• २१ जेठ २०८१, सोमबार

कर्जा प्रवाहको वृद्धिदरमा सङ्कुचन बढ्यो निक्षेप परिचालन

blog

काठमाडौँ, भदौ ३ गते । आर्थिक वर्ष २०७९/८० मा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर सङ्कुचित भएर ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १३.१ प्रतिशतले बढेको थियो । 

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आव २०७९/८० को वार्षिक तथ्याङ्क अनुसार समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ३.५ प्रतिशतले, विकास बैङ्कहरूको कर्जा प्रवाह ७.६ प्रतिशतले र वित्त कम्पनीहरूको ०.६ प्रतिशतले बढेको छ । गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६८.० प्रतिशत कर्जा घर जग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७९ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेका थिए ।

आव २०७९/८० मा बैङ्क तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जाको वृद्धिदरमा पनि सङ्कुचन

आर्थिक वर्ष २०७९/८० मा कुल आन्तरिक कर्जा ८.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १४.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३४.८ प्रतिशतले बढेको छ ।अघिल्लो वर्ष यस्तो दाबी २६.६ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी १३.३ प्रतिशतले बढेको थियो ।

निक्षेप परिचालन बढ्यो

समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ९.० प्रतिशतले बढेको थियो । २०८० असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत थियो । गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७९ असार मसान्तमा यस्तो निक्षेपको अंश ३८.३ प्रतिशत रहेको थियो ।