धनगढी समाचारदाता
धनगढी, भदौ ४ गते । धनगढी उपमहानगरपालिकाले फोहोरबाट मोहर बनाउने कार्यको थालनी गरेको छ। उपमहानगरपालिकाले नकुहिने फोहोरबाट आयआर्जन तथा कुहिने फोहोरबाट मल बनाउने गर्ने कार्यको थालनी गरेको हो। सो कार्यका लागि सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याइएको छ।
उक्त केन्द्रको उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले उद्घाटन गर्नुभयो। स्वच्छ धनगढी बनाउने अभियान अन्तर्गत घरबाट निस्किने फोहोर कुहिने र नकुहिने छुट्याई बिक्री गर्नका लागि केन्द्र सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो।
करिब ३१ लाख ५५ हजार रुपियाँ लगानीमा निर्मित केन्द्रमा नकुहिने फोहोरको सूक्ष्म वर्गीकरण गर्ने जनाइएको छ। उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाइ शाखा प्रमुख अशोक अवस्थीका अनुसार प्लास्टिक, सिसा, फलाम/टिन, आल्मुनियम, रबर, जुत्ता, कागज सबै अलग अलग वर्गीकरण हुने छ। वर्गीकरण गरेर बाँकी रहेको काम नलाग्ने फोहोरलाई वडा नम्बर–७, पटेलास्थित डम्पिङ साइटमा लगेर व्यवस्थापन गरिने छ। यहाँको १९ वटै वडाबाट दैनिक ७० टन फोहोर सङ्कलन हुने गर्दछ। जसमध्ये कुहिने फोहोर केन्द्रनजिक रहेको बायो ग्यास प्लान्टमा र मल उत्पादनका लागि प्रयोग भइरहेको छ।
पालिकाको २१ करोड रुपियाँ लगानीमा निर्मित प्लान्टमा दैनिक ३० टन कुहिने फोहोर खपत हुने गर्दछ। प्लान्टले दैनिक ११३ सिलिन्डर खाना पकाउने ग्यास र तीन क्विन्टल मल उत्पादन गर्ने अवस्थीले बताउनुभयो।