• ११ मंसिर २०८१, मङ्गलबार

सैँतिस कम्पनीलाई लाइसेन्स

blog

काठमाडौँ, भदौ ३ गते । थप पाँच वटा कम्पनीले ब्रोकर (धितोपत्र दलाल) लाइसेन्स प्राप्त गरेका छन् । नेपाल धितोपत्र बोर्डले थप पाँच कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।

बोर्डको सञ्चालक समितिको बैठकको निर्णय अनुसार रोडसो सेक्युरिटिज, सजिलो ब्रोकर लिमिटेड, हिमालयन सेक्युरिटिज, बेनी सेक्युरिटिज र सनी सेक्युरिटिजलाई ब्रोकर लाइसेन्स दिएको हो ।

बोर्डले सजिलो ब्रोकर, रोडसो र बेनी सेक्युरिटिजलाई सीमित कार्य गर्ने र हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिजलाई पूर्ण कार्य गर्ने गरी लाइसेन्स दिएको छ ।

एक साताअगाडि मात्रै बोर्डले थप तीन वटा कम्पनीलाई ब्रोकर (धितोपत्र दलाल) लाइसेन्स प्रदान गरेको थियो । बोर्डले जेबिएनएल सेक्युरिटिज, आरबिबी सेक्युरिटिज र सिबिआइएल सेक्युरिटिजलाई सीमित कार्य गर्ने गरी धितोपत्र दलाल लाइसेन्स दिइसकेको थियो ।

बोर्डले ब्रोकर लाइसेन्सका लागि ४३ कम्पनीलाई आशयपत्र प्रदान गरेको थियो । जसमध्ये बोर्डले ३७ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरिसकेको छ भने अब छ कम्पनीले लाइसेन्स पाउन बाँकी छ । बाँकी छ कम्पनीले पनि तोकिएको मापदण्ड पु-याएको खण्डमा छिट्टै लाइसेन्स दिने बोर्डले जनाएको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्थाबमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई बोर्डले लाइसेन्स दिँदै आएको छ ।

कम्पनीलाई पनि अनुमति

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरबिबी सेक्युरिटिज कम्पनी लिमिटेडले पनि ब्रोकर लाइसेन्स प्राप्त गरेको छ । आरबिबी सेक्युरिटिज कम्पनीलाई धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीका रूपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ । २० करोड रुपियाँ चुक्ता पुँजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्सचेन्जको सदस्यता प्राप्त भएपश्चात् निकट भविष्यमा नै स्टक ब्रोकरको कारोबार सुरु गर्ने जनाएको छ ।