• १३ मंसिर २०८१, बिहिबार

सात वर्ष पछि बन्यो तमैलको पक्की पुल, स्थानीय खुसी

blog

तमैलमा निर्माण भएको पक्की पुल । तस्बिर : शैलेन्द्र रोकाया

शैलेन्द्र रोकाया 

बझाङ, भदौ ४ गते । जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका जोड्ने स्थानीय तमैल बजार सेती नदीमा करोडौँको लागतमा निर्माण भएको पक्की पुल सम्झौता भएको सात वर्ष पछि निर्माण भएको छ । पक्की पुल निर्माण भएसँगै स्थानीयवासीहरुमा खुसी छाएको छ ।

ठेकेदार कम्पनीसँग भएको सम्झौता अनुसार २०७५ असार मसान्त सम्म सम्पन्न गरी सक्नुपर्ने भए पनि कम्पनीको लापरबाही सेती नदीको तमैलमा निर्माण हुने पक्की पुलको काम समयमै सम्पन्न हुन सकेको थिएन । पक्की पुल निर्माण भएपछि सेती पारीसम्म यातायात सञ्जाल जोडिने भएको छ । समयमै पुल नबने पछि स्थानीयहरूले पुल निर्माण कार्यलाई छिटो बनाउन’ पर्ने भन्दै विभिन्न निकायमा धाउँदै आएका थिए ।

२०७८ असोज ३० गते देखि कात्तिक ३ गते सम्म आएको बेमौसमी बाढीका कारण पुल रहेको तमैल बजार तिरको भू–भाग सेती नदीले कटान गरे पछि पुल निर्माण कार्य थप अन्योलमा परेको थियो । सेती लोकमार्ग सडक आयोजनाले नदीले कटान गरेको भू–भागका लागी गएको आर्थिक वर्षमा छुट्टै सात करोड रुपियाँको लागतमा बोलपत्र आह्वान गरी निर्माण कार्य गरेपछि अहिले पुल निर्माण भएको हो । 

बझाङ जिल्लाको सबैभन्दा ठुलो र बढी लागतमा निर्माण भएको यो पुल बने पछि खप्तडछान्ना गाउँपालिका, थलारा गाउँपालिका र जयपृथ्वी नगरपालिकाका स्थानीयवासीहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् भने छिमेकी जिल्ला बाजुरा, अछाम जानपनि सहज हुने भएको छ । वर्षौँ देखि स्थानीयवासीले दैनिक उपभोग्य बस्तु तथा अत्यावश्यक सामान समेत ढुवानी गर्दा महँङ्गो तथा खर्चिलो हुने गरेको थियो भने यातायात समेत नियमित हुन नसक्दा अनावश्यक हैरानी खेप्नु परेको थियो । स्थानीय मेखराज रावलले भन्नुभयो, ‘पुल निर्माण भएपछि यस क्षेत्रका बासिन्दाहरूलाई ठुलो राहत भएको छ, पुल नहुँदा स्थानीयहरूले सामान ढुवानी गर्नुपर्दा समान बरावरकै मूल्य ढुवानीमा जान्थ्यो , निकै दुख थियो अब भने राम्रो भयो । ’ 

८० मिटर लम्बाई रहेको यस पुलको ३ वटा स्पान रहेका र पाईल स्टम वाट पिल्लर राखी माथि सिमेन्टे ढलान गरिएको छ । जमिन भित्र १६ मिटर मेसिन दबाएर २० वटा पाईल बनाइ एक वर्ग मिटर सहितको जमिन भित्र वाटै सिमेन्ट ढलान गरेको ठेकदार कम्पनीले बताएको छ ।  खुला जग खनेर पिल्लर ढलान सहितको डिजाइन भएको भए पुलको काम छिटो हुन्थ्यो तर नयाँ डिजाइन पाईल स्टमवाट पिल्लर राख्नु पर्ने भएकाले काम ढिलो भएको बताएको छ । 

तमैल पट्टिको भू–भागमा बाढीले कटान गरेर लिएपछि अहिले फेरि थप सात करोडको लागतमा टेन्डर गरी ग्याबिन जाली लगाएर माटोले पुरेर पुल तयार गरेको छ । सेती लोकमार्ग अन्तर्गत चैनपुर ताक्लाकोट सडक आयोजनाका प्रमुख तुलाराम शर्माले भन्नुभयो, ‘ पुलमा गाडी ओहोर दोहोर हुने अवस्था भएपनि अझ केही काम बाँकी रहेको छ । अबको केही दिनमा पुलमा निर्बाध रूपमा गाडी ओहोर दोहेर हुनेछन् ’ । उहाँले पुल निर्माणका लागी पहिला एच के कन्स्ट्रक्सन प्रा.लीले ११ करोड र अहिले सुर्मा साराेवर र बंर्जङ्गवली जेभीले ७ करोड गरी जम्मा १८ करोड तागत रहेको समेत बताउनुभयो ।

तमैलमा पुल बन्ने होइन भनेर निराश भएका  छान्ना लगायत सेती पारीका स्थानियवासीहरु अहिले भने खुसी भएका छन् ।  सेती नदीमा पुल नभएकाले हिउँदमा काठको पुल हालेर छान्ना तर्फ तराएर चलाउँदै आएका थिए । 


सेती नदीमा बाढीले बगाएको निर्माण हुनुभन्दा अगाडी । तस्बिर :  शैलेन्द्र रोकाया