• २५ पुस २०८१, बिहिबार

लुम्बिनी प्रदेशमा ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान

blog

माओवादी केन्द्रको बैठक । तस्विर : भुवन कार्की

भुवन कार्की

रुपन्देही, भदौ ६ गते । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि विभिन्न जिल्लामा तयारी बैठकहरू जारी राखेको छ । 

पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान कार्यक्रमका लागि जिम्मेवारी पाएका नेताहरू लुम्बिनीका १२ वटै जिल्लामा पुगिसकेको बताउनुभयो । बरालले भन्नुभयो, “अभियानको लागि जिल्लाहरूमा तयारी बैठक भइरहेका छन् । बुधबार दिउँसोसम्म सात वटा जिल्लाहरूका बैठक सकिएको छ ।” भदौ ८ गतेसम्म लुम्बिनीका १२ वटै जिल्लाका तयारी बैठक सकिने र १६ गतेदेखि औपचारिक रूपमा रूपान्तरण अभियान सबै जिल्लामा सुरु हुने बरालले बताउनुभयो ।

अभियानका लागि लुम्बिनी प्रदेशमा नेताहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ । पार्टीले स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरूको कार्य विभाजन गरेको हो ।

पार्टीको प्रदेश कमिटी बैठकले जिम्मेवारी बाँडफाँड गरेको बताइएको छ । जसअनुसार रोल्पा जिल्ला इन्चार्जमा पूर्णबहादुर घर्ती, रुकुम पूर्वमा कमला रोक्का, बर्दियामा पूर्णकुमारी सुवेदी, बाँकेमा कुलप्रसाद केसी, दाङमा जयपुरी घर्ती इन्चार्ज तोकिनुभएको छ ।

त्यस्तै, प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोगबहादुर महरा, अर्घाखाँचीमा वामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खड्का, नवलपरासीमा हकिकुल्लाह खाँ, रुपन्देहीमा गणेशमान पुन र कपिलवस्तु इन्चार्जमा महेश्वर गहतराज तोकिएको पार्टीका प्रदेश कमिटी सचिव कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, बैठकमा १२ वटै जिल्लाको संगठनिक रिर्पोट सम्बन्धित जिल्ला संयोजनहरूले प्रस्तुत गर्नुभएको थियो । अभियानको अनुगमन र स्कुलिङका लागि नेताहरू जगप्रसाद शर्मा नारायण अधिकारी र लक्ष्मी चौधरीलाई जिम्मा दिइएको छ । विभिन्न कारणले रिक्त रहेका जिल्लाहरूको जिल्ला संयोजक पनि तोकिएको छ । जसमा रुकुम जिल्ला संयोजकमा रामसुर बुढा मगर, गुल्मी जिल्ला संयोजकमा युवराज के.सी., रोल्पा जिल्ला संयोजकमा पूर्ण केसी. र प्युठान जिल्ला संयोजकमा नवराज अधिकारीलाई तोकिएको पार्टीका रुपन्देही संयोजक निर्मल जीसीले बताउनुभयो । बैठकले पालिकाका इन्चार्जहरूको समेत टुङ्गो लगाएको उहाँले जानकारी दिनुभयो ।