• २० वैशाख २०८१, बिहिबार

हाइकुसङ्ग्रह ‘वाटिका’ विमोचन

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, भदौ ५ गते । कोहलपुरमा हाइजिन छविलाल खड्काको हाइकुसङ्ग्रह ‘वाटिका’ विमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर र ग्रिनपिस माविको समन्वयमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले पुस्तक विमोचन गर्नुभयो । सो अवसरमा उहाँले २०४९ सालमा पहिलो कृति निकालेका कृतिकार खड्काले पछिल्लो समय साहित्यमा सक्रियता बढाउँदै साहित्यका विभिन्न विधामा कलम चलाएर कोहलपुरलाई चिनाएको बताउनुभयो ।  

समीक्षक खोपीराम ओलीले ‘वाटिका’ मा रहेका हाइकुहरू तोकिएको संरचनामा रहनुका साथै देशप्रेम, प्रकृतिप्रेम र समसामयिक विषयवस्तुमा आधारित रहेको बताउनुभयो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानले कोहलपुरको साहित्यमा एउटा कृति थपिएकोमा खुसी व्यक्त गर्दै साहित्यप्रति बालबालिकाको रुचि बढाउन आफूहरू लागिपर्ने बताउनुभयो । 

प्रतिष्ठानका उपाध्यक्ष सुमित्रा न्यौपानेले कोहलपुरका विभिन्न विद्यालयमा साहित्यिक कार्यक्रम गर्दा बालबालिकाको लेखनप्रति जिज्ञासा पनि बढ्ने भएकाले असल अभ्यास सुरु भएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा साहित्यकारहरू सागर गैरे, अन्जुनिल सागर, पुष्कर रिजाल, बिक्रिम शिशिर, हेमप्रकाश मन्जिल, नमिता बराल, विष्णुविक्रम शाहीलगायतले आआफ्ना रचना वाचन गर्नुभयो ।