• १२ मंसिर २०८१, बुधबार

रूसद्वारा युक्रेनमा आक्रमण, सातको मृत्यु, दर्जनौँ घाइते

blog

तस्बिरः रोयर्टस

चेर्निहिभ, युक्रेन, भदौ २ गते । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमाण्डरसँग भेटेको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी सहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् ।

कीएभबाट करिब १५० किलोमिटर उत्तरमा बेलारुसतर्फ रहेको चेर्निहिभ रूसको आक्रमणको पहिलो महिनादेखि नै ठूला आक्रमणबाट धेरै हदसम्म जोगिएको थियो । 

फेब्रुअरी २०२२ मा बेलारूस हुँदै युक्रेनमा आक्रमण गर्दा रुसी सेनाले शहरभरि मार्च गरेको थियो । 

पुटिनले दक्षिणी रूसको रोस्तोभ–अन–डोनको दुर्लभ भ्रमणका क्रममा रूसी सेनाका शीर्ष जर्नेललाई भेटेपछि यो आक्रमण भएको हो । 

यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीडेनको भ्रमणका लागि त्यसतर्फ लागिसक्नुभएको छ । 

चेर्निहिभ आक्रमणबारे पुष्टि गर्दै युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममा भन्नुभएको छ, “पाँच जनाको मृत्यु भएको छ । कम्तीमा ११ बालबालिकासहित ३७ जना घाइते भएका छन् ।”

जेलेन्स्कीका अनुसार यो आक्रमण ‘सहरको मध्यभागमा’ एउटा चोकमा भएको थियो, जहाँ ‘पोलिटेक्निक विश्वविद्यालय र एउटा नाट्यशाला’ छ ।

 ‘एउटा सामान्य शनिबारलाई रूसले पीडा र क्षतिको दिनमा परिणत गरेको छ,” युक्रेनी नेताले स्वीडेन पुगेपछि भन्नुभयो ।  

उहाँले घटनास्थलबाट एउटा भिडियो पोस्ट गर्नुभएको थियो । यसमा सोभियत कालीन एउटा ठूलो भवनको चारैतिर भग्नावशेष देखिएको छ, त्यसको वरिपरि रोकेर राखिएका कारहरूमा आंशिक रूपमा क्षति भएको छ ।

एएफपीका सञ्चारकर्मीहरूले तारास शेभचेन्को नाट्यशाला सङ्गीत एकेडेमी बाहिर दमकल देखेको बताएका छन् । आसपासका केही भवनमा पनि सामान्य क्षति पुगेको छ । (रासस/सिन्ह्वा)