काठमाडौं, भदौ २ गते । पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहलकदमी लिनुपर्ने बताउनुभएको छ । वरिष्ठ नेता चन्दले प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर संसदमा जारी अवरोध हटाउन ढिला गर्न नहुने बताउनुभएको हो ।
शनिबार ललितपुरमा आयोजित मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’, प्रा.डा सृजना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र प्रा.डा. सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ कृतिको लोकार्पण कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री दाहालले संसद्को अवरोध हटाउने अभिव्यक्ति दिनुभएको उल्लेख गर्दै छिट्टै संसद् सुचारु हुने विश्वास समेत व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा वरिष्ठ नेता चन्दले पार्टी भित्र केही समस्या रहेको स्वीकार गर्दै त्यसको समाधान विधि र विधान भित्रै रहेर हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘तर जेलोस् गोभरमेन्ट र अपोजिशनले बसेको त्यो कुरा मिलाउनुपर्छ । कुरा पनि चलिराख्या छ क्यारे । अब यो प्रधानमन्त्रीजीले लिडर अफ अपोजिशनसँग छलफल गराएर यसको सोलुसन निकाल्छु भन्नुभएको थियो । अब राप्रपा भित्र साथीको केही गुनासो थियो । त्यो बारे छलफल गरिएको हो । ती गुनासोहरू नियम र विधान अनुसार हुन्छ ।’’
कार्यक्रममा वरिष्ठ नेता चन्दले लोकार्पण गरिएका तीन वटै कृतिहरू पठनीय रहेको बताउनुभएको थियो ।