गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलबाट छिरेको सुन प्रकरण रहस्यपूर्ण रहेको बताउनुभएको छ । एमाले मुख्यालयमा आज छक्कबहादुर लामालाई केन्द्रीय सदस्यको शपथ खुवाउने कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘साधारण जनताले एउटा सानो थैली लिएर जाँदा पनि कडा जाँच हुन्छ । क्विन्टलका क्विन्टल सुन कसरी पास हुन्छ ?’ उहाँले जिज्ञासा गर्नुभयो । निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन् भन्दा पनि सरकारले नमानेको उहाँले बताउनभयो । त्यसले झन् आशङ्का उत्पन्न गरेको उहाँको भनाइ छ ।
संसदमा एमालेले कुरा उठाउँदा सत्ता पक्ष उठेर हल्ला गरेर कुरा राख्नै नदिएको उहाँको भनाइ छ । सुन प्रकरणमा सरकारले निष्पक्ष ढङ्गले छानबिन गर्न नसकेको भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ, सरकार यसमा तयार हुनुपर्छ ।”