• २ जेठ २०८२, शुक्रबार

समाजवादीको छायाले सर्वदलीय बैठकमा एमाले आएन : माधव नेपाल

blog

पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाललगायत नेता ।

काठमाडौं, भदौ ५ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाका कारण राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) नगएको बताउनुभएको छ। 

मङ्गलबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छाया परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नगएको बताउनुभएको हो। 

उहाँले माधव नेपालको छाया बैठकमा परेकाले एमालेका नेता अनुपस्थित भएका बताउनुभयो। उहाँले आफूसँग त्यस्तो सङ्कीर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताउनुभयो। 

उहाँले आफूहरूसँग न्यूनतम संस्कार र संस्कृति रहेको उल्लेख गर्नुभयो। अध्यक्ष नेपालले आफ्नो मनमा नेपाली समाजलाई मुक्ति दिलाउने र नेपालमा समाजवादलाई कसरी साकार पार्न सकिन्छ भन्ने सोच र चिन्तनमात्र रहेको बताउनुभयो। 

अध्यक्ष नेपालले तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गर्नु उचित र जायज भएको बताउनुभयो। उहाँले आजसम्मका घटनाक्रमले आफूहरूले विगतमा गरेको विद्रोह जायज थियो भन्ने कुरालाई पुष्टि हुँदै आएको बताउनुभयो। जुनसुकै कोणबाट हेर्दा पनि विद्रोह जायज भएको उहाँले जिकिर गर्नुभयो। 

उहाँले विद्रोह औचित्यपूर्ण रहेको कुरामा स्पष्ट हुन केन्द्रीय सदस्यलाई आग्रह गर्नुभयो। केन्द्रीय सदस्य विश्वस्त भएमा तल्ला कमिटी र नेतालाई पनि विश्वस्त बनाउन सकिने उहाँको भनाइ छ।