विसं २०५२ देखि चलेको एक दशक लामो सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्ष र सरकार पक्षबाट सयौँ नेपाली बेपत्ता पारिए । सशस्त्र द्वन्द्वको घानमा कैयौँ सर्वसाधारण हताहती भए । त्यति बेला भएको घटनाकै कारण विश्वमा बेपत्ता पार्ने र अपहरण हुने राष्ट्रहरूको सूचीमा नेपाल पनि अग्रपङ्क्तिमा दर्ज हुन पुग्यो । हालसम्म पनि द्वन्द्वको घाउ निको हुन सकिरहेको छैन । यही घटनामा बेपत्ता पारिएकामध्ये एक असल सञ्चारकर्मी हुनुहुन्छ – मिलन नेपाली ।
जनपक्षीय पत्रकारिता यात्राका एक उत्साही र क्रान्तिकारी पत्रकार नेपाली बेपत्ता भएको २४ वर्ष पूरा भइसकेको छ । २०५६ साल जेठ ७ गते आफ्नो सञ्चार कर्तव्यको सिलसिलामा तत्कालीन निरङ्कुश राज्यसत्ताद्वारा उहाँ बेपत्ता बनाइनुभएको थियो । ललितपुरको भट्टेडाँडा प्रहरी चौकी आक्रमणमा परेपछि तत्कालीन राज्यसत्ताद्वारा भएको दमनका क्रममा उहाँलाई बेपत्ता बनाइएको थियो । त्यति बेला पत्रकारिता गर्नु निकै कठिन तथा चुनौतीपूर्ण काम थियो । त्यो कठिन समयमा उहाँ जनादेश साप्ताहिकमा प्रबन्ध सम्पादकको भूमिकामा हुनुहुन्थ्यो । ललितपुरको भट्टेडाँडामा प्रहरी चौकीमाथिको आव्रmमण र त्यसबारे सचित्र समाचार लेखेपछि उहाँलगायत जनादेश पत्रिकाको टिममाथि तत्कालीन राज्यपक्षबाट चर्काे दमन भयो । चर्काे दमन भएकाले उहाँ भूमिगत रूपमा पत्रकारिता गर्न बाध्य हुनुभयो ।
जनयुद्धको नेतृत्व गरेको माओवादीको विचार, गतिविधि र समाचार प्रकाशित गर्ने आधिकारिक पत्रिका भएकाले जनादेश साप्ताहिक त्यति बेला ७५ हजारप्रतिभन्दा बढी प्रकाशित हुने तत्कालीन सम्पादक महेश्वर दाहालको दाबी छ । कतिपय ठाउँमा पत्रिका बेच्न अघोषित प्रतिबन्ध लगाएकाले त्यसलाई पार्टीको भूमिगत च्यानलबाट पठाउनु पर्दथ्यो । त्यो कार्यमा मिलन नेपालीले नै मुख्यतः संयोजन गर्नुहुन्थ्यो ।
तत्कालीन समयमा सरकार र माओवादीबिच चर्किएको द्वन्द्वका बारेमा मिलनले खुलेर पैरवी गर्नुभएको थिएन । उहाँलाई माओवादीमा आस्था राख्ने र सरकारका सूचना बाहिर ल्याउने आरोपमा प्रहरीले पक्राउ गरेको बुझिन्छ । २०५६ मै बेपत्ता पारिए पनि हालसम्म पनि राज्यपक्षले उहाँका परिवारलाई उहाँको अवस्था सार्वजनिक गर्न सकिरहेको छैन । त्यस कारण पनि उहाँका परिवार अझै पनि बेपत्ता पारिएका मिलन फर्किएलान् कि भन्ने झिनो आशा बोकेर बस्नुभएको छ ।
उहाँ माओवादीको मुखपत्र जनादेशमा सावधानीपूर्वक सूचना समाचार सम्प्रेषण तथा सम्पादन गर्नुहुन्थ्यो । उहाँ काठमाडौँ केन्द्रित भएर रिपोर्टिङ गर्दै आइरहनुभएको थियो भने तत्कालीन नेपाली राजनीतिक र समसामयिक विषयमा कलम चलाउनुहुन्थ्यो । सरकार र तत्कालीन माओवादी पक्षबिच भएको द्वन्द्वमा उहाँ एकाएक बेपत्ता पारिनुभयो । उहाँका श्रीमती सबिता बस्नेतका अनुसार ७ जेठ, २०५६ देखि मिलनलाई प्रहरीको हेडक्वार्टर नक्साल हुँदै परिवारबाट सम्पर्कविहीन बनाइएको थियो । उहाँको ‘अपराध’ यही थियो, उत्पीडित वर्ग र समुदायको पक्षमा पत्रकारिता गर्नू ।
नेपालीलाई कुन अपराध वा अभियोगमा राज्य पक्षले बेपत्ता पा-यो भन्नेबारे परिवारका पक्षलाई अझै यथेष्ट जानकारी छैन । मिलनमाथि कुनै अभियोग थिएन । उहाँ सुरुमा नेपाल प्रहरीको नियन्त्रणमा रहनुभयो । प्रहरी नियन्त्रणपछि पनि एक दुई पटक उहाँकी श्रीमतीले परैबाट हतकडी लगाइरहेको बेला मिलनलाई देख्नुभएको थियो । गिरफ्तारीपछि उहाँको खोजी गर्न अनेकौँ प्रयास गरे पनि प्रहरीले सहयोग गरेन ।
२१ जेठ, २०५६ को कुरा हो, सञ्चारकर्मी मिलनकी श्रीमतीलाई एउटा अपरिचत व्यक्तिबाट फोन आयो । उक्त फोनमा उहाँको श्रीमान् नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा राखिएको भन्ने जानकारी दिन आएको थियो । श्रीमतीले प्रधान कार्यालयको नजिकै रहेको खाली जग्गाबाट हतकडी लगाएका श्रीमान्लाई देख्नुभयो । प्रहरीले नजिक जान र भेट्न दिएन । प्रहरीले पक्राउ गरेपछि श्रीमतीले लामो समयको अन्तरालमा श्रीमान्लाई नजिकबाट नियाल्न पाएको एउटा क्षण त्यो थियो । त्यस यता भने उहाँकी श्रीमतीले श्रीमान्का बारेमा कुनै अत्तोपत्तो पाउनुभएको छैन । आफूले टाढैबाट भए पनि श्रीमान्लाई प्रहरीको हिरासतमा देखेकोे दृश्यले अझै पनि श्रीमतीलाई झस्काइरहन्छ । त्यो क्षण सम्झँदा अझै पनि श्रीमान् फर्किन्छन् कि भन्ने झैँ लाग्ने उहाँकी श्रीमती बताउनुहुन्छ ।
कहिले कति खोजी भयो ?
१२ जेठ, २०५६ मा सञ्चारकर्मी मिलनका एक साथी, अशोक महरियमले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । २८ असार, २०५६ मा उक्त रिट खारेज भयो । मिलनकी श्रीमती स्वयम्ले पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । २८ असार, २०५६ मा दायर गरेको रिट पनि खारेज भयो । यद्यपि २१ असार, २०५७ मा पुनः मिलन कहाँ छन् भन्ने जानकारी प्राप्त नभएको कारण देखाई पुनः रिट खारेज गरिएको थियो ।
मिलन सुरुमा आफ्नो स्वेच्छाचारी गिरफ्तारी र त्यसपछि बेपत्ता पारिनुभएको थियो । यसबाहेक उहाँ माओवादीका सक्रिय सदस्य हुनुहुन्थ्यो र पार्टीका गतिविधिमा नियमित सहभागी हुनुहुन्थ्यो । मिलन नेपालीको परिवारले उहाँको गिरफ्तारीपछि उहाँलाई खोज्न र पत्ता लगाउन धेरै कदम चालेको थियो । श्रीमती बस्नेत श्रीमान्को खोजीमा काठमाडौँका हरेक प्रहरी चौकी र सबस्टेसनमा धाउनुभयो । हरेक दिन जसो भेट्न जाँदा पनि नक्सालस्थित प्रहरी मुख्यालयको प्रहरीले उनको अनुरोध अस्वीकार ग-यो । श्रीमती बस्नेतलाई श्रीमान्लाई केही सफा लुगा दिन प्रहरीले अनुमति दिएको भने थियो । त्यति बेला नेपालीलाई कथित रूपमा हतकडी लगाइएको थियो, शारीरिक अवस्था भने कमजोर थिएन । हाल मिलनको परिवारले उहाँको अवस्था र ठेगानाका बारेमा जानकारी पाउनका लागि धेरै कानुनी उपाय पनि गर्नुभयो । नेपालीसँगै बलपूर्वक बेपत्ता भएका अन्य छ जना पीडित परिवारले एक पत्रकार सम्मेलन गरी आमजनता र सरकारी अधिकारीलाई मिलनको ठेगानाका बारेमा कुनै जानकारी भएमा अगाडि आउन अनुरोध गर्दै अपिल गरे पनि उनीहरू भेटिएनन् ।
सञ्चारकर्मी मिलन बेपत्ता भएपछि उहाँका परिवारले ३० असार, २०५६ मा एक पत्रकार सम्मेलनको आयोजना गरी त्यसबारे जानकारी पनि गराउनुभएको थियो । ६ असार, २०५६ मा संसद्मा लिखित दरखास्त दिनुभयो । यसबाहेक अन्य धेरै कानुनीबाहेकका उपाय परिवारका सदस्यले अपनाएपछि मिलन भेटिनुभएन । ३ असोज, २०५६ मा श्रीमती बस्नेत अर्थात् मिलनकी श्रीमती सहसंस्थापकसमेत रहेको बेपत्ता पीडितका परिवार सङ्घले प्रधानमन्त्रीसमक्ष पनि लिखित दरखास्त पेस गरेको थियो । साथसाथै मिलनकी श्रीमतीले ३० असार, २०५६ मा एम्नेस्टी इन्टरनेसनललाई सम्पर्क गरी आफ्नो श्रीमान् बेपत्ता रहेको भनी जानकारी गराउनुभयो । हालसम्म मिलनको परिवारले नेपाल सरकारको तर्फबाट न त न्यायिक उपचार प्राप्त गर्नुभएको छ न त ज्युँदोमर्दो टुङ्गो नै लागेको छ । ८ जेठ, २०६९ मा नेपालीकी श्रीमतीले ट्रायल इन्टरनेसनलमार्फत संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार समितिलाई व्यक्तिगत उजुरी पेससमेत गर्नुभएको थियो । २०७२ पुस २७ मा नेपालीको बाँच्न पाउने अधिकार, यातनाविरुद्धको हक उल्लङ्घन भए सँगसँगै उनको स्वतन्त्रता र सुरक्षालगायत कानुनमा व्यक्तिगत पहिचानको हक उल्लङ्घन भएको कुरा खुलाउँदै समितिले निर्णय जारी गरेको थियो । जसमा मिलन नेपालीको जबरजस्ती बेपत्ता भएको उल्लेख गरिएको थियो । यस सम्बन्धमा संयुक्त राष्ट्र मानव अधिकार समितिमा व्यक्तिगत पत्र पेस ग-यो । सन् २००६ नोभेम्बरमा माओवादी र सरकारबिच शान्ति सम्झौतामा हस्ताक्षर भए पनि युद्धका क्रममा भएका अपराधको गम्भीर अनुसन्धान थाल्न अधिकारीहरू असफल भएका छन् र आजसम्म एउटा पनि दोषीलाई सजाय दिइएको छैन । नतिजास्वरूप द्वन्द्व समाप्त भएको दशकौँ बितिसक्दा पनि पीडकले अझै पनि अभियोजनबाट पूर्ण उन्मुक्ति पाएका छैनन्, जब कि पीडित सत्य, न्याय र परिपूरणको मौलिक अधिकारबाट वञ्चित भइरहेका छन् ।
पुरस्कार स्थापना
राज्यद्वारा बेपत्ता परिएका मिलन नेपालीको नाममा ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार’ तत्कालीन क्रान्तिकारी पत्रकार सङ्घ ललितपुरले २०७२ सालमा स्थापना गरेको छ । हरेक वर्ष जनपक्षीय पत्रकारितामा कमल चलाउने एक जना पत्रकारलाई नगदसहित प्रेस सेन्टर ललितपुरले पुरस्कृत गर्दै आइरहेको छ ।
न सास, न लास
२०५६ को सुरुवातमै गिरफ्तार गरेर बेपत्ता बनाइनुभएका मिलन नेपालीको अवस्थाको अझै अत्तोपत्तो नहुनु विडम्बना हो । जनयुद्धको नेतृत्व गर्ने थुप्रै नेता सरकारमा सहभागी हुनुभएको छ । माओवादीकै नेता सरकारमा छन् तर होनहार पत्रकार मिलनको न त लास पाइएको छ, न त सास !