• १२ साउन २०८१, शनिबार

उपराष्ट्रपति यादवद्वारा गौरा पर्वको शुभकामना

blog

काठमाडौँ,  भदौ ७ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरा पर्वको उपलक्ष्यमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । गौरा पर्व नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकको विभिन्न भूभागमा परापूर्वकालदेखि धुमधामका साथ मनाइँदै आएको धार्मिक, सांस्कृतिक एवं परम्परागत पर्व हो ।

नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेषभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, वर्ग, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको उहाँले उल्लेख गर्नुभएको छ ।

“विविधतामा एकता हाम्रो मौलिक राष्ट्रिय पहिचान हो । त्यही पहिचानभित्र गौरा पर्व पनि पर्दछ । यो पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई सबैले आत्मसात् गर्दै यसका सकारात्मक सन्देश ग्रहण गर्न सक्नु पर्दछ”, उपराष्ट्रपति यादवको शुभकामना सन्देशमा उल्लेख छ । 

हाम्रो सामाजिक, सांस्कृतिक र भौगोलिक विविधताभित्रको बलियो, सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन यो पर्वले योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व, द्वेषलाई बिर्सेर परस्पर खुसी, सद्भावका साथ शुभकामना आदानप्रदान गर्न गौरा पर्वले सबैलाई उत्प्रेरित गर्न सकोस् भनी उहाँले कामना गर्नुभएको छ ।

हामीबीच परस्पर सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा टेवा पुर्‍याउने यो पर्वसहित सबै मौलिक संस्कृति, चाडपर्व र रहनसहनलाई संवर्द्धन एवं संरक्षण गर्ने दायित्व सबैले निर्वाह गर्न सक्नु पर्दछ । उपराष्ट्रपति यादवले विभिन्न वर्ग, समुदाय, क्षेत्र र भूगोलमा प्रचलनमा रहेका चाडपर्व, संस्कृति, रीतिरिवाज, परम्परा र संस्कारले आपसी सहिष्णुतालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै उहाँले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन यस पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मुलुक निर्माण र व्यवस्थित विकासको मार्गमा द्रुत गतिले लम्कन सफल होस्, समृद्ध नेपालको परिकल्पना साकार होस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।–––