा ४ सय ४९, धनकुटामा २ सय ६४ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । हिमाली जिल्ला सङ्खुवासभामा दुई सय ४०, इलाममा एक सय ६८, भोजपुरमा एक सय ५४, तेह्रथुममा एक सय १५, पाँचथरमा ४७, ताप्लेजुङमा ३३, ओखलढुङ्गा र खोटाङमा पाँच पाँच र सोलुखुम्बुमा दुई जनामा सङ्क्रमण देखिएको छ ।  

योसँगै कोशी प्रदेशका सबै जिल्लामा सङ्क्रमण देखा परेको छ । तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक बस्नेतले जानकारी दिनुभयो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन सुझाएको स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत विवेचना चौलागाईँले जानकारी दिनुभयो ।