प्यालेस्टाइन, भदौ ५ गते । प्यालेस्टाइनका बन्दुकधारीको कब्जामा रहेको वेस्ट बैङ्क सहरमा आक्रमणमा परी एक इजरायली महिलाको मृत्यु भएको छ ।
सोमबार साँझ प्यालेस्टाइनका बन्दुकधारीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाइते भएको इजरायली सेनाले जनाएको छ ।
सेनाका अनुसार बन्दुकधारीले हेबोनको वेस्ट बैङ्क सहरको दक्षिणमा रहेको बेइट हागाईको यहुदी बस्ती बाहिर कारमा रहेका दम्पतीलाई गोली हान्दा महिलाको मृत्यु भएको र पुरुष भने गम्भीर घाइते भएका छन् ।
एक ६ वर्षीय बालिका पनि कारमा रहेको तर उनलाई कुनै चोटपटक नलागेको बताइएको छ । सेनाले गोली हानी हत्या गर्ने व्यक्तिको खोजी गरिरहेको र सो क्षेत्रका सीमा बन्द गरिएको जनाएको छ ।
यो घटना वेस्ट बैङ्कमा इजरायली र प्यालेस्टाइन नागरिकबीच बढिरहेको तनावका कारण भएको हो । गत शनिबार प्यालेस्टाइनको सहर हवारा नजिक एक कार वासमा इजराइली नागरिक बुबा र छोराको गोली हानेर हत्या भएको थियो । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समय द्वन्द्व भड्किरहेको छ । सो घटनापछि प्यालेस्टाइन र इजरायलको वेस्ट बैङ्क सिमानामा आन्दोलन भइरहेको छ । जसमा १२ जना प्यालेस्टाइनी सैनिक घाइते भएका छन् ।
जनवरीदेखि अहिलेसम्म प्यालेस्टाइनी नागरिकद्वारा भएको आक्रमणमा परी ३३ इजरायली नागरिकको मृत्यु भएको छ । त्यस्तै, सोही अवधिमा दुई सय बढी प्यालेस्टाइनी नागरिक इजरायलीद्वारा मारिएका छन् ।