इटाली, भदौ ६ गते । इटालीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ । उक्त शहरमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो ।
इटालीमा दुई वर्ष यता गर्मीका कारण जनजीवन प्रभावित बनिरहेको बताइएको छ । गत जुलाइमा २७ शहरमध्ये २० वटा शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको थियो । आजसम्म बोलोग्ना, फ्लोरेन्स, मिलान, नेपल्स, रोम र टुरिनमा अत्यधिक गर्मी हुने बताइएको छ । साथै सोमबारसम्म एक दर्जन बढी शहरलाई रेड अलर्टमा राखिएको थियो ।
देशका मध्य र दक्षिणी भागका शहरको तापक्रम आगामी दिनमा ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । जुन महिना यता यो तेस्रो पटक यति धेरै तापक्रम बढेको हो । इटलीको मुख्य कृषि युनियन कोल्डिरेट्टीले सोमबार यो वर्ष इटलीमा अझै गर्मी बढ्ने चेतावनी दिएको थियो ।
सन् २०२२ मा भने योभन्दा धेरै गर्मीको लहरहरु चलेको थियो । तर यस वर्षका गर्मीका लहरहरु छोटो समयका लागि मात्रै छन् । गत जुलाइ महिनामा इटलीमा इतिहासकै सबैभन्दा बढी गर्मी भएको थियो । सिन्ह्वा