• १४ मंसिर २०८१, शुक्रबार

तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

blog

जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र लिँदै सेवाग्राही ।

अमरराज नहर्की

तनहुँ, भदौ ३ गते । विवरण भरेको लामो समयपछि तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । २०७६ साल साउनदेखि विवरण सङ्कलन गरिएको भएपनि तयार भएर ढिलो आएकोले चार वर्षपछि मात्रै वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । 

विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम हालै सुरु गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो । राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयम् व्यक्ति नै उपस्थित हुनुपर्ने रिजालले जानकारी दिनुभयो । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक् नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । 

पहिलो चरणमा नौ हजार आठ सय ४५ थान परिचयपत्र आएकाले सोही वितरण गर्न सुरु गरिएको जिल्लाबाट फारम भरी पेस भएका ६५ हजारमध्ये पहिलो चरणमा सो सङ्ख्यामा तयार भएर आएको र हालसम्म ५० जनाले परिचयपत्र लिइसेकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका वितरण अपरेटर प्रताप पण्डितले जानकारी दिनुभयो । व्यास नगरपालिका–३ निवासी प्रमीला श्रेष्ठले राष्ट्रिय परिचयपत्र साथमा लिएर हिँडेपछि अन्य धरै कागजपत्र बोक्न नपर्ने भएकोले प्राप्त गर्दा खुसी लागेको बताउनुभयो ।

प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने जनाएको छ । कार्यालयका अनुसार सबै वितरण गर्दा भिड हुने भएकोले मोबाइलमा सन्देश पठाएर वितरण गर्ने गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन तथा वितरणको लागि कार्यालयले राष्ट्रिय पचियपत्र तथा पञ्जिकरण विभाग स्थापना गरिएको छ । 

वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान-श्रीमतिको नाम, स्थायी-अस्थायी ठेगाना पर्दछन् । जैविक विवरण अन्तर्गत औँठाछाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । नागरिकका सेवा सुविधाहरू सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्त्वपूर्ण छ । राहदानी बनाउन आउनेले अनिवार्य रूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम छ ।