• ३० वैशाख २०८२, मङ्गलबार

एक वर्षमा साढे चार किलोमिटर नदीमा तटबन्धन

blog

देउखुरीको राप्ती नदीमा गरिएको तबन्धन । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, भदौ ४ गते । दाङ र बाँके गरी दुई जिल्लामा एक वर्षमा करिब साढे चार किलोमिटर नदीमा तटबन्धन गर्दा १० हेक्टर बढी जग्गा उकासिएको छ । दाङ र बाँके गरी दुई जिल्लामा जनताको तटबन्धन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९-०८० मा ४ दशमलव ५४ किलोमिटर तटबन्धन गरिएको हो । 

दुई जिल्लामा राप्ती तथा बबई नदीमा ४ दशमलव ५४ किलोमिटर तटबन्धन गर्दा १० दशमलव ३ हेक्टर जग्गा उकास निस्किएको जनताको तटबन्धन कार्यक्रम कार्यालय इन्जिनियर रामानन्द दासले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमअन्तर्गत दुई जिल्लाका विभिन्न ठाउँमा ८५ वटा स्पर-स्टड समेत निर्माण गरेको छ । जनताको तटबन्धन कार्यक्रमअन्तर्गत नदी नियन्त्रण कार्यक्रम र प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजना अन्तर्गत तटबन्धन तथा स्पर-स्टड निर्माणको काम गरिएको कार्यालयले जनाएको छ । 

“कार्यक्रम दाङ र बाँके दुई जिल्लामा नदी तथा खोलामा तटबन्धन तथा बाढी जोखिमयुक्त ठाउँहरूमा व्यवस्थापनका लागि काम गरिरहेका छौँ”, इन्जिनियर दासले भन्नुभयो, “एक वर्षको अवधिमा साढे चार किलोमिटर तटबन्धनको काम गरेका छौँ ।” उहाँले जनताको तटबन्धन कार्यक्रम अन्तर्गत नदी नियन्त्रण सम्बन्धमा अध्ययन तथा परामर्शको कार्य आकस्मिक बाढी तथा पहिरो व्यवस्थापन लागि बोरा, नाइलन, जाली, जिआई तार खरिद, बुनाई तथा भराइ लगायतका कार्य पश्चिम राप्ती नदी नियन्त्रण कार्य, बाँकेको बबई नदी र सहायक नदी (ग्वार, पातु, राप्ती नदी र सहायक नदी राङसिङ) नियन्त्रण लगायतका काम भइरहेको बताउनुभयो । 

कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९÷८० मा कूल १७ वटा ठेक्का सञ्चालनमा भएकामध्ये ८ वटा ठेक्का सम्पन्न भएका छन् । योजना अन्तर्गत कूल १६ करोड ५८ लाख ३ हजार रुपियाँमध्ये १६ करोड ५६ लाख ९४ हजार ५ सय ५० रुपियाँ खर्च भएको छ । 

यसैगरी, प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजना अन्तर्गत पश्चिम राप्ती नदीको दाङ र बाँके खण्ड गरेर कूल ११.०७४ किलोमिटर लम्बाइको तटबन्ध निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । तटबन्धन गर्दा आर्थिक वर्ष २०७९-०८० मा २१ करोड ९९ लाख बजेटमध्ये १५ करोड ५५ लाख ३४ हजार ६ सय ५८ रुपियाँ ३५ पैसा खर्च भएको उहाँले जानकारी दिनुभयो ।