शीर्षकमा राजा जोडिएको देख्ना साथ तपाईंको मनमा कस्तो विचार आउँछ ? जनभावना बुझेको, व्यक्तिको क्षमता र उत्कृष्टताभन्दा वंश र धर्मको वर्चस्वमा विश्वास गर्ने, राज्य सत्ताको आसपास रहेर धन र पद आर्जन गर्ने आदि इत्यादि । कुनै एक वंशको जेठो या माइलो छोरो सधैँ राष्ट्र प्रमुख हुन योग्य हुँदैन भन्ने हाम्रै इतिहासले देखाएको छ । नेपालमा निरङ्कुशता, जाति, वर्ग र लिङ्गको विभेदको प्रतीकका रूपमा रहेको राणा शासन र राजतन्त्र जनता जागरूक भएपछि टिकेन तर आज पनि हरेक बझाङीले एक राजालाई आफ्नो हृदयको गद्दीमा श्रद्धा भावका साथ सदाका लागि विराजमान गराएका छन् । ती हुन् राजा जयपृथ्वीबहादुर सिंह ।
विक्रम संवत् १९३४ भदौ ७ गते बझाङमा जन्मिएका सिंह जङ्गबहादुर राणाका छोरी पट्टीका नाति र चन्द्रशमशेरका ज्वाइँ भएर पनि उनमा न राणाहरूको जस्तो सत्ता स्वार्थ थियो न राजा हुँ भन्ने घमन्ड नै । उनका लागि राजा शब्द जोडी दिने काम पनि हाम्रै हो । जति बेला नेपालका राजा–राणा आफ्नो गद्दी बचाइराख्न जनतालाई शिक्षित गर्न चाहँदैनथे । उनीहरू अनेक पर्व मच्चाई भाइ–भाइको हत्या गरेर जसको तरबार उसैको दरबार भन्ने जङ्गल राजमा विश्वास गर्थे । त्यही कालखण्डमा बझाङमा जन्मिएका जयपृथ्वीबहादुर सिंहले जनता पढाउन आफ्नो श्रीपेच धरौटी राखे र जनताको सेवा गर्न आफ्नो राजगद्दीसमेत त्यागे ।
बाल्यकालको शिक्षादीक्षा काठमाडौँको थापाथली दरबारमा लिएका सिंहले स्नातक भारतको कोलकाता र प्रयागमा पढे । उदार हृदयका धनी सिंहले राणाहरूको जहानियाँ सोचको विपरीत जनता पढाउन चाहान्थे । सिंहले १९६३ सालमा नक्सालस्थित आफ्नै दरबारमा सत्यवादी पाठशाला खोलेर आफैँ अध्यापन गर्न थाले। त्यहाँ पढाइ हुने आधारभूत शिक्षासम्बन्धी अक्षरमाला, अक्षराङ्क शिक्षा, प्राकृत व्याकरण, शिक्षा दर्पण जस्ता पाठ्यपुस्तक पनि उनले नै लेखे । त्यो सत्यवादी विद्यालयलाई चन्द्रशमशेरले बन्द गरिदिने आशङ्कामा जयपृथ्वीले १९६९ सालमा बझाङको मेल्लेक, चैनपुर हुँदै १९७३ सालमा भोजपुर सारे। पछि सत्यवादी हाइस्कुलका नामले प्रचलित विद्यालयमा रामदत्त अवस्थी नामका हेडमास्टरले मेरा बुबालाई समेत पढाएका थिए । यसरी आज मलगायत कैयौँ बझाङी शिक्षित हुनुमा राजा जयपृथ्वीको योगदान छ ।
राजनीतिक रूपमा प्रजातन्त्र रुचाउने सिंह गान्धी झैँ हिंसाबिना नै समाजमा परिवर्तन ल्याउन चाहन्थे र शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवामा जनताको समान पहुँच हुनु पर्छ भन्ने विचारमा समाजवादी सिद्धान्तसँग नजिक थिए। उनी भन्थे, ‘मेरो जात मानव हो, मेरो धर्म मानवता हो, मेरो सिद्धान्त मानवतावाद हो, मेरो अरू कुनै धर्म र जात छैन’ ।
एनले आधारभूत शिक्षाका पुस्तकबाहेक जयपृथ्वीले तत्वप्रशंसा, पदार्थतत्व र मानववाद जस्ता गहन दर्शनको प्रतिपादनसमेत गरेका थिए । जयपृथ्वी शिक्षाबाट नै समाज परिवर्तन र मानववादद्वारा नै विश्वशान्ति स्थापित हुन्छ भन्ने मान्यता राख्दथे। सिंहका अनुसार स्वार्थ, व्यक्तिवाद र वैमनस्यता जस्ता गुण हामीभित्र रहेका पशु प्रवृत्ति हुन्, जसले विभाजन ल्याउँछन् । अनि यी पाशविक प्रवृत्तिलाई जित्न सिंहले मानववादी सोच र शिक्षाको परिकल्पना गरे, जसले अनेकतामा एकताको खोजी गर्छ । सिंहको मानववाद र सह–अस्तित्वको सिद्धान्तले ‘अरूबाट आफूलाई जस्तो व्यवहारको अपेक्षा राख्दछौँ, हामीले पनि अरूलाई त्यस्तै व्यवहार गर्नु पर्छ’ भन्ने नैतिकताको सर्वमान्य अवधारणाभन्दा पनि अझै गहन आध्यात्मिक अन्तरदृष्टिको प्रतिपादन गर्छ । जहाँ पूर्ण ज्ञान प्राप्तिको अवस्थाले ‘आफूलाई अरूमा हेर्न’ आग्रह गर्दै आध्यात्मिकलाई मानवतासँग जोड्छ । मनका पाशविक वृत्तिमाथि जय पाए जगत् जितिन्छ यानी’ मनो जयति यः जयति ब्रह्माण्ड’ राजा जयपृथ्वीबहादुर सिंहको दर्शनको मूल सूत्र हो ।
राणाहरूको प्रवृत्तिद्वारा देश छोड्न बाध्य पारिएका सिंहले भारतको बैंगलोर (हाल बंगलुरु) मा मानववादी क्लब र अमेरिका, जापान, बेलायतलगायतका देशमा यसका शाखा खोलेका थिए । यसरी जयपृथ्वीले मानववादको सन्देश विश्वव्यापी बनाउने प्रयत्नमा विश्व भ्रमण गरे। यस कारण विश्व बन्धुत्व र सह–अस्तित्वको सन्देशसहित विश्व भ्रमण गर्ने उनी पहिला नेपाली थिए । अमेरिकी राष्ट्रपति हर्बट हुवरको निमन्त्रणामा विश्व धर्म सङ्घको दोस्रो महासभा आयोजनालाई सघाउन जयपृथ्वी सिकागो पुगेका थिए। सन् १९३३ मा भएको त्यो धर्म सभामा राज्यले कुनै धर्मलाई भेदभाव नगरी सबैलाई सामनदृष्टिले हेरिनु पर्छ भन्ने धर्मनिरपेक्षता र विश्वशान्तिका लागि सबै समुदाय एक आपसमा मिलेर बस्न सह–अस्तित्वको सिद्धान्त प्रतिपादन गरिएको थियो।
नाजीवाद र फासिवादले युरोपमा जरा गाडिरहेको १९३० को दशकको पूर्वार्धमा जयपृथ्वीबहादुर सिंहको सक्रियतामा भएको विश्व धर्म महासङ्घले प्रतिपादन गरेका विश्वबन्धुत्व र सह–अस्तित्वका सिद्धान्तकै कारण द्वितीय विश्वयुद्ध पछि सन् १९४५ मा अमेरिकी राष्ट्रपति रुजवेल्ट र बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिलसमेतको अगुवाइमा संयुक्त राष्ट्रसङ्घ गठन हुनका लागि पृष्ठभूमि तयार गरेको थियो । यसरी जयपृथ्वीले विश्वमा मानववादी दर्शन फैलाउन सफल भएका थिए । राष्ट्र सङ्घको स्थापना नदेख्दै १९९७ असोज १ (१५ अक्टोबर सन् १९४०) मा मानववादी राजा जयपृथ्वीबहादुर सिंहको निधन भयो । भौतिक रूपमा नरहे पनि उनको जीवन–दर्शन र शिक्षामा गरेको योगदानले सबै नेपालीलाई प्रेरित गरिरहेको छ । उनको योगदानलाई ढिलै भए पनि देशले चिनेर गत वर्ष उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।
जहानियाँ शासन, अधिनायकवाद लाद्ने प्रयास, भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद चलाएका आधारमा नेपालमा कुनै व्यक्तिलाई घृणा गरे हुन्छ । राजा जयपृथ्वीबहादुर सिंहको मानववादी दृष्टिकोणले हेर्दा व्यक्तिभन्दा व्यक्तित्व, जातीय द्वन्द्वभन्दा भाइचारा र वर्गसङ्घर्ष भन्दा सह–अस्तित्वले नै समाजको दीर्घकालीन विकाश र समृद्धि ल्याउने निश्चित छ ।
गत वर्ष हार्वर्ड विश्वविद्यालय जाँदा विश्वभरिका मान्छे आएर उक्त विश्वविद्यालयका संस्थापक जोन हार्वर्डको शालिक अघि तस्बिर खिचेको देखेको थिएँ । नेपालको सबैभन्दा पुरानो पत्रिका गोरखापत्रको भवन अगाडि जयपृथ्वीको शालिक पनि मैले देखेको छु । उनको त्यो शालिक त्यसै राखिएको होइन, उनले सुरु गरेको पत्रिकाका कारण यो सम्मान पाएका हुन् ।
समय र परिस्थितिले आएको परिवर्तनसँगै संसारभर आफ्नै प्रतिमा बनाउन लगाउने कैयौँ निरश शासकका प्रतिमा ढालिए ! वास्तविक नाम त जहानियाँ सत्ताले होइन, विद्वताले अमर हुन्छ ! आज नेपालका अन्य राजाका नाम इतिहासका पानामा सीमित हुँदै गर्दा जयपृथ्वीबहादुर सिंहको जीवन र दर्शनमा अध्ययन, अनुसन्धान गर्न चाहनेको सङ्ख्या बढ्दै छ । त्यसैले त भनिन्छ, विद्वता र नेतृत्वको तुलना हुन सक्दैन, किन कि राजाको जय जयकार एक गाउँमा हुन्छ, जब कि विद्वान्को जय गान संसारभर ।