• १३ मंसिर २०८१, बिहिबार

ओल्कोसँगै खेलिन छाड्यो धुमारी

blog

अमरगढी समाचारदाता

डडेलधुरा, भदौ ३ गते ।  सुदूरपश्चिमका पहाडी जिल्लामा मुख्य चाडबाडका रूपमा मनाइँदै आएको ओल्को सङ्क्रान्ति पछिल्ला वर्षमा घरभित्र मात्रै सीमित हुन पुगेको छ। समाज परम्परागत संस्कार, संस्कृति छोडेर आधुनिकतातर्फ मोडिन थालेपछि ओल्को सङ्क्रान्ति  घरभित्रै सीमित हुन पुगेको हो। डडेलधुरामा केही वर्ष यता ओल्को दिने चलन हराउँदै गएको छ। 

ग्रामीण गाउँबस्तीमा ओल्को दिने चलन रहिरहे पनि बजार क्षेत्रमा ओल्को दिने चलन हराएको छ। पहिले ब्राह्मण, ठकुरी, क्षेत्रीलाई खास गरेर दलित समुदायले आफूसँग भएको कलाको प्रयोग गरेर आवश्यक ससाना सामग्री ओल्को (उपहार) का रूपमा दिने गर्दथे। ओल्कोबापत ब्राह्मण, ठकुरी, क्षेत्री समुदायले अन्नपात, लत्ताकपडा, रुपियाँ, पैसा लिने गर्दथे तर पछिल्ला वर्षमा ओल्को दिने चलन नै हराएको ७६ वर्षीय सरुदेवी भण्डारीले बताउनुभयो। 

पहिले पार्की जातिले बाँस, निगालो, बेतका घरायसी कामका लागि प्रयोगमा आउने सामग्री बनाउँथे। दमाईंले लत्ताकपडा सिलाउँथे। लुहार जातिले फलामका हातहतियार बनाउँथे। टमटाले फलाम, तामा, पित्तलका भाँडाकुँडा बनाउँथे। यी समुदायले अरूलाई ओल्कोका रूपमा ससाना सामग्री दिने गर्दथे। अनि ओल्को पाउनेले आफूसँग भएका चिजवस्तु दिन्थे। जुन सामग्री विवाह, व्रतबन्ध, शुभकार्य, श्राद्धमा काम आउँथ्यो। 

दिउँसोपछि गाउँनजिकको खुला एक निश्चित ठाउँमा लिङ्गो ठडाई रुखका हाँगाबिँगा थुपारेर बन्ढुनी बार्ने गरिन्थ्यो। जुन असोज १ गतेका दिन विधिवत् रूपमा जलाइन्छ। भगवान् श्रीकृष्णले कुटुना नामकी राक्षसलाई जितेको अर्थात् असत्यमाथि सत्यको जित भएको पर्वका रूपमा लिइन्छ। 

बेलुकी पख चैत, धुमारी खेलमा गीतसँगै खेल खेलेर बुढेली मनाइन्थ्यो तर पछिल्ला वर्षमा ओल्को दिने चलन हराएको छ। बन्ढुनी गाउँमा रहेका केही सीमित स्थानीयले बार्ने गरेका छन्। चैत, धुमारी खेलमा पनि दुई/चार जना बुढापाका मात्रै देखिने गरेको उहाँको भनाइ छ। 

खलो प्रथाको अन्त्य भएसँगै ओल्को दिने चलन पनि हराएको उहाँले बताउनुभयो। अहिले रुपियाँ दिएर काम हुन्छ। पहिले आफूले जानेका कामको आधारमा एकले अर्कालाई सहयोग गर्ने चलन थियो। उहाँले भन्नुभयो, “पहिले जस्तो अचेल रहेन। सबै काम पैसाले हुन्छ। समाजमा भएको परिवर्तनसँगै पुराना रीतिरिवाज हराएको छ।”

पछिल्ला वर्षमा गाउँमा ओल्को दिने चलन हराएपछि बजारका पसलमा बालबालिकाले निगालोका सिन्का दिँदै आएको स्थानीय भक्त साहुले बताउनुभयो। दुई जना बुढापाकाले यस वर्ष ओल्को दिनुभयो। उहाँले भन्नुभयो, “अरूले ओल्को दिन छाडे। बालबालिका केही पैसा वा खानेकुरा पाइन्छ भनेर निगालोका सिन्का दिने गरेका छन्।” 

बढ्दो सहरीकरण, आधुनिकता, जातीय विभेदविरुद्धको कानुनलगायतका कारण आएको परिवर्तनले पुराना संस्कार संस्कृति हराएको पण्डित कृष्ण भट्टले बताउनुभयो। उहाँले भदौ १ गते अमरगढी नगरपालिका–७ को तिलाडी ऐरी गाउँमा हुने बुढेली र २ गते वडा नम्बर ६, दुमडाको कालापत्थरमा हुने बुढेली पनि हराउँदै गएको बताउनुभयो। ऐरी गाउँमा रहेको भगवान् शिवको ढुङ्गामा ओल्को चढाएर बुढेली मनाउने चलन रहिआएको थियो। बुढेलीमा यी गाउँ क्षेत्रका मानिस एक ठाउँमा भेला भई ढोल बजाउँदै सुदूरपश्चिमको लोकसंस्कृति चैत, धुमारी खेल खेल्दै गीत गाउने चलन थियो।