• ८ पुस २०८१, सोमबार

सातवटा पसल कारबाहीमा

blog

बजार अनुगमनका क्रममा सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ ३ गते । जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेनका सात वटा पसललाई कारबाही गरेको छ । अखाद्य बस्तु विक्री गरेको र मापदण्ड अनुसार पसल सञ्चालन नगरेका पसलेलाई प्रशासनले कारबाही गरेको हो । 

अखाद्य बस्तु विक्री गर्ने, लेवलिङ् नगरिएका सामग्री विक्री गर्ने तथा तौलमा ठगी गर्ने सात वटा पसललाई पाँच हजार रुपियाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जानकारी दिनुभयो । 

आइतबार तानसेनको मख्खनटोल, सिल्खानटोल, टक्सारटोल, विशालबजार लगायतका क्षेत्रमा बजार अनुगमन गरिएको थियो । उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार ती पसलहरूलाई कारबाही गरिएको सहायक प्रजिअ रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ऐनअनुसार मूल्य सूची टाँस नभएका, कम तौल विक्री गरेका, लेवलिङ् नभएका, म्याद गुज्रका खाद्य सामग्री विक्री गर्ने पसललाई कारबाहीको दायरामा ल्याएका छौँ ।” अनुगमन गरिएका पसलमध्ये अधिकांश पसल कारबाहीमा परेको प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा भेटिएको म्याद नाघेका अखाद्य बस्तु जफत गरिएको छ । अनुगमन टोलीले चार हजार पाँच सय रुपियाँ बराबरको सामान जफत गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले तानसेन लगायत विभिन्न स्थानमा बजार अनुगमनलाई तीव्रता दिइएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रतिनिधि मनोज घिमिरेले बताउनुभयो ।